×

० प्रदेश नं. २ को निर्वाचनको मतपरिणामलाई कसरी हेर्नुभएको छ ?

— यो परिणामले हामीलाई धेरै खुशीयाली नदिए पनि निरुत्साह नै भने गरेको छैन । समग्रमा भन्नुपर्दा सन्तोष लिने ठाउँ नै छ । खासगरी मधेशमा २०७० को संविधान सभा निर्वाचनमा झै के सन्देश दिएको छ भने मधेशवादी दलहरु एक हुनुपर्दछ । हामी पनि त्यतै लाग्दैछौँ, प्रयास जारी छ ।

० प्रदेश नं. २ मा पहिलो हुने दाबी गरेको राजपाले अहिले मतपरिणाम हेर्दा तेस्रो नम्बरमा देखिन्छ, यसलाई कसरी हेर्नुभएको छ ?

— अहिलेसम्म अन्तिम परिणाम नआइसकेकोले राजपा तेस्रोमा नै टुङ्गिसकेको अवस्था छैन । मतगणना अझै पनि जारी छ । त्यसकारण दोस्रो हुने सम्भावना पनि छ । कांग्रेसले त अझ धेरै मत पाउने आशा गरेका थियौँ । कांग्रेस, माओवादी र एमालेलाई मधेशले धेरै पत्याएको थियो । हिजो पनि हामी मधेशवादी दल नै थियौं तर पनि कांग्रस, एमाले अग्रपंक्तिमा नै आउँथ्यो । तर यसपाली ठूला दलहरु चिन्ता गर्नुपर्ने स्थिति छ । विगतमा गरेका कमीकमजोरीहरुले गर्दा अहिले दशा बनिरहेको छ । अहिलेको स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा मधेशमा कांग्रेसको विलिन हुने अवस्था आईसकेको छ । माओवादीको पनि हालत त्यस्तै छ, एमाले त झन् विलिन भैसक्यो । यो त अहिलेको मतपरिणामबाट नै प्रमाणित हुन्छ । अर्को कुरा राजपा तेस्रो हुनुको कारण पार्टी एकिकरण गरेको चार महिनामै निर्वाचनमा प्रतिस्पर्धा गर्नुपर्ने, हामीले निर्वाचनमा जान्छौँ भनेर घोषणा गरेको ११ दिनमै उम्मेदवारको घोषणा गर्नुपर्ने, निर्वाचन चुनाव चिन्ह टुङगो लागेको ६ दिनमै उम्मेदवारीको दर्ता गर्नुपर्ने, उम्मेदवारी दर्ता गरेको ११ दिनमा निर्वाचन गर्नुपर्ने । अर्थात अत्याधिक कम समयको खातिर हामी विगतमा ६ वटा पार्टी एकिकरण भयौँ तर पार्टीका नाम, झण्डा, चुनाव चिन्ह, भौतिक संरचना सबै एकीकरण त गर्र्यौँ तर विचारहरु एकीकरण हुन सकेन । अझै पनि केही नेता कार्यकर्ताबीचको अन्तद्र्वन्द्व भएकाले केहिले त अन्तर्घात नै गरे । केही जिम्मेवार साथीहरुले त पार्टी नै परित्याग गरे । केही साथीहरुले विद्रोह गरे । तत्पश्चात पनि हामी आन्दोलनकारी पार्टी हामीले कहिले भ्रष्टाचार गरेको, हाम्रा कार्यकर्ताले कुनै अकुत सम्पति कमाएको, हाम्रा उम्मेदवारहरुले लाखौँ, करोडौँ खर्च गर्न सक्ने क्षमता भएका थिएनन् । आर्थिक रुपले पनि निर्वाचन आयोग दर्शक भएर बस्यो । यो निर्वाचनमा लामो आर्थिक चलखेल भयो, आर्थिक चलखेल भएकै कारणले नेपाली कांग्रेस, एमाले तथा माओवादीले केही सिट ल्याउन सके होलान् । राष्ट्रिय जनता पार्टीका कार्यकर्ता तथा उम्मेदवारहरु आर्थिक रुपमा सबल हुन सकेनन् । निर्वाचन आयोगको नियममा नै बसे । आर्थिक रुपमा पनि पछाडी परेका कारणले पनि र समयको अभावले गर्दा पनि धेरै खुशीयाली मनाउने किसिमको मत ल्याउन सकेनौँ । यद्यपी सन्तोष खोज्दा भेटिने किसिमको नै छ ।

