×

तीन महिना भित्र २ पटकको स्थानीय तहको निर्वाचनमा देशवासीले उल्लेखनीय सहभागिता देखाएका छन् । यता केवल प्रदेश २ निर्वाचनको पर्खाइमा रहेको छ । राष्ट्रिय जनता पार्टी, नेपाल (राजपा)ले निर्वाचनमा सहभागिता जनाए पछि निर्वाचन निश्चित भएको छ । यस प्रदेशको एक मात्र माहानगर र राजनीतिक महत्वका हिसाबले मुलककै रणनीतिक सहरको रुपमा रहेको वीरगन्जको नेतृत्वमा कुन दल वा कुन व्यक्तिको हातमा दिने र कसरि छनोट गर्ने बारे यस लेख मार्फत उठान गर्न खोजिएको हो ।

पछिल्लो समयमा राष्ट्रिय जनता पार्टीद्वारा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारण यस प्रदेशका ८ जिल्लामा तेश्रो पटकका लागि स्थानीय निर्वाचन सारिएको थियो । स्थानीय तहको निर्वाचनमा धेरै जना प्रतिस्पर्धाको मनसायमा छन् । वडादेखि नगर सम्म खालि रहेको नेतृत्वको स्थानमा २० वर्षपछि जननिर्वाचित प्रतिनिधि पुग्ने अवसर हो यो । हामीले आफ्नो वडादेखि नगर सम्मले सोही निर्वाचन बाट नेतृत्व प्राप्त गर्ने छ । र, प्रतिनिधीहरु प्रमुख कार्य भनेको विकासलाई गति दिनु, सबैका लागि अनुकूल वातावरण सिर्जना गर्नु र शान्ति स्थापना गर्नु लगायत हुनेछ । दशकौंको अथक प्रयास पछि अलि ढिलो भए पनि हामीले आफ्नो प्रतिनिधि छान्ने मौका पाएका छौं । जुन प्रतिनिधी संग हाम्रा धेरै आकांक्षा र अपेक्षाहरु हुने छन । सबै प्रतिनिधिले हाम्रा आकांक्षा र अपेक्षा जस्तो कार्य गर्ने प्रतिबद्धता जनाए पनि, केहीले मात्र हाम्रो ‘उम्मीद’ अनुसार कार्य गर्न सक्नेछन । त्यही भएर हामीले आफ्नो प्रतिनिधि छान्ने बेला धेरै कुशलता र बुद्धि प्रयोग गर्नुपर्ने हुन्छ ।

अब कुरा गरौँ वीरगन्ज महानगरपालिकाको । देशको प्रमुख नाका, देशलाई सबैभन्दा बढि भन्सार राजस्व तिर्ने द्वार, व्यापारिक राजधानी र अन्य धेरै नामले चिनिने ऐतिहासिक नगरको मेयरसंग हाम्रा धेरै अपेक्षाहरु हुनेछन् । विकास, अनुकुल वातावरण निर्माण, शान्ति सु–व्यवस्था कायम, र अन्य धेरै कुरा अपेक्षा गर्ने छौं । देशको आर्थिक भार थाम्ने सहरको विकास हामीले छानेको प्रतिनिधिको हाथमा हुनेछ । त्यो प्रतिनिधि गलत र भ्रष्ट भए हाम्रा सम्पूर्ण अपेक्षा र आकांक्षाहरु अधुरो रहने छन् । आन्दोलनको केन्द्रबिन्दु बनाइएको हाम्रो सहरले फेरी विकास र सकारात्मक परिवर्तनका लागि ५ वर्ष पर्खिनुपर्ने हुन्छ । फुटेको सहर र टुटेको विकासलाई जोड्ने र नबलेको बत्तिलाई बल्न हाम्रो मौका हो यो ।

हामीले यस स्थानीय निर्वाचनमा आफ्नो प्रतिनिधि छनोट गर्दा केही विशेष कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । सर्वप्रथम हामीले सम्पूर्ण उम्मेदवारहरुको पहिचान गर्न उनीहरुद्वारा जारी प्रतिबद्धतापत्रको अध्ययन गर्नुपर्छ । किनभने प्रतिबद्धतापत्रबाट मात्रै हामीले उम्मेदवारको सहर विकास, अन्य कार्यको योजना र नीति बारे जानकारी प्राप्त गर्न सक्नेछौं । त्यसपश्चात हामीले उम्मेदवारहरुको विगतका कामहरू र उम्मेदवारको व्यक्तिगत विशेषताहरुको अध्ययन गर्नुपर्ने हुन्छ । वीरगन्ज महानगरपालिकाको आगामी प्रमुख पदका प्रत्यासीमध्ये अधिक राजनीतिमा नयाँ छन भने केहि अनुहारहरु वीरगन्जमा अघीलो केहि महिना अगाडि देखि देखा पर्न थालेका छन् । स्थानीय निर्वाचनमा मत हाल्दा हामीले पार्टी विशेषभन्दा पनि व्यक्ति विशेषलाइ बढि महत्व दिनु पर्ने एउटा दृटिकोण छ भने, राजनीतिक दलको उसको आबद्धताले पनि महत्व राख्दछ । व्यक्तिसंग योजना भए पनि पार्टीको निर्देशन भोलीका दिनमा उसको लागि बाध्यकारी सरह हुने भएकोले दलीय प्रतिस्पर्धाको धरातल पनि उम्मेदवारको एउटा महत्वपुर्ण कस्सी हो । तसर्थ हामीले दलिय दवाबलाई थेग्न सक्ने व्यक्तिलाई आफ्नो पहिलो रोजाइ बनाउनु पर्छ ।

