×

वीरगन्ज २१ मंसिर पर्सामा भोलि शुक्रबार, २२ मंसीर बिहान बाट मात्रै मतगणना शुरु हुने भएको छ ।

जिल्लामा रहेका १६७ वटै मतदानस्थलको मतपेटिका संकलनमा समय लाग्ने भएकोले शुक्रबारबाट मात्रै मतगणना शुरु गर्न लागिएको हो ।

मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले मतपेटिका संकलनमा समय लाग्ने र सर्वदलीय बैठक पनि बसाउनुपर्ने भएकोले शुक्रबारबाट मात्रै मतगणना शुरु गरिने बताए ।

“सबै क्षेत्रको गणना एकै पटक गर्नुपर्ने हुन्छ , पर्सा क्षेत्र नं ४ का केही मतदानस्थलहरुको मत पेटिका आईपुग्न समय लाग्छ, सर्वदलीय बैठक राति हुँदैन, कर्मचारीहरु पनि थाकेका छन्,” उनले भने ।

सुरक्षा संयन्त्रसँग सल्लाह गर्दा पनि भोलिबाट मात्रै मत गणना गर्नु उपयुक्त हुने सुझाव आएको उनले बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार वीरगञ्जको श्रीपुरमा रहेको विद्यापीठ माविमा मतगणना गरिने छ ।

यसअघि स्थानीय तहको निर्वाचनको मतगणनामा खटिएका र केही नयाँ कर्मचारीहरुले मतगणना गर्नेछन् ।

जिल्लामा ४ वटा निर्वाचन क्षेत्र छन् । “२ र २ वटाका दरले ८ ठाउँमा गन्ने गरी तयारी गरिरहेका छौं,” मुख्य निर्वाचन अधिकृत कर्णले भने

आज सम्पन्न निर्वाचनमा पर्सामा करिब ६५ प्रतिशत मतदान भएको उनले जानकारी दिए ।

Back to top