विमल श्रीवास्तवकाे उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग

1731

Share
  •  
  •  
  •  

वीरगन्ज २४ भदौ आचार संहिता उल्लघंन गरेको भन्दै वीरगंज महानगरपालिकाका प्रमुख पदका उम्मेदवार विमल प्रसाद श्रीवास्तवलाइ निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण मागेको छ । आयोगले वीरगंज महानगरपालिकाका उम्मेदवार श्रीवास्तवसहित फोरम लोकतान्त्रिक पार्टीका नेता कार्यकर्ताले आचार संहिता उलंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण मागेको हो ।
आयोगको शनिबार बसेको बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘‘निर्वाचन आचार संहिता उल्लघंन गरेवापत वीरगंज महानगरपालिकाका नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट उम्मेदवार श्री विमल प्रसाद श्रीवास्तवलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) बमोजिम निजको उम्मेदवारी किन रद्द गर्न नपर्ने हो २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने ।’’
पढ्नुहोस् आयोगले जारी गरेको विज्ञप्ति:

आयोगले जारी गरेको विज्ञप्तिका अनुसार नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट वीरगंज महानगरपालिकाका प्रमुख पदका उम्मेदवार श्रीवास्तवले पार्टी अध्यक्ष एवंम संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छदार र अन्य नेताको कार्यकर्तासहित गाडी तथा मोटरसाईकलहरुको र्याली निकालेर आचार संहिता उल्लघंन गरेका हुन् । आयोगले श्रीवास्तवलाइ आचार संहिता उल्लघंन गरेवापत किन उम्मेदवारी रद्द नगर्ने भनि चेतावनीयुक्त भाषामा २४ घण्टे स्पष्टीकरण मागेको छ ।
के छ निर्वाचन आयोग ऐन–२०७३ को दफा २३ को उपदफा (४) मा ?
निर्वाचन आयोग ऐन, २०७३ बमोजिम कुनै उम्मेदवारले आयोगको आचार संहिता उल्लघंन गर्नाले सम्पुर्ण निर्वाचन प्रक्रियामा असर पर्ने अवस्था आए उक्त उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने उल्लेख छ । तर रद्द गर्नअघि सम्बन्धित उम्मेदवारलाइ सफाइको मौका दिनुपर्ने ऐनमा भनिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (४) मा भनिएको छ, ‘‘कुनै उम्मेदवारले आयोगले बनाएको आचार संहिताको उल्लघंन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ, र धाँधलीरहित तवरबाट हुन सक्ने कुरामा आयोग विवस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ । यसरी उम्मेदवारी रद्द गर्न अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनु पर्नेछ ।’’


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here