×

वीरगन्ज ८ कातिक पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबकैयामा दुई वर्षअघि निर्माण गरेको पुल फेरि भासिएको छ। पप्पुले नै बनाएको बर्दियाको जब्दीघाटस्थित बबई नदीको पुल भाँचिएको विषयमा जिम्मेवारी नलिँदै अर्को पुल भासिएको हो। यो कम्पनीले आफूले हस्तन्तरण गरिसकेकाले पुनर्निर्माण नगर्ने र सडक विभागले भने निर्माण गर्नै पर्ने भनेपछि यो पुल कसले निर्माण गर्ने भन्नेमा विवाद सिर्जना भएको छ। पप्पुले आफूले यो पुल पुनर्निर्माण गर्नु नपर्ने दाबी गरिरहेको छ भने सडक विभागले पुनः मर्मत नगरे कारबाही गर्ने चेतावनी दिएको छ।

लालबैयाको पुल भदौको बाढीकै बेला भासिए पनि स्थलगत अध्ययन ढिलो हुँदा एउटा स्पान दबिएको जानकारी हालै मात्र प्राप्त भएको हो। सडक विभागको टोलीले स्थलगत अध्ययन गरी कसको कमजोरीले पुल दबेको हो भन्ने निष्कर्ष निकाल्न बाँकी रहेको पुल महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए।

‘रौतहटकै कटहरियाबाट पश्चिम जाने सडकमा बनेको २४० मिटरको यो पुलको पश्चिमतर्फको एउटा पिलर २० सेन्टिमिटर दबेको छ', विभागको चन्द्रहनिगाहपुरका डिभिजन प्रमुख सुमन योगेशले अन्नपूर्णसँग भने। यो पुलको पूर्वतर्फको एउटा पिलर करिब ४० सेन्टिमिटर भासिँदा ठेकेदार कम्पनीले नै बनाएको थियो। अहिले पनि सोही पुल भासिएका कारण कसको कमजोरी भयो र अब दायित्व कसको भन्नेमा विभागको स्थलगत अध्ययनपछि मात्र भन्न सकिने योगेशको भनाइ छ।

भासिएको पिलर १५-२० लाख रुपैयाँ खर्च गरी मर्मत गर्न सकिन्छ। पिलर पूरै बनाउनुपर्दा एक करोड रुपैयाँ खर्च हुन सक्ने जनाइएको छ। भदौमा बाढीका बेला पानीको बहाव बढी भएर पुलको एउटा पिलर भासिएको थियो। पुल अगाडिको करिब चार सय मिटर सडक बाढीले बगाउँदा पुलको भने एउटा पिलरमा मात्र ‘सानो समस्या' देखिनुले पनि कसले बनाउने भन्ने स्थलगत निरीक्षणबाट मात्र भन्न सकिने जानकारी उनले दिए।

जब्दीघाट पुलमा भने ठेकेदारकै कमजोरी औल्याउँदै यसलाई नै पुनर्निर्माण गर्न सडक विभिजन कार्यालय नेपालगन्जले सार्वजनिक सूचनामार्फत अनुरोध गरेको छ। डिभिजनले साउन २८ को बाढीले क्षति पुर्‍याएको भए पनि निर्माण कम्पनीकै कमजोरी औल्याउँदै यथाशक्य छिटो पुल निर्माण गर्न भनेको हो। पप्पुले हस्तान्तरण नगर्दै भाँचिएकाले पुल निर्माण नगरे कानुनी कारबाही गर्ने र कालोसूचीमा राख्नेसम्मको चेतावनी डिभिजनले दिएको छ।

पप्पुका अध्यक्ष हरिनारायण रौनियारले भने लालबकैयामा पुल नभासिएको दाबी गरे। उनले भने, ‘अहिलेसम्म रौतहटमा बनाएका कुनै पनि पुल भासिएका छैनन्।' लालबैयाको पुल निर्माण गरिसकेको जानकारी उनले दिए। सडक विभागका महानिर्देशक गोपाल सिग्देलले भने पप्पुले जब्दीघाटको पुल निर्माण गर्नेपर्ने नत्र कारबाही हुने दाबी गरे। उनले यसले बनाएका हालसम्मका पुलको अवस्था, निर्माणमा ढिलाइ हुनुको कारण र निर्माणाधीनको पुल सक्ने पूर्ण योजना पनि माग गरेको जानकारी दिए।

अख्तियारले तान्यो जब्दीघाटको फाइल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बबई नदीमा बनाएको पुल भासिएको विषयमा फाइल तानेर अध्ययन थालेको छ। विभागले यो पुल निर्माणको अनुसन्धान गर्न आग्रह गरेको थियो। सार्वजनिक सूचनाबाट थाहा पाएकाले यो पुलको विषयमा फाइल तानेर अनुसन्धान गरेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए।

