×

० पछिल्लो समयमा प्रमुख दलहरूबीच भएको ध्रुवीकरणलाई कसरी लिनु भएको छ ?

— पछिल्लो राजनीतिक परिवेशलाई हेर्ने हो भने दलहरूबीचको धु्रवीकरणले गम्भीर स्थिति सिर्जना गरेको छ । विगतका वर्षहरूमा लोकतन्त्र, गणतन्त्र र विकासका लागि आम जनताले संघर्ष गरे, त्यसको विपरित अहिले दलहरूले गरेको धु्रवीकरण सत्ता र भत्ताको लागि मात्र भएको छ । पहिले पनि माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकार थियो र त्यो अझै पनि छ । तर अहिले माओवादी नेता प्रचण्ड, बाबुराम र केपी ओलीको गठबन्धनले प्रश्न खडा गरेको छ । यदी प्रचण्डजीले नेपालको विकासको लागि गठबन्धन गरेको हो भने र केपी ओली र बाबुरामले पनि नेपाली जनताकै लागि यो सब गरेका हुन् भने उनीहरू प्रधानमन्त्री हुँदा के के गरे र अब के गर्न सक्छन् भन्ने कुराको राम्रोसँग लेखाजोखा गर्न जरूरी छ । तीनै जना प्रधानमन्त्री भएका हुन् । आफू प्रधानमन्त्री हुँदा नेपाली गरिव जनताको लागि केहि गर्न सकेनन् र आफ्नो पार्टीको लागि अर्बौ रूपैयाँ गायव पारे । खोक्रो राष्ट्र्वादको नारा दिने तर गरिब निमुखा जनता कसरी बाँचिरहेका छन् त्यसको मतलब नराख्ने, यस्तो किसिमको गठबन्धनले राष्ट्रलाई विकास तर्फ होइन अन्धकारतिर धकेलिरहेको मैले महसुस गरेको छु । राजनीतिको नाममा जनतामाथि शोषण भइरहेको छ ।

० धेरैले त यो गठबन्धनलाई राम्रो पनि मानिरहेका छन् नि, हैन र ?

— राजनीतिक दलको संख्या घटाउनका लागि अहिले जुन गठबन्धन बनेको छ, यसको मुख्य उद्देश्य के हो ? उद्देश्य पवित्र, शुद्ध र प्रष्ट हुनुप¥यो । राजनीतिक दलको संख्या घटाउने बढाउने भन्दा पनि यस गठबन्धनको लक्ष्य, उद्देश्य एकदमै प्रष्ट हुनुपर्दछ । माओवादी, नेपाली कांग्रेस होस् या एमाले, यिनीहरू त खोक्रो राष्ट्रवादको नारा दिएर विदेशीको इसारामा पैसा खाएर सोझा नेपालीलाई ठगेका मात्र हुन् । भोट लिएर आफू सत्तामा बसेर आफ्नो स्वार्थ पूरा गर्न उद्देश्य उनीहरूको छ ।

० दलहरूको ध्रुवीकरणले संघीयतामा कस्तो असर पर्छ ? संघीयताले धु्रवीकरण निम्त्याएको हो या दलहरूले नै सत्ताको लागि यस्तो गरेको हो ?

— हामी पनि संघीयताको विरोधी होइन । हामी पनि संघीयता चाहन्छौँ तर यसको नाममा मधेशलाई, मधेशको जनजीवनलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्नु हुन्न । प्रान्तीय गठनको प्रक्रियालाई हेर्दा पूर्वको मधेशका केही जिल्लाहरूलाई आफ्नो सत्ताको लागि आफ्नो पक्षमा राखेका छन् । सत्ताधारी दलहरूले संघीयताको नाममा देशलाई टुक्राउन खोज्दैछन् । जनतामाथि शोषण गरेर देश टुक्राउन खोज्ने विरूद्धमा जनता जाउन् भन्ने मात्र सोच हो हाम्रो । यस्तै हो भने यो देश नटुक्रिएला भन्न सकिदैन । यस्तो स्थिति पनि आउन सक्छ ।

० धु्रवीकरण देशको लागि हितकर छैन भन्नुहुन्छ ?

— धु्रवीकरण कुनै पनि हालतमा देशको लागि हितकर हँुदैन ।

० देशमा धेरै पार्टी हुने र छुट्टाछुट्टै चुनाव लड्नु राम्रो हो त ?

— तपाई विगतका कम्युनिष्ट पार्टीलाई हेर्न सक्नुहुन्छ । उनीहरू कति पटक संगठित भए र कति पटक विभाजन भए । पार्टीभित्र नै कति विभाजन भए । कम्युनिष्टहरूले दीर्घकालीन स्वार्थको लागि मात्र यस्तो गरेका हुन् ।

० कम्युनिष्टहरूले त दीर्घकालीन स्वार्थका लागि एकीकरण गरे भन्नुभयो तर लोकतान्त्रिक शक्तिहरू पनि त गठबन्धन बनाएका छन् ?

