मधेशी र मधेशलाई बरबाद गर्ने पार्टी कांग्रेस नै हो – राजेन्द्र महतो

2324

मधेस आन्दोलनको शीर्ष व्यक्तित्व हुन् राजेन्द्र महतो । धनुषा–३ जनकपुरधामबाट प्रतिनिधिसभाका लागि उमेदवार छन् उनी । र, उनका प्रतिस्पर्धी हुन् कांग्रेस नेता विमलेन्द्र निधि ।
मधेस आन्दोलनको ‘नायक’ भएकैले दुई नम्बर प्रदेशको प्रादेशिक केन्द्र र मधेस आन्दोलनको नेतृत्वकर्ता पनि भएकाले यो क्षेत्रमा चुनाव लड्न आएको उनको तर्क छ ।
०४८ सालदेखि एकछत्र राज गरिरहेको नेपाली कांग्रेस र तिनका प्रतिनिधिले जनकपुरका लागि केही नगरेकाले आफैँ उमेदवार बनेको उनको तर्क छ । त्यसो त जनकपुरमा मधेस आन्दोलनलाई जिताउन आएकोसमेत भन्छन् उनी । मधेस आन्दोलनका सुत्रधार राजेन्द्र महतोसँग गरेको कुराकानी ।
चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ, जनकपुरको चुनावी माहोल र जनताको आवाज कस्तो पाउनुभएको छ ?
निकै राम्रो माहोल छ । यो निर्वाचनलाई हामीले आन्दोलनकै रूपमा लिएका छौँ । मधेस आन्दोलनको निरन्तरता हो यो । लामो समयसम्म कठोर सडक सङ्घर्ष भयो । अहिले सडक आन्दोलन स्थगित गरेर, चुनावमा होमिएका छौँ ।
आन्दोलनको रूप फेरिएको छ । सदनमा गरिने आन्दोलनको तयारीसमेत हो यो । जहाँबाट संविधान संशोधन गराउनुपर्ने हो, त्यहाँ संङ्घर्ष गर्नु आजको आवश्यकता हो । त्यसैले जनताका मतबाट निर्वाचित प्रतिनिधिले संसदमा सङ्घर्ष गर्नुहुन्छ ।
विगतमा जनताका मत लिने ठूला पार्टीका उमेदवारहरूले जनताको मतको व्यापक दुरूपयोग गरे । कांग्रेस, एमाले, माओवादीले मधेसी जनताको मत लिए । मधेसी जनताकै विरोधमा संविधान बनाए । र, आफ्नो हितलाई केन्द्रमा राखे ।
त्यसको प्रतिरोध गर्दा, विरोध गर्दा निहत्था मधेसी जनतामाथि गोली चलाइयो, हत्या गरियो । अतः निर्वाचनमा हामीले आन्दोलनकै एजेन्डा अघि सारेका छौँ ।
विगतका मधेसका जनताको विश्वासमाथि जुन किसिमको कुठाराघात भयो, त्यसले मतदाता सचेत छन्, अहिले । यो क्षेत्रको कुरा गर्नुहुन्छ भने कांग्रेसले पटकपटक जित्दै आएको हो ।
यहाँबाट जित्ने प्रतिनिधिले मधेसी जनताकै विक्षमा संविधान बनाउनुभयो । हस्ताक्षर गर्न लगाउनुभयो । ०६४ सालमा मधेसी जनताले प्राप्त गरेका हक अधिकार खोज्न उद्यत हुनुभयो । जे अधिकार सकारिएको हो, त्यो पनि खोसियो । त्यसैले मधेसी जनता आक्रोशित छन्– हाम्रो मतबाट चुनाव जित्नै हाम्रै अधिकार खोस्ने ? त्यसको विरोध गर्दा गोली चलाउने, सहिद बनाउने, आदि काम गर्नुभयो ।
कांग्रेस नेतृत्वको सरकारले चलाएको गोलीका कारण पाँच दर्जन सहीद भएका छन् । मलेठमा गोली चलाएर ६ जना मधेसी जनता मार्ने त यहाँकै प्रतिनिधि हुनुहुन्थ्यो । यी कुरा यहाँका जनताले कसरी बिर्सन सक्छन् ? बारबार सम्झिइरहेका छन् ।
मधेसी जनता मधेसी आन्दोलन र आन्दोलनकारीका पक्षमा छन् । मत हालेर जिताउन आतुर छन् ।
