×

मधेसको अधिकार, पहिचान र आत्मसम्मान स्थापित गर्न भएको ऐतिहासिक मधेस आन्दोलनका एक नायक हुन प्रदीप यादव अर्थात संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष, उनी यतिखेर पर्सा क्षेत्र नम्बर १ बाट फोरम–राजपा गठबन्धनको तर्फबाट प्रतिनिधीसभा सदस्यका उम्मेदवार हुन् ।

सडक संघर्षका नायक यादव पछिल्लो समयमा स्थानीय तह निर्वाचनमा चुनावी राजनीतिको सफल खेलाडीको रुपमा आफुलाई उभ्यान हर सम्भव प्रयत्न गर्दैछन् । पर्सामा स्थानीय तह निर्वाचनमा आफ्नो बलबुतामा उनले वीरगन्ज महानगरका साथै अत्याधिक तहमा आफ्नो दलका उम्मेदवारलाई विजयी बनाउदै पर्सामा फोरम नेपाललाइ एक नम्बर दलको मान्यता दिलाउन पनि सफल भएकै हो । भर्खरै सम्पन्न जिल्ला समन्वय समितको निर्वाचनमा समेत नेकमहमद मियालाई जिल्ला समन्वय समितिको सभापतिमा निर्वाचित गराएर पर्साको सबैभन्दा सफल र चुनावी राजनीतिको माहेर खेलाडी साबित भईसकेका भन्न सकिन्छ ।

कार्यकर्तासँग लगाव र जनताको दुखसुखमा काम लाग्ने उनको समान्य बानीलाई सफलताको सुत्र बताइन्छ । आसन्न मंसिर २१ को चुनावमा प्रतिनिधि सभा सदस्यमा विजय हासिल गर्ने तयारी रहेको उनि दाबी गर्छन् । दैनिक १६ घण्टा चुनावी कार्यक्रममा व्यस्त नेता प्रदीप यादवसंग सोधिएको ५ प्रश्नमा उनको जवाफ जस्ताको त्यस्तै :-

१) चिसिदै गएको मौसममा गरम भएको चुनावी महोललाई कुन रुपमा लिनु हुन्छ ?

एकदम ‘पोजिटिभ’ र उत्साहप्रद । सम्पूर्ण मधेसी जनताको इच्छा थियो, सबै मधेसी दलहरु एउटै ‘प्लेटफर्म’मा आउन भनेर । हामी आएका छौं, सबैले मधेसवादी राजपा–फोरम नेपाल गठबन्धनलाई जिताउने सोचमा छन् । उत्साहपुर्ण मधेसी जनताको सहभागिता छ चुनावमा ।

२) मतदाता र कार्यकर्तालाई समर्थनमा लिएर हिड्नु भएको छ, तपाईमा त्यस्तो के खुबी छ ?

त्यस्तो केही पनि छैन् । म जनता र आफनो कार्यकर्तालाई सम्मान गछु । उनीहरुको हीतमा रमाउँछु । मेरो नजिक उनीहरु आएनन, म उनीहरुको सथा पाएर खुशी छु । मधेसी जनताको अधिकारको लागि सबैले अभियानमा जुटेका छौ । पार्टीमा गरेको कडा मेहिनेत देखेर कति कार्यकर्ता मलाई ‘आइडल’कै रुपमा लिन्छन् । पार्टी, बिधान, नेता, कार्यकर्ता र जनताप्रति म हमेशा इमान्दार, न्यायप्रेमी, सघर्षरत छु ।

३) तपाईले उम्मेदवारी दिएको क्षेत्र नं १ बाट शुरुमा कांग्रेसबाट कोही आउन मानेका थिएनन्, पछि अनिल रुंगटालाई ल्याइयो ? यसको भित्री कुरो के होला ?

मधेस आन्दोलन र मधेसी ‘सेन्टीमेन्ट’ मसंग छ । जनमत मेरो पक्षमा देखेर उम्मेदवारी दिने दिनमा काँग्रेसले मेरो विरुद्ध वीरगंजका व्यवसायी अनिल रुंगटालाई टिकट दियो । काँग्रेसले प्रतिपस्र्धामा पैसाको बलमा ‘बोरो क्यान्डिडेट’लाई ल्याएको छ । दुई नं क्षेत्रमा घर भएका रुंगटा व्यापारी हुन् । उनीसंग पैसा छ, भोट किनेर चुनवा जित्ने आशयले उनलाई उभ्याइएको हो । तर जनता बिकाउ छैनन् । लिनेले पैसा पनि लिन्छन् तर भोट भने मालाई नै पाउँछ । यसमा ढुक्क रहनुहोस । पैसाले चुनाव जितिदैन, चुनाव जित्ने सामथ्र्य फोरम नेपालसँग छ ।

४) अनिल रुंगटा आएपछि यहाँलाई चुनाव हार्ने डर भएको त हैन् ?

के को डर हुनु ? मलाई रमाइलो भइरहेको छ । उनी मेरो प्रतिस्पर्धामा दुरदुर सम्म छैन् । चुनाव जित्न पैसावाल हुनु पर्दैन, जनताको नोकर बन्नु पर्छ, जनताको घरआगनमा पुगेको छु, मेरो जनाधार उनीभन्दा ठुलो छ त्यसैले चुनाव जित्न ढुक्क छु । अनिल रुंगटा हावामा तिर मार्दैछन् । पैसाले भोट बटुल्ने प्रयत्नमा लागेका छन् काँग्रेसका नेतागाण । सबै प्रयत्न फेल हुन्छ यसपाली । अनिल रुंगटालाई त विगतमा समानुपातिक सभासद हुदाँ ४ वर्षमा कति पैसा कहाँ खर्च गरे भन्नेसम्म थाहा छैन । त्यस्तो नेतालाई जनताले रोज्दैनन । यसपालीको चुनावमा जितको भोट अन्तर हजारौको हुन्छ मेरो ।

५) तपाई जितेपछि सर्वप्रथम गर्ने प्रमुख कार्यहरु के के हुन ?

सर्व प्रथम संविधान संशोधनको मुद्दा जुन ओझेलमा परेको छ, त्यसलाई पारित गराउन केन्द्र सरकारमा सशक्त भुमिका निर्वाह गर्छु । त्यसपछि सम्पूर्ण मधेसको हकअधिकार, पहिचान, विकास समृद्धि र उन्नतीको लागि दिनरात एक गर्छु । जनताको विचको मान्छे हुँ जनसधारणको प्राथमिकता मेरो प्राथमिकता हुनेछ ।

साभार : मध्य नेपाल संदेश

Back to top