×

वीरगञ्ज ४ मङ्सिर रेलमार्गबाट आउने डस्टी कार्गो अनलोड हुँदै आएको रक्सौल यार्डको विकल्प खोज्न आयातकर्ताले माग गरेका छन् । रेलमार्ग हुँदै नेपाल भित्रिने डस्टी कार्गो रक्सौल–वीरगञ्ज भएर आउने गरेको छ । अहिलेसम्म रक्सौलमा हुँदै आएको यस्तो कार्गोको अनलोड भारतीय रेलवेले रामगढवामा सार्ने तयारी गरेपछि स्वदेशी आयातकर्ता चिन्तित देखिएका छन् ।

रेलबाट रक्सौलसम्म आइपुगेको कार्गो त्यहाँ अनलोड हुँदा प्रदुषण बढेको भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरूले सङ्घर्ष समिति नै बनाएर चरणबद्ध आन्दोलन गरेका थिए । स्थानीयको चर्को विरोधका कारण रेलवेले क्लिङ्कर, कोइला, जिप्सम, स्ल्यागलगायतका बस्तुको अनलोड रामगढवामा सार्ने तयारी गरेको छ । रेलमार्गबाट आउने यस्ता कच्चा पदार्थ अहिलेसम्म रक्सौलमै ल्याउनुपर्ने बाध्यता छ । वीरगञ्जको सुक्खा बन्दरगाहसम्म रेल ढुवानी सेवा विस्तार भए पनि डस्टी कार्गो अनलोडको प्रबन्ध नभएकाले आयातकर्ता रक्सौलको भर परिरहेको वीरगञ्ज उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अनिलकुमार अग्रवालले बताए ।

सुक्खा बन्दरगाहको क्षमता विस्तार गरी वीरगञ्जमै डस्टी कार्गोको पनि व्यवस्थापन गरिनुपर्ने माग व्यवसायीले गर्दै आएका छन् । सरकार व्यवसायीका मागमा गम्भीर नभएको उपाध्यक्ष अग्रवालले आरोप लगाए । रक्सौलमा आफ्नो स्वामित्वमा भएको २० विगाह जग्गा गोदामको रुपमा उपयोग गर्न सकिने भए पनि सरकारले बेवास्ता गरिरहेको उनले बताए । सुक्खा बन्दरगाहमा अहिलेसम्म कण्टेनर, बोराबन्द र ओपेन बेगन कार्गोमात्र ल्याइने गरेको छ ।

आयातकर्ताले अहिले उपयोग गरिहेको रक्सौल यार्डको तुलनामा रामगढवा करीब २० किलोमीटर टाढा पर्ने भएकाले कच्चा पदार्थको ढुवानी झन असहज हुने बताए । ‘सरकारले बेलैमा यसको उचित विकल्प नखोज्ने हो भने यस्ता कच्चा पदार्थमा आधारित अधिकांश उद्योग बन्द हुने अवस्था आउन सक्छ’, श्री सिमेण्ट्स इण्डष्ट्रिजका प्रबन्ध सञ्चालकसमेत रहेका अग्रवालले आर्थिक अभियानसित भने ।

रक्सौल–वीरगञ्ज सडकखण्डको अत्याधिक जाम र रेलवेको अव्यवस्थाका कारण पछिल्लो समय यो नाकाबाट हुने आयातमा जरीवानाको भार बढ्दै गएको आयातकर्ताको गुनासो छ ।

सडकमार्गबाट ढुवानीको दुरी बढेपछि जरीवानाको आकार अझ बढ्ने डर आयातकर्तालाई छ । सरकारले वीरगञ्ज र आसपासको क्षेत्रमा डस्टी कार्गो अनलोडको प्रबन्ध मिलाएमा त्यो प्रभावकारी र दीर्घकालीन हुने सङ्घका सचिव माधव राजपालको सुझाव छ । बढ्दो आयातको तुलनामा रक्सौल यार्ड अपर्याप्त र मानवीय चापले सङ्कुचित हुँदै गएकाले स्वदेशका लागि आउने मालसामान नेपाली भूमिमै अनलोड गर्नुपर्ने राजपालको भनाइ छ ।

स्वदेशमै अनलोड भएमा रेलवेलाई तिर्नुपर्ने जरीवानाको भार पनि घट्ने आयातकर्ता बताउँछन् । अहिले रेलमार्गबाट वर्षमा २२ लाख मेट्रिकटन यस्तो मालसामान भित्रिइरहेको आयातकर्ताको अनुमान छ । रक्सौलमा जामको समस्या नभए यो परिमाण ३० लाख मेट्रिकटनभन्दा बढी हुने राजपालको दाबी छ ।

यो वर्षको पहिलो चार महीनामा वीरगञ्ज नाकाबाट क्लिङ्करमात्रै ३ लाख ४० हजार ३ सय ९४ मेट्रिकटन भित्रिएको तथ्याङ्क वीरगञ्ज भन्सारसित छ । अनलोड रामगढवा सारिएपछि यो परिमाण घट्ने दाबी आयातकर्ताको छ । सडकको दूरी र जामका कारण पर्याप्त कच्चा पदार्थ भित्र्याउन नपाउँदा आयातित यस्ता कच्चा पदार्थमा आधारित उद्योगको उत्पादन प्रभावित हुने चिन्ता उनीहरूको छ ।

Back to top