अर्को २५ वर्षदेखि यहाँ लगातार कांग्रेस पार्टीले जित्दै आएको छ । मुलुकमा पटकपटक कांग्रेस पार्टीको सरकार बन्यो । जनताको हकअधिकारका लागि त केही गदै गरेन । मधेसी, मुस्लिम, थारू, जनजाती, आदिवासी उनीहरूको प्राथमिकतामा पर्दै परेनन् । र, विकासको अवस्था नाजुक बनायो ।
जनकपुरधाम– मिथिलाअञ्चलको राजधानी हो । हेर्नुहोस् त दूरावस्था ! २५ वर्षसम्म चुनाव जित्ने, सरकार बनाउने । तर, मधेसको आत्मा, राजधानीका लागि केही नगर्ने ? दूरावस्थामा पुर्याउने ? जनकपुरबासीको मुख्य पीडा यही हो ।
यहाँ जनकपुर चुरोट कारखाना थियो, हजारौँको रोजगारी सिर्जना गर्थ्यो त्यसले । लाखौँ परिवार आश्रित थियो । तर, राजनीतिककरण गरियो । कारखाना बन्द गराइदिए । रारा क्याम्पस थियो, धेरै राम्रो थियो । प्रतिष्ठानै कमाएको हो त्यसले । तर, भर्ती केन्द्र बनाए । आफन्तमात्रै कर्मचारी राखेपछि कसरी चल्नु ? भोटको लागि रातारात राजर्शी जनक विश्वविद्यालय घोषणा गरियो तर, मधेस, मधेसीकै विरुद्धमा उभ्याइयो त्यो । नयाँ खोलियो तर न पढाइ भयो, न फ्याकल्टी थप गरियो । केही भएन ।
पूराना रारा क्याम्पस, सप्तरी र सिरहाका दुई क्याम्पस मिलाएर नयाँ विश्वविद्यालय घोषणा त गरियो तर पूर्वाधार छैन । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका ती क्याम्पस नयाँ विश्वविद्यालयमा गाभ्दा पूर्वाधार, शैक्षिक भविष्य नभएर विद्यालय अन्यत्र पलायन हुने अवस्था बन्यो ।
जनकपुरको विकासको लागि एडीबी प्रोजेक्ट आएको थियो । राजनीतिककरणको कोपभाजनमा पर्‍यो, कार्यान्वयन हुन दिइएन । लथालिङ्ग अवस्थामा पुर्‍याइयो ।
शिक्षा, स्वास्थ्य, रोजगार, विकासका यी बेतिथिबारे जनताले प्रश्न उठाएका छन् । यहाँका जनता मधेस आन्दोलनको पक्षमा उभिएर विगततिर फर्कंदा चुकचुकाइरहेका छन्– ठीक प्रतिनिधि छान्न नसक्दा दुःख पाइने रहेछ !
वाम गठबन्धनको प्रभाव कस्तो छ मधेसमा ?
मधेसमा मधेसी जनताका पक्षमा काम गर्ने, आन्दोलित हुनेको अत्यधिक प्रभाव छ । वामपन्थीको कुनै प्रभाव छैन । मधेस आन्दोलनमा गरिएको दमन, ज्यादती, मधेसी जनताप्रति गरिएको विश्वासघातको जवाफ कांग्रेस, एमाले माओवादीले दिन सक्ने अवस्था छैन ।
तपाईं सर्लाहीबाट उमेदवारी दिनुहुन्थ्यो । तर, यसपटक धनुषा–३ जनकपुरधाम आउनुभएको छ, किन ?
यसमा सन्देह किन पाल्नु ? जनकपुरलाई माया गरेको हुँ । प्रदेशको राजधानी हो यो । जनकपुरमा मधेसीले जित्नुपर्छ । मधेसवाद स्थापित हुनुपर्छ । मधेस आन्दोलनले जित्नुपर्छ । यसकारण कि यहाँ राजपा–संघीय समाजवादी गठबन्धनले जित्दा सकारात्मक सन्देश जान्छ । अन्याय गरेको यहीँको प्रतिनिधिले हो ।
यहाँको प्रतिनिधि सकारात्मक भइदिएको भए गलत संविधान बन्ने थिएन । मधेसी जनता मर्ने नै थिएनन् । विमलेन्द्रजी अडिदिएको भए मधेसी जनताविरोधी संविधान बन्दैनथ्यो । मधेसलाई बर्बाद गर्ने कांग्रेस पार्टी र तिनका नेता नै हुन् ।
कांग्रेस त संविधान संशोधनको पक्षमा छ नि, तेस्रो चरणको निर्वाचन अघि पनि सदनमा टेवल गरेकै हो, भलै दुई तिहाइ पुगेन, होइन र ?