क्षतिपूर्ति माग्दै ठेकेदार सर्वोच्चमा

चार सय ३५ मिटर लामो जब्दीघाटको पुल निर्माण सम्पन्न भए पनि करिब दुई करोड रुपैयाँ भुक्तानी नपाएको दाबी पप्पुु कन्स्ट्रक्सनले गरेको छ। सडक विभागले दिएकै डिजाइनमा भएको कमजोरीले पुल भासिएको, मध्यस्थकर्ताबाट समस्या समाधान गर्न माग गर्दा सहयोग नपाएको र उल्टै पुल निर्माण छिटो नगरे कालोसूचीमा राख्ने सूचना सार्वजनिक गरेको भन्दै उचित क्षतिपूर्ति पाउनुपर्ने मागसहित निर्माण कम्पनी सर्वोच्च अदालत गएको छ। उचित क्षतिपूर्ति र न्यायका निम्ति सर्वोच्चमा रिट निवेदन दर्ता गराएकाले अदालतले सडक विभागलाई कारण देखाउ आदेश दिएको र द्विपक्षीय छलफलका लागि अदालतले आगामी शुक्रबार बोलाएको पनि अध्यक्ष रौनियारले जानकारी दिए।

उक्त पुलमा वेल फाउन्डेसन हुनुपर्ने तर्कसहितको प्रतिवेदन दिँदा पनि विभागले भने पाइलमै निर्माण गर्न लगाउनु नै कमजोरी भएको उनको दाबी छ।

पुल ०७३ साल असार २१ गते डिभिजन सडकलाई हस्तान्तरणसहित बाँकी बिल भुक्तानीका लागि आग्रह गरेको कम्पनीले जनाएको छ। पुलको मर्मत ०७४ असार २० गते सकिएको र उक्त समयमम्म बजेट अभाव भन्दै अझै दुई करोडको बिल भुक्तानी नभएको उनले बताए। कम्पनीले आफ्नो जिम्मेवारी पूरा गरिसकेकाले पुलको पुनर्निर्माण गर्ने दायित्व सरकारकै हुनुपर्ने माग दाबीसहित पप्पु अदालत गएको हो।

‘मध्यस्थकर्ता माग गरेको ३० दिनपछि अदालतमा जान पाइन्छ। तर, पटक-पटक अनुरोध गर्दा सडक विभागले वास्ता गरेन', उनले भने, ‘मध्यस्थकर्ता माग गरेको दुई महिना भइसकेको छ।' अदालतको आदेशबाट मात्र समस्या समाधान हुने उनको दाबी छ।

उनले पुल निर्माणमा गुणस्तर होइन, डिजाइनकै कमजोरी भएको बताए। पुल अनुसन्धान गर्न गठित टोलीले प्रतिवेदन पेस नगर्दै विभागभन्दा तल्लो तहले पुल निर्माण गर्न सार्वजनिक सूचना जारी गर्नुले सरकारी निकाय कमजोरी लुकाउन लागिपरेको देखाएको उनको बुझाइ छ।

डेढ अर्बमा ११ पुल निर्माणाधीन

पप्पुले ११ वटा पुल निर्माण गरिरहेको छ। विभागका अनुसार पप्पुले एक अर्ब ४४ करोढ ७४ लाख रुपैयाँ खर्चमा ११ वटा पुल निर्माण गरिरहेको हो। यी पुलको लागत दुई करोडदेखि ३० करोडसम्म छ।

पप्पुले बनाइरहेका पुल र लागत

पुलको नाम पुलको दूरी (मिटरमा) लागत (हजारमा)

लमहा खोला पुल (रौतहट) १२५.९ ८१,६६२

चाँदी नदी पुल (रौतहट) ४७० २२६

तरहरी झाँझ नदी पुल (रौतहट) ६० ४८,०९८

दजी खोला पुल (कञ्चनपुर) १७० २२,४५,७१६

शिवगंगा खोला पुल (कैलाली) १२० १,४२,६८८

नौरंगिया खोला पुल (पर्सा) ४१.२७ २९,८८७

तिलाबे खोला पुल (पर्सा) ७३.८४ २१,४२६

बेदाहा खोला पुल (पर्सा) ७२.९५ ७५,५२०

त्रिशूली नदी पुल १५१ १,५४,५४३

कमला नदी पुल ५४७ ३,०१,६७०

भेरी नदी पुल १२० १,४२,९८९

कुल १२,४३,५००

स्रोत ः सडक विभाग, पुल महाशाखा न्युज अन्नपूर्णबाट

Back to top