×

वीरगञ्ज २१ असोज लगातारको सार्वजनिक बिदाले मुलुककै मुख्य नाकाको आवागमन अस्तव्यस्त बन्न पुगेको छ । स्थानीय तहको तेस्रो चरणको निर्वाचन र त्यसलगत्तै परेको दशैं बिदाले वीरगञ्ज नाकामा ढुवानीका साधनको लाम लागेको छ ।

वीरगञ्ज–रक्सौलमा बढ्दो सवारी जामका कारण आफूहरु मारमा परेको गुनासो उद्योगी व्यवसायीले गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले मुख्य अयातनिर्यात केन्द्र वीरगञ्ज नाकाको ट्राफिक व्यवस्थापन प्रभावकारी नहुँदा उद्यमी व्यवसायीले समस्या खेप्नु परेको बताए । २ नम्बर प्रदेशमा असोज २ गते भएको स्थानीय चुनावका लागि ७२ घण्टा गरिएको सीमा बन्द र दशैं बिदाका कारण त्यति नै समय वीरगञ्ज भन्सार बन्द हुँदा नाकामा ढुवानीका साधनको चाप ह्वात्तै बढ्न पुगेको हो । सङ्घका सचिव माधव राजपालले भारतीय रेल्वेको रक्सौल यार्ड र स्थलमार्गबाट दुवैतिरबाट आउने मालसामान जाममा फसेको बताए ।

सङ्घले नाकाको जाम हटाएर बाटोमा रोकिएका मालबस्तु जतिसक्दो चाँडो गन्तब्यमा पु¥याउने व्यवस्था मिलाउन माग गर्दै वीरगञ्ज भन्सार, भारतीय महावाणिज्य दूतावास, भारतीय रक्सौल भन्सार, स्थानीय प्रहरी र प्रशासन प्रमुखलाई आग्रह गरेको छ । रेल्वेको रक्सौल गोदामदेखि नेपाल–भारत मितेरी पुलसम्म अत्याधिक जाम भएकाले औद्योगिक कच्चा पदार्थ र उपभोग्य बस्तु बोकेका ट्रक र कण्टेनरहरू सीमापरि नै रोकिएको सचिव राजपालले बताए ।

समयमै ढुवानी गर्न नसक्दा भारतीय रेल्वे, गोदाम र ढुवानीका साधनलाई चर्को जरीवाना तिर्नुपरेको व्यवसायीले बताए । ‘मुख्य नाकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हँुदा स्वदेशी उद्यमी व्यवसायीले जरीवानाको भारी बोक्नु परेको छ’, अध्यक्ष शर्माले भने, ‘हामीले सरोकारका निकायको ध्यानाकर्षण गराएर समधानका लागि आग्रह गरेका छौं ।’ भारतीय शहर रक्सौलस्थित भारतीय आयल निगमको डिपो, रेल्वे क्रसिङ र मितेरी पुल आसपासको क्षेत्रमा बढी जाम हुने गरेको छ । दैनिक एक हजारभन्दा बढी ट्रक, कण्टेनर, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर आवागमन हुने नाका छोटै अवधिमा ६ दिन बन्द हुँदा यस्तो अवस्था आएको हो । यतिबेला अन्य अतिआवश्यकीय साधनको आउजाउसमेत अन्यन्त कठिनपूर्ण बन्न पुगेको छ ।

रक्सौलदेखि सुगौलीसम्म करीब ३५ किलोमीटरमा गाडीको लाम लागेको छ । भारत तथा तेस्रो मुलुकबाट आउने सामान बोकेका करीब ३ हजार ५ सय गाडी यसरी रोकिएको सचिव राजपालले बताए । उनले रेलबाट रक्सौल यार्डसम्म आइपुगेको मालसामानसमेत समयमा भित्र्याउन नपाएको गुनासो गरे । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख सेवन्तक पोखरेलले भारतीय भन्सार र त्यहाँको प्रहरीसँगको समन्वयमा रोकिएका गाडी भित्र्याउने काम तीव्र रुपमा भइरहेको बताए । उनले रातभरि नै नाका खोलेर बाटोमा रोकिएका गाडी भन्सार यार्डमा ल्याएर भोलिपल्ट जाँचपास गर्दैआएको उल्लेख गरे ।

अबको १/२ दिनमा सीमापारि रोकिएका सबै गाडी आइसक्ने दाबी वीरगञ्ज भन्सारको छ । भन्सारका अधिकारीहरूले सार्वजनिक बिदा परेको दशैंको सप्तमी र अष्टमीको दिनमा समेत भन्सार खुला राखी आयातित मालबस्तुको जाँचपास गरिएको बताए । चुनावी नाका बन्दलगत्तै वीरगञ्जको महावाणिज्य दूतावासको पहलमा भारतीय भन्सार र त्यहाँको प्रहरीले जाम खुलाउन सहयोग गरेकोमा पछिल्लो समय समस्या भएको अध्यक्ष शर्माले बताए । मितेरी पुलयता ट्रक र कण्टेनर रोकेर राख्ने प्रबन्ध राम्रो नहुँदा जाम बढी भएको दाबीसमेत उनले गरे ।

Back to top