के संशोधन गथ्र्यो । दुई तिहाई देखाएर संविधान बनाएर मधेसी हत्या गरेको होइन ? संविधान संशोधन गर्ने पक्षमा भएको भए बनाउने बेलामै सोचीहाल्थ्यो नि ! संविधान संशोधन ‘घडियाली आँसु’ हो । आफैँ हत्या गर्ने, आफैँ रुँदै हिँड्ने । कांग्रेसको सरकार बनाउँदा ३८३ भोट आउने त्यही सरकारले संविधान संशोधन गर्दा त्यो भोट नआउने, बेइमानी होइन यो ? षड्यन्त्र होइन यो । मधेसी जनताले नजितेसम्म संविधान संशोधन हुँदैन ।
जनकपुर दुई नम्बर प्रदेशको केन्द्रमात्रै होइन, कला, सभ्यता, संस्कृति, परम्परा, मूल्य–मान्यताको पनि राजधानी हो, यसको सर्वाङ्गिण विकासको लागि यहाँको योजना के छ ?
सीधा कुरा छ– मधेस र मधेसी जनताको अधिकारको स्थापना । यसको साथै सबै देशको विकास हो । तर, पहिलो मधेसको विकास हो ।
त्यसैकारण मधेसै पछि परेको छ । लडेको, मरेको यसैको लागि हो । जनकपुर, प्रदेशको राजधानी भएकाले पहिल्यै विकास गरिनुपथ्र्यो । शीर्षस्थ व्यक्ति चुनाव लडेको यो क्षेत्र पछि पर्‍यो, मधेसको राजधानी पछि पर्‍यो भनेर हो ।
शीर्ष व्यक्ति निर्वाचित भएपछि थप जिम्मेवारी पनि हुन्छ । जवाफदेही पनि हुन्छ ऊ ।
यहाँ पहिले जितेको कांग्रेसले गर्दै गरेन । मधेस उसको एजेन्डा होइन, मधेसी जनता उसको प्राथमिकतामा पर्दैन, अनि किन गर्छ ? उसको एजेन्डा भोट लिने हो ।
कांग्रेसीले मधेसी जनतालाई मतदाता र करदाताको रूपमामात्रै हेरे । २४ वर्षमा देखाइदियो नि कांग्रेसले के के गर्छ ? त्यसैले अब मधेसवादीको मधेस सरकार बन्छ, यहाँ । मधेस सरकार सञ्चालन गर्ने दायित्व पनि हाम्रो काँधमा आउँछ, राजपा र संघीय समाजवादी फोरमले । यो अवस्थामा हामीले राजधानी जित्नुपर्छ ।
फेरि गत स्थानीय निर्वाचन पनि राजपाले नै जित्यो । विधानसभा सदस्य र प्रतिनिधिसभा पनि हामीले जित्नुपर्छ । बल्ल मधेसको विकास हुन्छ । प्रदेशसभा जित्यो, प्रतिनिधिसभा जितेन भने केन्द्रमा लड्ने मानिस हुँदैन । यसतर्फ मतदाताले विचार पुर्‍याएका छन् ।
गएका वर्षमा जनपुरमा ठूल्ठूला हत्या भयो, वम विस्फोटको घटना पनि झेल्यो । जनकपुर आपराधिक समूहको ‘आश्रयस्थल’ किन बन्दै छ ?
अहिले हेर्नुहोस् अपराधीहरू एक ठाउँमा जम्मा हुँदैछन् । कांग्रेसमा जम्मा हुँदैछन् रे भन्ने सुन्दैछु । त्यसको विरुद्धमा पनि जनता छन्, मतमार्फत अभिव्यक्त हुन्छ त्यो । राजनीतिको आडमा फस्टाउने अपराधको विपक्षमा जनता छन् ।
दुई नम्बर प्रदेशमा राजपा– संघीय समाजवादी फोरम गठबन्धनको बहुमत आउँछ ?
विल्कुल आउँछ । ढुक्क छौँ हामी ।
त्यसको आधार के हो ?
मधेस आन्दोलन नै त्यसको आधार हो । भर्खरै असोज दुई गते सम्पन्न भएको स्थानीय निर्वाचमा मधेसवादी दलले पाएको सिट र मत नै त्यसको विश्वसनीय आधार हो ।
दुई नम्बर बाहेक अरू प्रदेशमा चाहिँ यहाँको उपस्थिति न्यून किन ?
