×

वीरगञ्ज, १४ मंसिर पर्साको क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनले चुनावी प्रचारप्रसारलाई तीव्र तुल्याएको छ । बुधबार साँझ बिन्दबासिनी गाउँपालिकाको गर्दौलमा चुनावी रात्रिसभा सम्पन्न भएको छ ।

स्थानीय नेता रामकुमार पटेलको अध्यक्षतामा भएको सभामा सो क्षेत्रबाट गठबन्धनका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियार, राजपा नेपालका महासचिव शिव पटेल, प्रदेशसभा सदस्यका उम्मेदवार प्रह्लाद गिरी, फोरमका नेता पन्नालाल साह, उदयप्रसाद कानु, कपिलदेव तिवारीलगायतका नेता तथा सयौं कार्यकर्ता र मतदाताहरुको सभागिता थियो ।

उम्मेदवार रौनियारले सो क्षेत्रमा मधेसी गठबन्धनको जीत निश्चित भइसकेको दाबी गर्दै अबको निर्वाचनले मधेसी दलहरुलाई निर्णायक स्थानमा पु¥याउने विश्वास व्यक्त गरे । पर्सामा अहिलेसम्म नभएको विकास र अधिकारका लागि आफू व्यवसाय छोडेर राजनीतिमा होमिएको उनको भनाइ थियो ।

राजपा नेपालका महासचिव शिव पटेलले मधेसवादी गठबन्धको जीत नै मधेसवादको जीत हुने बताए । उनले मधेसी दलहरुबीचको चुनावी तालमेल आममधेसी जनताको भावनाअनुसार भएकाले जीत निश्चित भएको स्पष्ट पार्दै अबको उद्देश्य अरु दललाई फराकिलो अन्तरले पराजित गर्ने भन्नेमा केन्द्रित भएको बताए । उनले यसका लागि मधेसी गठबन्धनका उम्मेदवारलाई बढीभन्दा बढी मत दिएर जिताउन मतदातालाई आग्रहसमेत गरे । त्यसअघि सोही क्षेत्रमा पर्ने हसवा, इटियाही र पिपरालगायतका स्थानमा घरदैलो कार्यक्रम भएको थियो ।

Back to top