×

वीरगन्ज ८ असाेज नेपाल सरकारले गराएको स्थानीय निकायको निर्वाचन धाँधलीपूर्ण र सेना प्रहरीको घेराबन्दीमा भएको भन्दै स्वतन्त्र मधेश गठबन्धनले मधेशमा स्थानीय सरकार घोषणा गर्ने जनाएको छ ।

डा.सीके राउत नेतृत्वको सो गठबन्धनले मधेशी जनताद्वारा आफैं ग्राम तथा नगर स्वराज परिषद्को निर्वाचन गराई स्थानीय सरकार घोषणा गर्ने जनाइएको छ ।

यसका साथै पुनः निर्वाचनको माग गर्ने संघसंगठनसँग सहकार्यका लागि डा.राउतले अपीलसमेत गरेका छन् ।

स्वतन्त्र मधेश गठबन्धनले ‘नो भोट’ को संख्या सही रुपमा गणना गर्दै सबै तथ्याङ्क पारदर्शी रूपमा सार्वजनिक गर्दै सबै ठाउँमा पुनः मतगणना गर्नु पर्ने माग डा.राउतले गरेका हुन् ।

‘सो नभएमा, मधेशी जनताका लागि नेपाल सरकारद्वारा लाखौं बाह्य औपनिवेशिक सेना र प्रहरी लगाएर बन्दुकको नालमा गरिएको स्थानीय तहको निर्वाचन मान्य हुने छैन र गठबन्धन ग्राम स्वराज तथा नगर स्वराज परिषद्को निर्वाचन आफैं गराउँदै मधेशको आफ्नै स्थानीय सरकार घोषणा गर्ने निर्णय गर्दछ ।’ डा.राउतले विज्ञप्ति उल्लेख गरेका छन् ।

साथै, नेपाल सरकारले मधेशमा गराएको धाँधलीपूर्ण स्थानीय निर्वाचन खारिज हुनु पर्ने धारणा राख्दै सम्पूर्ण मधेशी जनता, पार्टी, उम्मेदबार, व्यक्ति तथा संघसंगठनसँग मधेशमा आफ्नै स्थानीय सरकार गठन गर्न ग्राम स्वराज तथा नगर स्वराज परिषद्को निर्वाचन गराउनका लागि एकबद्धता तथा सहयोग गर्नका लागि उनले अपील गरेका छन् ।

मधेशमा निष्पक्ष रुपमा स्थानीय सरकार गठनका लागि ग्राम स्वराज तथा नगर स्वराज परिषद्को निर्वाचन गराउन अन्तर्राष्ट्रिय समुदायसँग सहयोग उपलब्ध गराउनका लागि समेत गठबन्धनले अपील गरेको हो ।

नेपाल सरकारले लोकतन्त्रको विपरीत निर्वाचनमा भूमिका निर्वाह गरेको भन्दै निर्वाचनको अनुगमन तथा समीक्षाको क्रममा निम्न अस्वीकार्य कुराहरू देखिएको राउतले जनाएका छन् ।

१) जनसंख्याको आधारमा स्थानीय निकाय निर्धारण नगरिनु,

२) मतदाता नामावलीमा उल्लेखनीय रुपमा लाखौं योग्य मधेशी मतदाताको नाम नहुनु,

३) व्यापक रुपमा गाउँ–गाउँमा सेना परिचालन गरिनु,

४) ६० हजार भन्दा बढी सुरक्षाकर्मी सप्तरीदेखि पर्सासम्मका जिल्लामा मात्रै परिचालित गरिनु,

५) नेपाल सरकारद्वारा ‘नो भोट’का लागि प्रचार–प्रसार गर्न प्रतिबन्ध लगाउनु र दर्जनौं कार्यकर्तालाई गिरफ्तार गर्नु,

६) आचार संहिता विपरीत बल, पैसा र शक्तिको निर्वाध रुपमा दुरुपयोग गर्नु,

७) ‘नो भोट’ का लागि मतदान गर्न अवरोध गर्नु,

८) गोप्य मतदान हुनु पर्नेमा सेना र प्रहरी बन्दुक लिएर छाप लगाउने टेबलकै छेउमा उभी मतदातालाई धम्काउनु–डराउनु,

९) खसेको मत र बदर मत गणना पारदर्शी रुपमा सार्वजनिक नगरिनु,

१०) मतपत्रमा अगाडी होस् कि पछाडी चुनाव चिन्ह बाहेकका कुनै पनि बाक्समा मसी लगाएमा मत बदर हुने आम प्रचलन विपरीत कोठा बाहिर मोहर लगाएका, औंठा छाप लगाएका तथा यत्रतत्र मसी लागेका मतपत्रहरूलाई समेत सदर मान्नु,

११) ‘नो भोट’ भएका मतलाई दलहरुले एकआपसमा बाँडफाँड गर्ने गरी मिलेमतो गर्नु,

१२) ‘नो भोट’ गणना नगर्नु र बदर मतको संख्या सार्वजनिक नगर्नु । श्राेत्र हुलाकी न्यूजवाट

Back to top