० अहिलेको मतपरिणामबाट राजपा सन्तुष्ट हुने अवस्था छ ?

— ठिकै छ, खासै असन्तुष्टि जनाउने खालको छैन । यो भन्दा धेरै राम्रो सोचेका थियौँ, सोचेको जस्तो परिणाम त आएन । यदि संघीय समाजवादी फोरम र राजपाले मिलेर उम्मेदवारी दिएको भए मधेशका अधिकांश स्थानहरुमा हामी जित्ने थियौँ । जनताले पनि मिलेर आउ भनेको थियो तर उपेन्द्र यादव जी मान्नुभएन । यदि उहाँ मिलेर आउनुभएको भए हाम्रो पार्टी पहिलो हुने निश्चित थियो । राजपा र फोरम मिलेर आगामी निर्वाचनमा गयो भने हामी अत्याधिक बहुमत ल्याउन सक्छौं भन्ने मतादेश पाएका छौं ।

० तपाईहरुले सोचेअनुसारको मतपरिणाम नआउनुका कारणहरु बुँदागत रुपमा केके छन् ?

— पहिलो कारण त आर्थिक अभाव नै भयो । हाम्रा उम्मेदवारहरुले कांग्रेस, एमाले, माओवादी जस्तो धेरै रकम खर्चिन सकेन । हामी निर्वाचन आयोगले दिएका आचारसंहिताहरु पालना गर्नतर्फ लाग्यौँ । हामीले जनताका लागि काम गरेका थियौँ तसर्थ थुप्रै ठाउँमा पैसाकै कारण पनि हारेका छन्, अर्को कुरा हाम्रा आफ्नै पार्टीका नेता, कार्यकर्ताहरुबीच नै पार्टी एकीकरण भएको ४ महिना भित्र नै अन्तर्घुलित भयो, केहीले पार्टी नै परित्याग गरे । हामीलाई समयको पनि अभाव भयो । सुरुदेखि नै निर्वाचनमा जाने तयारी थिएन र हतारमा निर्णय गर्दा पनि चाहेजति समय खर्चिन नपाउँदा पनि यस्तो मतपरिणाम आउन पुग्यो । आम प्रतिकुलताका कारण हुँदाहुँदै पनि जनताले हामीलाई पत्याए । जनताले हामीलाई विश्वास गरेका छन् । जसले गर्दा समग्रमा राजपाले २० सिट भन्दा बढी नै ल्याउन सफल भयो ।

० स्पष्ट रुपमा भन्नुपर्दा प्रदेश नं. २ का जनताले के सन्देश दिन चाहेका छन् ?

— प्रदेश नं. २ का जनताले परिवर्तनका पक्षमा जनमत दिएका छन् । त्यहाँका जनताले स्पष्ट रुपमा के भन्न चाहन्छन् भने यो संविधान अपुरो अधुरो छ, यो संविधान संशोधनका लागि, मधेशको विकास निर्माणका लागि जीवन दिएका ती शहिदहरुको, घाइतेहरुको घाउको हामीले सम्मान गर्नुपर्दछ भनेर जनताले मत प्रयोग गरेर नै हामीलाई जनमत दिए । मधेशका मुद्दाहरु साच्चै पनि बलिया छन् यसलाई झन् बलियो बनाउनका लागि मधेशवादी दलहरु एकीकरण हुनुपर्दछ । लोकतान्त्रिक मोर्चा र बाँकी छुटेका दल पनि एकीकरण हुनुपर्दछ भनेर आदेश दिए । मधेशको विकास हामी आफैले गर्न सक्नुपर्दछ । जो जनतासँगै रहन्छन्, जनतामा भिज्छन्, जो जनताको हितका लागि आन्दोलन गर्दछन् तिनीहरुलाई निर्वाचन गर्नुपर्दछ भन्ने जस्ता सन्देश मधेशका जनता दिन चाहन्छन् ।

