×

पर्साको क्षेत्र नम्बर ३ मा फोरम प्रवेशको लहर

वीरगन्ज २४ पर्साको क्षेत्र नम्बर ३ पटेरवा सुगौलीमा मधेसी जिल्ला नेता रामजनम चौधरीसहित सयौ नेता तथा कार्यकर्ता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । शुक्रबार सो स्थानमा हजारौंको सहभागितामा आयोजित समारोहबीच उनीहरुले पार्टी प्रवेश गरेका हुन् ।

पार्टीका केन्द्रीय उपाध्यक्ष लालबाबु राउत गदीले प्रवेशीहरुलाई अविर र माला लगाएर पार्टीमा स्वागत गर्दै मधेस अधिकारको आन्दोलनमा यो महत्वपूर्ण उपलब्धि भएको बताए । मधेसीको अधिकारका लाग मधेसी दलहरु एक हुनुपर्ने आमजनताको भावनाअनुसार अहिले भइरहेको गठबन्धन अनुकरणीय भएको उनको भनाई थियो । उनले यस पटकको निर्वाचनमा मधेसीको जितलेमात्र मधेसको अधिकार र समृद्धि निश्चित हुने दाबी समेत गरे ।

राजपा नेपालका महासचिव शिव पटेलले मधेसको मुद्धा स्थापित गर्न मधेसी दलबीच एकता हुनुपर्ने मधेसी जनताको भावनाअनुसार मधेसी जनअधिकार फोरम र राजपाले संयुक्त उम्मेदवार उठाएको बताए । उनले संयुक्त उम्मेदवारहरुको जितबाटै मधेस अधिकारको ढोका खुल्ने दाबी गर्दै गठबन्धनका उम्मेदवारहरु अत्याधिक बहुमतले जित्ने बताए ।

पर्सा क्षेत्र नम्बर ३ मा मधेसी गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिनारायण रौनियारले मधेसी जनताको अधिकार र आर्थिक विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । रौनियारले यस पटकको चुनावमा मधेसमा मधेसवादीको जितले मधेसलाई अधिकार सम्पन्न बनाउँदै विकासको बाटोमा अघि बढाउने पनि बताए । उनले सम्पूर्ण मतदाताहरुलाई अत्याधिक मतले जिताउन आह्वान गरे ।

फोरम प्रवेशको अगुवाइ गरेका चौधरीले फोरम र राजपाको गठबन्धनले मात्र मधेस अधिकारको मुद्धालाई संस्थागत गर्ने देखेर आफू फोरममा प्रवेश गरेको बताए । उनी यसअघि विजय गच्छदारले नेतृत्व गरेको लोकतान्त्रिक फोरमका पर्सा जिल्लाका वरिष्ठ उपाध्यक्ष थिए । गच्छदार कांग्रेसमा छिरेपछि चौधरी फोरममा प्रवेश गरेका हुन् ।

सो कार्यक्रममा निचुटाका पूर्ववडाध्यक्ष गफार मियाँ दर्जी, माओवादी केन्द्रका गाउँ अध्यक्ष तपेश्वर ठाकुर, कांग्रेसका युवा नेता शैलेश यादव, खुर्सिद आलम, अब्दुल सर, मोस्तकिम मियाँ दर्जी, विश्वनाथ साह ठाकुर, बच्चा मिया दर्जी, मुनी रामलगायका सयौं कार्यकर्तासमेत फोरममा प्रवेश गरेका छन् ।

फोरमका पटेर्वासुगौली अध्यक्ष विश्वनाथ महतो थारुको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य बालकिशोर यादव, कानून विभाग प्रमुख मोहनलाल चौधरी, जिल्ला अध्यक्ष प्रदीप यादव, प्रदेश २ का सचिव सलाउद्दिन अहमद, क्षेत्र नम्बर ३ का विधायक उम्मेदवार मन्जुर अन्सारी, प्रह्लाद गिरी, क्षेत्रीय अध्यक्ष नागेन्द्र यादव, राजपा नेपाल जिल्ला सचिव मालती कुशवाह, मुस्लिम फोरमका जिल्ला अध्यक्ष सलिम अन्सारी, जिल्ला सल्लाहकार गौरिशंकर चौरसियालगायतको सहभागिता थियो । नेताहरुले पर्सा जिल्लामा मधेसी गठबन्धनको जीत निश्चित भएको बताए ।

 

 

Back to top