— हो, यो धेरै राम्रो कुरा हो । तर लोकतान्त्रिक शक्तिहरू पनि पटक–पटक विभाजन भइरहेको दृष्टान्त पनि छ । लोकतान्त्रिक शक्तिहरू पनि कुनै दिन सत्ताधारी दलसँग मिल्नेछन् । इतिहास साक्षी छ, नेपाली कांग्रेसका नेता प्रधानमन्त्री हुँदा मधेशका जिल्लाहरू विभाजित भए । यसले मधेशी जनतालाई शोषण गरेर मधेशी जनताको हकहितका लागि संविधानमा कुनै अधिकार उल्लेख गरेनन् । यस्तो दलले अहिले आएर मधेशी जनताको लागि काम गर्न सक्छ भनेर कसरी विश्वास गर्ने ? त्यसकारण हामी धु्रवीकरणको विरोधी होइन तर यसको उद्देश्य र लक्ष्य प्रष्ट नभएकोले त्यस उद्देश्यको विरोधी हो । जसले सत्ता र भत्ताको लागि मात्र काम गर्दैछन् ।

० धु्रवीकृत भएका दलहरूले त देशको हित हुन्छ, सरकार स्थायी हुन्छ भनिरहेका छन् नि ?

— यो कुरा राम्रो छ । माओवादीले १० वर्ष आन्दोलन गरे । १५ हजार नेपाली मारे र मारिए तर सत्तामा त आयो नि । पश्चिमका थारू, जनजाति प्रयोग गरे तर अहिले सबैभन्दा धनी नेता माओवादी कै भएका छन्, आम जनताले के पाए ? यो देशमा प्रष्ट बहस हुनुप¥यो, पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमालदेखि तराइसम्म नेताहरूको आफ्नो स्वार्थ र पारिवारिक स्वार्थको बारेमा राष्ट्रिय बहस हुनुपर्छ । त्यसको लागि म पत्रकार, बुद्धिजीवि साथीहरूलाई आह्वान गर्न चाहन्छु ।

० यस्तो अवस्थामा मधेश केन्द्रित दलहरू कसरी अगाडी बढ्नुपर्छ ?

— राष्ट्रिय जनता पार्टी र संघीय फोरमले पनि चुनावी तालमेल गर्ने निर्णय गरेको छ । म त्यसको स्वागत गर्दछु । तालमेल गर्दा समझदारी र बहस हुनुपर्छ । आफ्नो मागमा अडिनु पर्छ । तर मधेशका केही पुराना नेताहरू कहिले एमाले त कहिले माओवादी त कहिले कांग्रेस फर्किन्छ । उहाँहरू सत्ताका लागि, चुनाव जित्नका लागि यस्तो गरिरहनु भएको छ । मधेश केन्द्रित दलहरूले मधेशी जनताको र राष्ट्रको हक हितका लागि अगाडी आउनु पर्छ । टिकटको लागि मात्र मारामार गर्ने होइन, निश्चित लक्ष्य लिएर आउनुप¥यो ।

० राजपा र फोरमबीच चुनावी तालमेल भएको छ र कांग्रेससँग पनि चुनावमा तालमेल हुने कुरा छ । यसलाई तपाईले कसरी लिनुभएको छ ?

— कांग्रेसको कमी कमजोरी मैले पहिले नै भनिसकेको छु । तर प्रजातान्त्रिक शक्ति भनेको काँंग्रेस नै हो । कांग्रेसले बुद्धि पु¥याएर, प्रजातान्त्रिक भावना लिएर, मधेशको हक हितमा लागेर आओस् । मधेशी जनताले सर्मथन गरेकै हो । इमान्दारीका साथ मधेशी जनताको हितका लागि आयो भने चुनावमा तालमेल गरेर अगाडी जान सकिन्छ ।

० तेस्रो चरणको चुनावमा राजपा र फोरमको जुन किसिमको मत आयो, अबको चुनावमा कांग्रेससँग तालमेल गर्नु उचित हुन्छ कि हुँदैन ?

— प्रजातान्त्रिक शक्तिहरूबीचको कुरा हो यसमा गलत हुँदैन । प्रष्ट उद्देश्य लिएर मधेशवादी दलसँग कांग्रेस एकसाथ आउनुपर्छ ।

० अहिले बनेको वाम वा प्रजातान्त्रिक गठबन्धनले नेपाल–भारत सम्बन्धलाई असर पार्छ ?

— नेपाल–भारत सम्बन्ध परापूर्व कालदेखि छँदैछ । तर केही दल तथा वाम गठबन्धनले भारतको र मधेशको विरोधमा गएका छन् । यसरी विरोधमा गयो भने नेपाललाई अहित हुन्छ । नेपालको विकासलाई धक्का लाग्छ । वाम गठबन्धनले राजनीतिको नाममा भारतलाई बदनाम गर्न सक्छ । मधेशमा पनि क्रान्ति गर्न सक्छ यो चिन्ताको विषय हो ।

(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)

Back to top