पर्सा जिल्लाको राती १० बजे सम्मको अपडेट

4551

Share
  •  
  •  
  •  

वीरगन्ज, ४ असोज – सर्वाधिक चासोको रुपमा देखिएको प्रदेश नम्बर २को एक मात्र महानगरपालिका वीरगन्जको प्रमुख र उप–प्रमुखमा राजपा नेपालको अग्रता कायमै रहेको छ । मंगलबार दिउसो देखि शुरु मतगणनामा राजपा नेपालले अग्रता लिईरहेको छ । वीरगन्ज महानगरको मतगणनाको लागि १० वटा टोली बनाएर वडा नं.१,२,३,४,५,२८,२९,३० ३१ र ३२ को मतगणना हुदा राजपाकै दबदबा देखिएको छ ।
बुधबार राती ९ बजेसम्म ७२०० को मतगणनामा राजपाबाट प्रमुख पदका उम्मेदवार राजेशमान सिंहले २१४३ मतका साथ पहिलो स्थानमा रहेका छन भने उनलाई नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार द्विवेदीले १८०५ मतका साथ पछ्याईरहेका छन ।
यसैगरि संघीय समाजवादी फोरम नेपालका प्रमुख पदका उम्मेदवार विजय सरावगी तेश्रो स्थानमा छन् । उनले ९९५ मत पाएका छन् । माओवादी केन्द्रका उम्मेदवार रहबर अन्सारी ७३९ मतका साथ चौथो स्थानमा छन् । नेशनल मेडिकल कलेजका संचालक समेत रहेका एमालेका प्रमुख पदका उम्मेदवार बसरुद्धिन अन्सारी ६२५ मतका साथ पाचौ स्थानमा र ५३८ मतका साथ लोकतान्त्रिक फोरमका उम्मेदवार विमल श्रीवास्तव छैठौं स्थानमा छन् ।
यस्तै वीरगन्ज महानगरपालिकाको उप–प्रमुखमा राजपाकै उम्मेदवार रम्भा मिश्राको अग्रता कायम रहेको छ । बुधबार राति पौने नौ बजे सम्म सार्वजनिक मतपरिणाम अनुसार राजपाकी उम्मेदवार मिश्राले २०१२ मत ल्याएकी छिन् । उनलाई नेपाली कांग्रेसकी उप–प्रमुखकी उम्मेदवार शान्ति कार्कीले १९७४ मत ल्याएर झिनो मतान्तरले पछ्याईरहेकी छिन । तेस्रोमा फोरम नेपालकी उम्मेदवार पिंकी यादव ८५८ मतका साथ तेश्रो , एमालेकी उम्मेदवार सोफिया आचार्य ७७४ मतका साथ चौथो, माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ५८२ मतका साथ पाचौ र लोकतान्त्रिक फोरमकी उम्मेदवार रिंकु यादव ४३९ मतका साथ छैठौं स्थानमा छिन् ।
वीरगंज महानगरपालिकामा कुल १ लाख ८ हजार ५ सय १ मतदाता रहेकोमा सोमबार भएको निर्वाचनमा जम्मा ८४ हजार ३ सय ६३ मत खसेको थियो । अहिले १० वटा टोली बनाएर मतगणना भईरहेको छ । मुख्य निर्वाचन अधिकृत विष्णु सुबेदीका अनुसार असोज १० गतेसम्ममा पुरै मतगणना सम्पन हुनेछ ।
पर्साका तीन नगरपालिकामा ३ अलग अलग दलको अग्रता
पर्सा जिल्लाको वीरगंज पछिको पहिलो नगरपालिकाको रुपमा रहेको पोखरीया नगरपालिकामा संघिय सामाजबादी फोरम नेपाललाई पछ्याउदै नेपाली जनता दलले अग्रता लिएको छ ।
बुधबार राति ९ बजे सार्वजनिक गरिएको मतपरिणाम अनुसार प्रमुखमा जनता दलका उम्मेदवार दिपनारायण रौनियारले १०५३ मत प्राप्त गरि पहिलो स्थानमा रहेका छन । मंगलबारदेखि शुरु भएको मतगणनामा पहिलो स्थानमा रहेका संघिय सामाजबादी फोरम नेपालका उम्मेदवार प्रदुमन चौहानले १०२० मत प्राप्त गरि दोस्रो स्थानमा झरेका छन । नेपाली काँग्रेसका उम्मेदवार तथा पुर्व सांसद रामेश्वर रौनियारले भने ३३७ मतका साथ तेस्रो स्थानमा छन् ।
पोखरीया नगरपालिकाको उप–प्रमुखमा भने संघिय सामाजबादी फोरम नेपालकी उम्मेदवार सल्मा खातुनले १०२४ मतका साथ पहिलो स्थान सुरक्षित राखेकी छिन । खातुनलाई नेपाली जनता दलकी उम्मेदवार विणा देवीले भने ८०१ मतका साथ दोश्रो स्थानमा र ३२५ मतका साथ काँग्रेसका उम्मेदवार रहना खातुनले तेस्रो स्थानमा रहेकी छिन ।
