×

नेपालीहरूको महान् पर्व बडादसैं सुरु भइसकेको छ । दसैं सुरु भएसँगै बजारमा चहलपहल पनि बढेको छ । सामान्यतः दसैंमा नयाँ सामान किनमेल गर्ने चलन नेपालीमा रहँदै आएको छ । यसले बजारमा दिनहुँ भीड बढ्दै छ ।

सहरबजारमा आएर विभिन्न पेसा–व्यवसाय गर्दै आएकाहरू पनि दसैं मान्न आफ्नै थातथलो फर्कने गरेकाले पनि किनमेल बढी हुने गरेको छ । त्यसैले व्यवसायीहरूले अन्य बेलाको भन्दा दसैंका बेला निकै बढी व्यापार गर्ने गरेका छन् । यसले अर्थतन्त्रमा पनि सकारात्मक प्रभाव पार्ने गरेको छ । अझ यसपटक त स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको, समाजमा शान्ति–सुरक्षा बहाल रहेको अवस्थामा व्यापार–व्यवसाय वृद्धि हुनु स्वाभाविक भएको व्यवसायीहरू बताउँछन् ।

तर, तराईका केही जिल्लामा आएको बाढीका कारण कतिपय स्थानमा दसैं खल्लो पनि भएको छ । यति हुँदाहुँदै पनि यस वर्षको दसैंलाई धेरै नेपालीले उल्लासपूर्ण रूपमा मनाउँदै छन् । दसैंका बेला भइरहेको सामान खरिदबिक्री, दसैंको उल्लासलगायत विषयमा देशका विभिन्न स्थानका व्यापारीहरूसँग गरेको कुराकानीको सार :

जताततै हर्षोल्लास छ

ओमप्रकाश शर्मा

अध्यक्ष , वीरगन्ज उद्योग वाणिज्य संघ

दसैं आइसकेको छ । उत्साहपूर्ण छ । चुनाव सकिएर धेरै किसान खरिद–बिक्रीमा लागेका छन् । भर्खरै स्थानीय तह निर्वाचन शान्तिपूर्वक सम्पन्न भएको छ । २० वर्षपछि भएको निर्वाचन कस्तो होला ? के होला ? भन्ने मनमा भय थियो ।

घटना, दुर्घटना के होला भन्ने आशंका थियो । तर, कहीं–कतै अप्रिय घटना नभई शान्तिपूर्ण निर्वाचन भएका कारणले पनि दसैं अझ राम्रो र खुसीयालीका साथ मनाउन पाइएको छ । म आफैं पनि यो निर्वाचनमा के होला, कस्तो होला भन्ने मनमा भय पालेर बसेको थिएँ, तर जुन खालको मनमा डर थियो । त्योभन्दा ठीक विपरीत सोचेभन्दा एकदमै फरक किसिमले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो । यसले यहाँका उद्योगी–व्यवसायीहरूलाई थप उत्साह जगाएको छ । यसले यहाँका सर्वसाधारणमा खुसी देखिएको छ ।

दसैंकै लागि हामीले सस्तो बजार पनि लगाएका छौं । आर्थिक कारोबार पनि निकै राम्रो भएको छ । कुनै किसिमको अशान्ति भएन । निर्वाचनले चलायमान बनाएको अर्थतन्त्रलाई अझ सुदृढ बनाउन सहयोग गर्नेछ । मेरो आफ्नै चार–पाँचवटा निर्वाचनको अनुभवभन्दा यो निर्वाचन फरक किसिमको भएकाले यस वर्षको महान् चाड बडादसैं अझ हर्षोल्लासका साथ मनाउने योजना छ ।

दसैंका अवसरमा जुवातास धेरै हुने भन्ने कुरा पनि छ । यो कुरा विगतमा धेरै उठ्यो । यो समाजका लागि विकृति पनि हो । दसैंमा मात्र होइन, अरू समयमा पनि घरमा चार जना साथीभाई बसेर तास खेलिरहेकाहरूलाई पनि प्रहरीले छापा मारेर जुवातास नियन्त्रणको नाममा दुःख दिने गरेको छ । योचाहिँ मलाई मन परेको छैन । जो दसौं–पचासौं जना बसेर जुवातास खेल्छन् त्यस्ता पेसेवरहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्छ ।

घर÷परिवारबीचमा महिलाहरू पनि खेलिरहेका हुन्छन्, त्यस्तालाई पनि प्रहरीले पक्राउ गरेर लान्छन् । यो राम्रो होइन । प्रहरी प्रशासनले पेसेवर जुवातास खेल्ने व्यक्तिको पहिचान गर्नुपर्छ । म वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षका नाताले पनि व्यक्तिगत रुपमा दसैंमा साथीभाइहरूसँग बसेर रमाइलो गर्ने, शुभकामना आदानप्रदान गर्ने र केही सामाजिक कार्य गरेर मनाउने योजना बनाएको छु । दसैं हुनेखानेहरूका लागि रमाइलो भए पनि हुँदा खानेहरूको लागि दशाजस्तै हो ।

त्यसैले यस्तो महान् चाडलाई हुनेखाने सम्पन्नहरूले, जो विपन्न छन्, जसको खाने–लाउने अवस्था एकदमै दयनीय छ, त्यस्ता दुई–तीन परिवारलाई आर्थिक सहयोग गरेर दसैंलाई रामाइलो बनाउन सक्यो भने हाम्रो समाजमा अझ राम्रो हुन्छ । यसो त वीरगन्जलाई दानवीरहरूको सहर भनेर पनि चिनिन्छ । यहाँका उद्योगी–व्यापारीहरूले आपूmले सक्ने सहयोग दिई नै रहेका छन् ।

यस्तो महान् चाडपर्वमा हुँदा खानेहरूका लागि पनि सहयोग गरेमा अत्यन्त राम्रो हुन्छ जस्तो मलाई लाग्छ । दानकै रूपमा सहयोग गरेमा पनि त्यस्ता गरिब विपन्न परिवारमा दसैं रमाइलोसँग मनाउन पाउँछन् र समाजमा पनि राम्रो सन्देश जान्छ । दसैं खर्चिलो चाड पनि भएकाले म सबैलाई आफ्नौ हैसियतअनुसार मात्र दसैं मनाउन आग्रह पनि गर्छु ।

कसैले अरूको देखासिखी गर्दा आपूm सधैं ऋणमा डुब्ने गरेको कतिपय घटना हाम्रै समाजमा पनि देखेका छौं । त्यसैले पनि यो दसैंलाई एउटा उल्लासमय वातावरणमा मनाउन आग्रह छ । वीरगन्ज आर्थिक र औद्योगिक नगरी पनि हो ।

यहाँ धेरै उद्योग कलकारखानामा काम गर्ने मजदुर कर्मचारीका परिवार बस्ने गरेका छन् । उनीहरूले पनि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि खुसीका साथ घरपरिवारसँग जान पाउने वातावरण पाएको छ । जे होस्, हामीले सोचेभन्दा पनि निकै शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचनले दसैंलाई झन् खुसीयाली बनाएको छ ।

Back to top