सम्पूर्ण विकास र अन्य सहरका परियोजनाहरु निर्वाचित व्यक्तिको हाथमा हुने भएकोले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा हामीले छनोट गरेको व्यक्तिले दैनिक रुपमा जनतासंग अन्तरक्रिया गर्नुपर्ने हुन्छ । अहिले उम्मेदवार बन्ने भएका व्यक्ति सामाज, समुदाय र जनसरोकारका अन्य सापेक्षाका यसअघि कतिको अन्तरक्रियामा रहेका छन त ? भन्ने प्रश्नको् उतर खोज्नुपर्ने हुन्छ । त्यही भएर हामीले आफ्नो अमुल्य मत खसाल्न अगाडि आफ्नो र आफ्नो सहरको भविष्य कस्को हाथमा दिंदै छौं भनेर पटक-पटक सोच्नु पर्ने हुन्छ । यदि हामि हाम्रो नेतृत्व कुशल व्यक्तितवको हाथमा परोस चाहन्छौं भने हामीले आफ्नो मत पनि कुशलतापूर्वक खसाल्नु पर्ने हुन्छ । मत खसाल्न अगाडि हामीले आफै भित्र उम्मेदवारको भूत र वर्तमानको सहि विश्लेषण गर्नु पर्ने हुन्छ, त्यो व्यक्तिले पहिला गरेको कार्य र अहिले गरिरहेको कार्यको स्पष्ट रुपमा जानकारी राख्नुपर्ने हुन्छ । हाम्रो एउटा सानो गल्तीले पाँच वर्षसम्म हामीलाई पुन विकासबाट बन्चित गराउन सक्छ र हाम्रा सम्पूर्ण सपनाहरु धरासायि पार्न सक्छ ।

वीरगन्ज महानगरको प्रमुखको प्रतिस्पर्धीका रुपमा कयौं नाम अगाडि आएका छन् जसमध्ये सम्भावना बोकेका थोरै मात्र छन् । वीरगन्ज महानगरको प्रमुख पदका अहिले सम्मका उम्मेदवार हुन् रहेकामध्ये नेपाली कांग्रेसका अजय कुमार द्विवेदी, संघीय समाजवादी फोरम नेपालबाट विजय कुमार सरावगी, नेकपा एमालेबाट बसरूद्दीन अन्सारी, माओवादी केन्द्रबाट रहबर अन्सारी र राष्ट्रिय जनता पार्टीबाट राजेशमान सिंह तथा विमल श्रीवास्तव प्रसंगमा छन् । अन्य सबै दलले आफ्नो मेयरको नाम सार्वजनिक गरे पनी राजपा भने राष्ट्रिय जनता पार्टी आफ्नै किचलोमा फसेको छ । सबैदलले निर्वाचनलाई केन्द्रित गर्दै आफ्नो प्रचार प्रसार समेत सुरु गरिसकेका छन् । निर्वाचनमा होमिएका दलहरुले सामाजिक संजालमा चित्ताकर्षक भिड्यो र पोस्टर बनाएर राख्ने देखि सडक नाटक, घरदैलो, पार्टी प्रवेश र अन्य धेरै कार्यहरु गरेर प्रचार प्रसार गर्दै छन् भने अर्को तिर स्थानीय जनताले निर्वाचनमा कसले बाजी मर्ने कुरालाई लिएर चियो चर्चा देखि सामाजिक संजालमा शब्द युद्ध गरिरहेका छन् ।

जसले जे गरे पनि हामि स्थानीय मतदाताले आफ्नो कुशलता प्रयोग गर्दै दृष्टिगत नेतृत्वकर्तालाई मात्रै आफ्नो मत दिनु पर्छ । भावनात्मक, प्रचार प्रसार बाट आकर्षित, पक्षपाती, अथवा प्रभावमा लागेर आफ्नो मत दान गर्नु हुदैन किनभने हाम्रो र नगरको प्रतिनिधित्व हाम्रो मतदानले निर्णय गर्छ । हाम्रो आबद्धता अथवा झुकाव जुन पार्टी तिर भएपनि स्थानीय निर्वाचनमा व्यक्ति विशेषलाई मात्रै महत्व दिनुपर्ने हुन्छ । अर्को तिर हामीले आफ्नो घर-समाजका व्यक्तिहरुलाई सहि तरिकाले मतदान गर्ने तरिका पनि सिकाउनु पर्छ किनभने विगतमा भएको स्थानीय निर्वाचानहरुमा गलत तरिकाले मतदान गरिएकोले अत्यधिक मतहरु बदर भएका थिए ।

आशु सर्राफ

(लेखक विद्यार्थी र सामाजिक अभियान्ता हुन् ।)

Back to top