यस्तै पर्साकै बहुदरमाइ नगरपालिकामा भने नेपाली काँग्रेसले अग्रता लिएको छ । बुधबार राति ९ बजे सार्वजनिक मत परिणाम अनुसार , प्रमुखमा काँग्रेसका उम्मेदवार नितेन्द्र साहले ८२१ मतका साथ पहिलो स्थानमा छन् । फोरम नेपालका उम्मेदवार पन्नालाल साहले ६३४ मतका साथ दोश्रो र राजपाका उम्मेदवार शिव पटेलले ६२६ मतका साथ दोश्रो स्थानमा छन् । उप–प्रमुखमा भने काँग्रेसका उम्मेदवार ८७८ मतका साथ पहिलो स्थानमा , रजपाका उम्मेदवार ६५६ मतका साथ दोश्रो स्थानमा र फोरम नेपालका उम्मेदवार ६१८ मतका साथ तेश्रो स्थानमा छन् ।
पर्साको पर्सागढी नगरपालिकामा भने एमालेले अग्रता लिइरहेको छ । बुधबार राति ९ बजे सम्मको मत परिणाम अनुसार प्रमुखमा एमालेका उम्मेदवारले २२१३ मतका साथ पहिलो स्थानमा रहेका छन् । काँग्रेसका उम्मेदवार भने १६८० मतका साथ दोश्रो स्थानमा र फोरम नेपालका उम्मेदवार १०९५ मतका साथ तेश्रो स्थानमा रहेका छन् ।
पर्सागढी नगरपालिकाको उप–प्रमुखमा भने काँग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् । उप–प्रमुखमा काँग्रेसका उम्मेदवार २१५७ मतका साथ अगाडि रहदा उनलाइ एमालेका उम्मेदवार १९९८ मतका साथ पछयाइरहेका छन् । तेश्रो स्थानमा भने ७०३ मतका साथ फोरम नेपालका उम्मेदवार छन् ।
पर्साको १० वटा गाउपालिकामा कुन दलको दबदबा?
पर्साको १० वटा गाउपालिका मध्ये मा ४ वटा गाउपालिकामा फोरम नेपालले अग्रता कायम गरिररहेको छ । एमाले २, नेपाली काँग्रेस र नेपाली जनता दलले १ ÷१ माओबादी केन्द्र २÷२ गाउपालिकामा अग्रता कायम राखेको छ ।
संघिय समाजवादी फोरम नेपालले धोबिनी, सखुवाप्रसौनी,छिपहरमाई र जगरनाथपुर गाउँपालिकामा अगाडी देखिएको छ । एमालेले पटेर्बासुगौली गाउँपालिका र बिन्दबासनी गाउँपालिकामा अगाडी छ । माओवादी केन्द्रले ठोरी र पकहामैनपुर गाउँपालिकामा लिड गरिरहेको छ । काँग्रेस जिरा भवानी गाउँपालिकामा अगाडी देखिएको छ । नेपाली जनता दल कालिकामाई गाउँपालिकामा अगाडी देखिएको छ ।
पर्सामा कुन पार्टीले कति वडा जित्यो ?
पर्साको १४ वडा स्थानिय तहमध्ये सबै भन्दा बढी ४ स्थानिय तहमा अगाडी रहेको संघिय सामाजबादी फोरम नेपालले ५ वटा वडामा जित हासिल गरेको छ ।यसैगरी नेकपा एमाले ३ र नेपाली कांग्रेसले २ वडामा जित हासिल गरेको छ । माओवादी केन्द्रले पनि २ वडामा जित हासिल गरेको छ भने नेपाली जनता दलले २ वटा वडामा जितेको छ । राजपा नेपालले १ वडा जित्दै खाता खोलेको छ । विस्तृत विवरण तल रहेको छ ।
एमाले
विन्दवासिनी गाउपालिकाको वडा नं.१
पकहामैनपुर गाउपालिकाको वडा नं.१
पटेर्वा सुगौली गाउपालिकाको वडा नंं.१
कांग्रेस
पर्सागढी नगरपालिकाको वडा नं.१ र २
माओवादी केन्द्र
ठोरी गाउपालिकाको वडा नं.१ र ३
फोरम नेपाल
पोखरिया नगरपालिकाको वडा नं.१
धोविनी गाउपालिकाको वडा नं.१
छिपहरमाई गाउपालिकाको वडा नं.१ र २
जगरनाथपुर गाउपालिकाको वडा नं.१
नेपाली जनता दल
पोखरिया नगरपालिकाको वडा नं.२
कालिकामाई गाउपालिकाको वडा नं.१
राजपा नेपाल
बहुदरामाई नगरपालिकाको वडा नं. १


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here