त्यसको संरचना नै गलत छ, कहाँ मानेका छौँ र हामीले ? हामी सहमत छैनौं । मधेस, थरुहट गरी दुई वटा अलग्गै प्रदेश बन्नुपर्ने, मधेसका भूभागमा अरू ६ वटा प्रदेश बनाइदियो । त्यो बनावट हामीलाई स्वीकार्य छैन ।
झापा, मोरङ, सुनसरी पहाडमा मिलाइदियो, त्यहाँ मधेसी सरकार बन्छ ? उता कैलाली कञ्चनपुर पनि पहाडमै हाल्यो, कसरी मधेसी सरकार बन्छ त्यहाँ ? त्यसका विरुद्ध पनि हाम्रो लडाइँ जारी छ ।
भनेपछि मधेस आन्दोलन अव ‘व्यालेट सङ्घर्ष’ मा रूपान्तरण भयो ?
यो निर्वाचनलाई मात्रै ‘व्यालेट सङ्घर्ष’ भनेका हौँ । तर, सडक सङ्घर्ष सकिएको छैन । आवश्यकता अनुसार जारी नै रहन्छ ।
मधेस आन्दोलन सम्झौतामा पुगेर टुंगिएकाले आन्दोलनको उपलब्धी देखिएन भन्ने पनि छन् नि ?
शान्तिपूर्ण आन्दोलन टुंगिने सम्झौतामै हो, किन त जंगल पसेर बन्दुक बोक्नुपर्‍यो । लोकतन्त्रमा हुने त्यही हो । सम्झौता गर्ने सरकारले पालना गर्‍यो कि गरेन महत्त्वपूर्ण कुरा हो । सरकार सम्झौता गर्ने तर कार्यान्वयन गर्ने बेलामा इमान्दार नहुँदा परिवर्तनको प्रत्याभूत नभएको हो ।
यदी सरकारसँग विश्वास भएन भने सरकारले सम्झौता पालनामा इमान्दारिता देखाएन भने कुनै पनि आन्दोलनकारी सरकारसँग सम्झौता गर्दैन । मुलुक अस्थिर हुन्छ ।
मधेसबाट जितेर जाने अधिकांश मधेसी प्रतिनिधि नै छन्, हिजोदेखि । तर पनि मधेस किन पछाडि पर्‍यो त ?
शासन वर्गमा रहेका मधेसी प्रतिनिधिको कमजोरी हो त्यो । तिनीहरू इमान्दार भएको भए जनताले दुःखै पाउँदैनथे । भोट मधेसीको लिने काम पार्टीको गर्ने, आवाज सरकारसम्म नपुर्‍याउने भएपछि मधेसको यस्तो हविगत भएको हो ।
तालमेलपछि एमाले–माओवादी केन्द्र नेतृत्वको वामपन्थी गठबन्धनको सरकार बन्ने सम्भावना पनि बलियो छ, भलै चुनावले देखाउने हो त्यो । वाम गठबन्धनको मूख्य साझेदार एमाले संशोधनको विपक्षमा छ, त्यो मुद्दा झनै पेचिलो बन्ने भयो नि ?
कांग्रेसको सरकार बने पनि, वामपन्थीको सरकार बने पनि सङ्घर्ष नगरी सुखै छैन । हिजो संविधान बनाउने यिनै होइनन् ? तिनै मिलेर शोषण, दमन गरेका छन्, विभेदमा पारेका छन् ।
मधेसी मात्रै होइन, हिमाल, पहाड तराई सबैका उत्पीडितहरू शोषणमा परेका छन् । त्यसैले यी तिनवटा मिल्दा र छुट्टिँदाको फाइदा मधेसी जतालाई हुँदैन । सङ्घर्षको विकल्प छैन ।
पहाडी, मधेसी समुदायबीचको सद्भावमा खलल पुगेको छ, पछिल्लो समय । यसको निरूपणको उपाय के हुन्छ ?
यसको प्रमुख कारक तत्व शासक वर्ग हो । उपेक्षीत उत्पीडित, मधेसी, मुस्लिम, थारू, आदिबासी समुदायलाई आफ्ना हक, अधिकार दिएपछि यो आफैँ मेटिन्छ ।
अन्तिममा, दुई नम्बर प्रदेशमा राजपा–संघीय समाजवादी फोरमको बहुमतको सरकार बन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
यसमा द्विविधा छैन । बन्छ । विश्वस्त छौँ हामी ।
 
 



LEAVE A REPLY

Please enter your comment!
Please enter your name here