० मधेशवादी दलहरु आन्दोलनमा सँगै जाने तर चुनावको बेला भने छुट्टाछुट्टै जानुहुन्छ, किन तपाईहरु सँगै चुनावमा जान सक्नुहुन्न ?

— मधेशवादी दलहरु मध्ये ६ वटा पार्टी त एकीकरण गरेर देखायौँ । हामी भनेर होइन गरेर देखाउँछौँ । हो , केहि पार्टी छुटेका छन् त्यसलाई म मान्छु, केही साथिहरु हिमाल, पहाड तिरको उम्मेदवार बन्ने सपना देखेर हिड्नुभएको थियो । उहाँहरु भर्खर सम्पन्न भएको चुनावमा त आउनुभयो तर शरिर मात्र लिएर आउनुभयो । उहाँहरुको मन भने हिमाल र पहाड तिर नै छ । उहाँहरु साच्चै नै मन र विचार सहित मधेश झर्नुभएको छ भने जनताको जनादेशलाई शिरोधार्य गर्दै एकीकरणमा लाग्नुहुनेछ र हामी सबै एकीकरण हुनेछौँ । एकीकरणका लागि राष्ट्रिय जनता पार्टीको द्वार सधैं खुला रहनेछ । आगामी दिनहरुमा पनि जनताको आदेशलाई मानेर आन्दोलनमा सँगै जाने दलहरु, मधेशका लागि परिवर्तन चाहने दलहरुसँग एकीकरण गरेर अगाडी जानेछौँ र हाम्रो यो प्रयास जारी रहने छ ।

० तपाईहरुले ६ वटा पार्टी त एकिकरण गर्नुभयो तर उपेन्द्र यादव जीको पार्टीसँग एकीकरण गर्नुभएन, तपाईहरुले नै गर्न नमान्नु भएको हो या उहाँले मान्नुभएन ?

— राजपाका नेताजीहरुले व्यक्तिगत रुपमा नै उहाँहरुलाई आग्रह गर्नुभएको हो । तर उपेन्द्र यादवजी बाबुरामजीको पार्टीसँग एकीकरण गर्न बढी लालायित हुनुहुन्थ्यो । जुन दिन उपेन्द्र जी र बाबुरामजीको पार्टी एकीकरण गर्न आ–आफ्ना पार्टीको बैठक बसाले त्यसै दिनदेखि नै विवाद सिर्जना हुन पुग्यो, विद्रोह भएर छियाछिया हुन पुगेको स्थिति छ । साच्चै भन्ने हो भने फोरमका आम नेता कार्यकर्ता एकीकरणको पक्षमा थिए तर उपेन्द्रजीसँग केही हठ अझै बाँकी नै छ । राजपाले एकिकरण गर्ने प्रयास गरेकै हो । सायद अब एकीकरण हुन सक्छ होला ।

० कि नेतृत्वको कुरा नमिलेर एकिकरण नभएको हो ?

— राजपा अब एकल नेतृत्वले चल्दैन । ६ वटै पार्टीका सबैलाई हामीले समान हैसियत दिएका छौँ । पालैपालो संयोजक बदलिने कुरा पनि हामीले गरेका छौँ । यद्यपी हामी समझदारी गरेर नै अहिले संयोजक बदलेका छैनौँ । हामीले थुप्रै असम्भव कुराहरुलाई पनि सम्भव गरेर देखाएका छौँ । एकीकरणको सबैभन्दा ठूलो उदाहरण नै राष्ट्रिय जनता पार्टी हो ।

० प्रदेश नं. २ मा संघीय समाजवादी फोरम र राजपा मिलेर गएको भए कस्तो अवस्था आउँथ्यो होला ?

