×

वीरगन्ज २२ भदाै प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मेयर पदका लागि ३५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । असोज २ गते हुने स्थानीय तहको तेश्रो चरणको निर्वाचन कार्यकतालिका अनुसार आज बिहान ४ बजेसम्म चलेको मनोनयन दर्तामा वीरगन्ज महानगरपालिकाको मेयरमा ३५ र उपमेयरमा ११ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले पलखबरलाई जानकारी दिनुभयो । वीरगन्ज महानगरमेयरका लागि मनोनयन दर्ता गराउनेमा नेपाली काग्रेसको तर्फबाट अजय द्विवेदी , एमालेको तर्फबाट बसरुद्धिन अन्सारी, माओवादी केन्द्रको तर्फबाट रहबर अन्सारी, संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी, राष्ट्रिय जनता पार्टी (राजपा) का तर्फबाट राजेशमान सिंह र नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट विमल श्रीवास्तव रहेका छन् । यस्तै नेपाली जनता दलका तर्फबाट मनोज रौनीयार, राप्रपाका तर्फबाट अर्जुनबहादुर सिंह ठकुरी, नेकपा संयुक्तका तर्फबाट मुन्ना कुमार साह कानु, नेकपा मालेबाट लक्ष्मीराज न्यौपानेले पनि वीरगन्जको मेयरका लागि उम्मेदवारी दिएका छन् । वीरगन्जको मेयरका लागि स्वतन्त्रबाट पनि उम्मेदवारी परेको छ । स्वतन्त्रबाट उम्मेदवारी दिनेहरुमा महम्मद रजा , लक्ष्मण साह तेली, देवकीलाल साह कानु, विल्टु राउत बरई, छोटेलाल राउत कुर्मी, बिकाउ राउत अहिर लगायतका छन् । यसैगरी उपमेयरमा नेपाली कांग्रेसबाट शान्ति कार्की, नेकपा एमालेबाट सोफिया आचार्य, नेकपा माओवादी केन्द्रबाट दुर्गा क्षेत्री, संघीय समाजवादी फोरम नेपालबाट पिंकी यादव, राजपाबाट रम्भा मिश्रा, लोकतान्त्रिक फोरमबाट रिंकी यादव, नेपाली जनता दलबाट गौतली राउत र राप्रपा (प्रजातान्त्रिक) बाट सुमेश्वरनाथ उपाध्यायले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै उपमेयरमै स्वतन्त्रबाट अमोद गिरी र श्यामबाबु पटेल लगायतले पनि उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीका अनुसार २६६ जनाले वडा अध्यक्षको उम्मद्देवारी दिएका छन् । यस्तै, महिला सदस्यतर्फ २१३, दलित महिला सदस्यतर्फ १६० र खुल्लातर्फ ४६१ गरी ११४८ जनाले मेयर, उप–मेयरसहित बिभिन्न पदमा उम्मेद्दवारी दिएका सुवेदीले जानकारी दिनुभयो ।

Back to top