×

वीरगन्ज १९ मंसिर सीमावर्ती भारतीय भूमिबाट भित्रिन सक्ने साना हतियार पर्सामा निर्वाचन सुरक्षाका लागि चुनौती देखिएको छ । यससँगै स्थानीय प्रशासनले भारतसँग सीमा जोडिएका नाकाहरूमा सुरक्षाकर्मीको तैनाथी बढाउनुका साथै चेकजाँचमा कडाइ गरेको छ ।

‘खुला सीमाका कारण भारतीय भूमिबाट भित्रिन सक्ने अवैध साना हातहतियार पर्सा जिल्लामा निर्वाचन सुरक्षाका लागि मुख्य चुनौती छ', प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले भने, ‘यससँगै विप्लव समूह पनि निर्वाचन सुरक्षाका लागि चुनौती बन्न सक्ने देखिएको छ ।' उच्च सुरक्षा सतर्कता अपनाउनुका साथै पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालित भएका कारण आगामी २१ गतेका दिन ढुक्क भएर मतदान गर्ने अवस्था रहेको उनको भनाइ छ ।

मंसिर ७ गते वीरगन्जमा बसेको बैठकमा भारतीय सुरक्षा अधिकारीले नेपालको निर्वाचनमा असर पार्ने गरी आफ्नो क्षेत्रबाट कुनै पनि किसिमको अवान्छित गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए । त्यहीअनुसार नाकाहरूमा भारतीय सुरक्षाकर्मीले पनि चेकजाँचमा कडाइ गरिरहेको पर्साका प्रहरी उपरीक्षक डा. गणेश रेग्मीले जानकारी दिए ।

निर्वाचन सुरक्षालाई मध्यनजर गरी सेनाले पनि दिनहुँ गस्ती गरिरहेको छ । वीगन्ज महानगर र जिल्लाका ग्रामीण भेगमा सेनाले पैदल गस्ती गर्दै आएको जिल्ला सुरक्षा समितिले जनाएको छ । निर्वाचन सुरक्षाका लागि पर्सामा प्रहरी, म्यादी र सशस्त्र गरी दुई हजार एक सय ८७ सुरक्षाकर्मी परिचालित छन् । प्रहरी मात्र एक हजार दुई सय ४९ जना खटिएका छन् । पर्सामा नौ सय ३८ प्रहरी कार्यरत रहेकोमा थप तीन सय ११ जना अन्य जिल्लाबाट मगाएर खटाइएको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । पहिलो चरणको निर्वाचन सम्पन्न भएका जिल्लाबाट थप प्रहरी पर्सामा मगाएर परिचालन गरिएको हो । सबै मतदानस्थलमा सोमबारदेखि प्रहरी र म्यादी खटाएको रेग्मीले बताए ।

एक सय ६७ मतदानस्थलमध्ये सुरक्षा दृष्टिले ७३ वटा अति संवेदनशील समूहमा छन् । ७९ मतदानस्थल संवेदनशील र १५ वटा सामान्य मानिएका छन् । भारतसँग सीमा जोडिएका स्थानका र वीरगन्ज महानगरका केही वडाका मतदानस्थललाई अति संवेदनशील मानिएको प्रमुख जिल्ला अधिकारी सिंहले बताए ।

नेकपा पनि सुरक्षा चुनौतीका रूपमा रहेको जिल्ला सुरक्षा समितिको निष्कर्ष छ । मनोनयन दर्तायता उक्त पार्टीका १६ कार्यकर्तालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले ६ जनालाई साधारण तारेखमा छाडेको छ । १० जनालाई सार्वजनिक अपराध मुद्दामा म्याद थप गरी प्रहरीले हिरासतमै राखेको छ ।

निर्वाचन बिथोल्ने नियतले पर्सामा बम विस्फोटका तीनवटा घटना भएका छन् । एमाले पर्साका इन्चार्जसमेत रहेका प्रदेशसभा सदस्य उम्मेदवार रामचन्द्र साहको घरमा, कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसियाको गाडीमा बम विस्फोट भएको थियो । वीरगन्जस्थित एमाले पार्टी कार्यालयमा भेटिएको प्रेसर कुकर बम सेनाले निष्क्रिय पारेको थियो ।

Back to top