×

बारा १२ मंसिर । गाउँमा आफ्नो व्यवसायबाट सफलता नमिलेपछि बाराको निजगढ नगरपालिका वडा नं. ६ का विनोद राउत छ वर्षअघि विदेश हानिए । धेरै कमाउने सपना बोकेर साउदी अरब पुगेका उनी त्यहाँ पनि निराश हुनपुगे । खासै उलपब्धि नदेखेपछि उनको खाडी यात्रा दुई वर्षभन्दा बढी टिक्नसकेन ।

परिवारको जीविका चलाउन र पढ्दै गरेका दुई सन्तानको भविष्य खोज्दै विदेश पुगेका विनोद घर फर्किएपछि बेरोजगार हुनपुगे । विदेश जानुअघि कुटानपिसान गर्ने मिल र ट्रकको व्यवसाय त्यागेका उनीसँग अरु कुनै सीप थिएन । अवसरको खोजी गरिरहेका उनी गाउँमा रोजगारीको कुनै सम्भावना नदेख्दा निकै चिन्तित हुन्थे । लगातारको प्रयास र असफलतापछि छोरा गौरव र छोरी गरिमालाई राम्रो शिक्षा दिने आफ्नो सपना आफूबाट टाढा पुग्दै गएको उनी ठान्थे । तर पनि हरेस नखाएका विनोदको सपना धेरै टाढा भने पुग्न पाएन । कुनै बेला परिवारकै गुजारा चलाउन मुस्किल पर्ने उनी यति बेला निकै खुसीसाथ बसिरहेका छन् ।

आफू समेत छ जनाको परिवार चलाउन र सन्तान पढाउन उनलाई अहिले कुनै दुःख छैन । अभावको स्थितिबाट गुज्रिरहेको विनोदको परिवारमा यो खुसी भने निजगढकै कुशल व्यवसाय परामर्श तालिम केन्द्रले दिएको हो । युवाहरुलाइ सीप दिँदै व्यवसाय र कृषिमा लाग्न उत्प्रेरित गर्दै आएको केन्द्रको सम्पर्कमा पुगेका उनले त्यसपछि भने कहिल्यै दुःख देख्नु परेन ।

केन्द्रबाट तालिम लिँदै सानो लगानीमा कुखुरापालन सुरु गरेका उनी अहिले वार्षिक चार लाखभन्दा धेरै आम्दानी गरिरहेका छन् । केन्द्रकै सहयोगमा यसै वर्ष केराखेती समेत सुरु गरेका उनको दैनिक जीवन अहिले निकै सहज हुँदै गएको छ । ‘पहिला सीप थिएन, के गर्ने अन्यौलमा बसिरहेको थिएँ’, उनले भने, ‘कुशलले तालिम दिएपछि जताततै सम्भावना देख्नथाले । पैसा कमाउन विदेश होइन, घरमै बस्नुपर्ने रहेछ ।’

बजारीकरण र व्यवस्थापनका बारेमा समेत केन्द्रले सिकाएपछि आफूलाई कुखुरा पालन व्यवसाय थप सहज भएको बताए । उनलाई अहिले कुखुरा पु¥याउन अन्यत्र जानुपर्दैन । चल्ला र दाना पनि घरमै आइपुग्छ । कुखुरा पनि घरबाटै बिक्री हुन्छ । ‘कुखुरा बिक्री गर्न कुनै गाह्रो छैन, बजार धाइरहनुपर्दैन’, उनले भने, ‘कुखुरा बिक्री गर्ने समयमा गाडी आफै घरमा आउँछ , धेरै दौडधूप पनि हुँदैन ।’

वार्षिक चार लाखभन्दा बढी कमाइ कुखुरापालनबाट गर्न कुनै समस्या नरहेको उनको अनुभव छ । तीन सय कुखुराको चल्लाबाट व्यवसाय सुरु गरेका उनी अहिले एकै पटक पन्ध्र सय चल्ला हुर्काउँछन् । चल्ला खोरमा हालेको ३५ दिन देखि बिक्री गर्न सकिने भएकाले धेरै समय मिहिनेत गर्न पनि नपर्ने उनी बताउँछन् । ‘चल्ला सानो हँुदा अहिले बढी ध्यान दिनुपर्छ । रोग भित्रिन नदिनका लागि सचेत रहनुपर्छ’ उनले भने ‘त्यसबाहेक अन्य कुरामा खासै समस्या छैन । ३५ दिनमै कुखुरा बिक्री गर्न सकिन्छ ।’

पछिल्लो ३९ दिनमा आफूले एक हजार कुखुराबाट एक लाख ३० हजार आम्दानी गरेको उनले बताए । व्यवसायबाट निकै खुशी भएका उनले यसै बर्ष केरा खेती पनि सुरु गरेका छन् । केन्द्र कै सहयोगमा निजगढमा फस्टाइरहेको केरा खेती थालेका उनले अहिले १६ कठ्ठा खेतमा केरा लगाएका छन् । केरा खेतीबाट पहिलो वर्ष एक लाखभन्दा आम्दानी गर्ने उनको लक्ष्य छ । ‘केरा खेतीबाट पनि राम्रो आम्दानी गर्न सकिने देखिएको छ, थुप्रै किसानले गरेका पनि छन्’ उनले भने ‘अन्य बाली नलगाएर यस पटक देखि केरा खेती समेत थालेको छु, राम्रो कमाई हुँने आशा छ ।’

कुखुरा पालनबाट छोटो समय मैं सफलता हात पार्न सफल उनि सफल युवाका रुपमा गाउँमा चिनिन थालेका छन् । उनको जिवन शैली फेरिदिएको केन्द्रले पनि उनलाई सफल युवाका रुपमा प्रस्तुत गर्न थालेको छ । बिदेशिन लागेका र बेरोजगार युवालाई सिप सिकाउँने क्रममा गाउँ मैं व्यवसाय गरेर खुशी रहन सकिने भन्दै केन्द्रले आँफूलाई प्रस्तुत गर्ने गरेको विनोदले बताए ।

‘विदेशभन्दा गाउँ घरमै गरेको दुःखबाट बढी खुसी मिल्नसक्छ भन्ने उदाहरणका रुपमा मलाई देखाइन थालिएको छ’, उनले भने, ‘निकै खुशी लाग्छ । म पनि युवाहरुलाई यस्तै सल्लाह दिन्छु । विदेशमा कमाउँने पैसा घर मंै बसेर कमाउँन सकिन्छ । सीप सिकेर त्यहाँ गर्ने दुःख घर मैं बसेर गरौं, चाँडै सफलता पाइन्छ ।’

Back to top