— सहकार्य गरेर गएको भए अवस्था राम्रै हुने थियो । एकिकरण नै हुन नसकेपनि तालमेल मात्रै मिलाएर गएको भए पनि राम्रै अवस्था सिर्जना हुने थियो । मधेशमा मतदाता शिक्षाको अभाव छ । निर्वाचन आयोगले पनि यस विषयमा भ्रष्टाचार गरेको छ । विगतका दिनहरुमा केहि पार्टीहरुले चुनावी तालमेल मिलाएर निर्वाचनमा गएको भए पनि मतदाता शिक्षाको अभावले गर्दा पक्षमा मत आउन सकेन । त्यसैले पनि तालमेल मिलाएर भन्दा एकीकरण गरेर गएको भए राम्रो मत आउन सक्थ्यो ।

० अहिलेको निर्वाचनमा एमालेको मतपरिणाम कमजोर छ, एमाले मधेश विरोधी भएकै कारण अल्पमत पाएको हो ?

— एमाले बाहिर देख्दा राम्रै होला तर उसको नेतृत्व हेर्ने हो भने मधेशप्रति उसको अलिकति पनि माया छैन । एमालेका नेताहरुले मधेशी जनतालाई अमर्यादित शब्द बोल्ने जस्ता कार्य गरेका छन् । जसका कारण एमालेको यो हालत भएको छ । विगतमा मधेशका जनताले एमालेलाई माया गरेकै हो । तर, एमालेको मधेशीप्रतिको व्यवहारका कारण विलीन हुने अवस्था आइसकेको छ ।

० अबका दिनहरुमा प्रदेश नं. २ कसको आधारभूमि हुनेछ ?

— मधेश कसैको पेवा होइन । राजपाकै रहन्छ भन्ने छैन । आगामी दिनहरुमा मधेशको लागि राजपाले राम्रो काम गर्न सकेन भने राजपाको पनि आधारभूमि रहन सक्दैन । स्थानीय स्तरको निर्वाचनमा समयको अभावका कारण प्रचारप्रसार पनि गर्न सकिएन तसर्थ अब हुने प्रदेश सभा र प्रतिनिधिको सभाको निर्वाचनमा भने कर्मठ, इमान्दार, आन्दोलनमा होमिएका र मधेशी जनताको लागि हित चाहने व्यक्तिलाई उम्मेदवार बनाउने लक्ष्य राखेका छौँ । जसले मधेशी जनताको मनोभावनालाई बुझेर काम गर्नेछन् । यसअर्थमा आगामी दिनहरुमा मधेश राजपाको लागि आधारभूमि बन्न सक्ने कुरामा कुनै शंका छैन ।

० राजपाले अध्यक्षमण्डलीय बैठकमा सहअध्यक्ष हृदयेश त्रिपाठीलाई निम्त्याउने भन्ने निर्णय गर्यो, यसको मतलब राजपाको अध्यक्षमण्डल अब सात सदस्यीय हुने भयो ?

— निश्चितरुपमा अहिले राजपाको अध्यक्षमण्डल सात सदस्यीय भइसकेको छ । हृदयेश त्रिपाठीजी एउटा राष्ट्रियस्तरमा छवि बनाउनुभएको, सुयोग्य, कर्मठ र राम्रो सुझबुझ भएका नेता नै भएकोले स्थायी आमन्त्रित गरिएको हो । उहाँ पनि अध्यक्षमण्डलका स्थायी आमन्त्रित सदस्य हुनुहुन्छ । यसले झन् एउटा के सन्देश दिन्छ भने हाम्रो पार्टी सामूहिक बलमा चल्छ । त्यसैले राजपा सात सदस्यीय अध्यक्षमण्डलीय पार्टी हो ।

श्राेत मधेशवाणी वाट

Back to top