×

 वीरगन्ज १८ भदौ वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा अन्डरवर्ल्ड डन दाउद इब्राहिमको लगानी रहेकाले त्यसलाई जफत गरी जानकारी गराउन भारतीय पक्षले नेपाल सरकारलाई आग्रह गरेको खुलासा भएको छ।

दक्षिणी छिमेकीको प्रमुख निशानामा छन्, वीरगञ्ज महानगरपालिकाको मेयरका एमाले उम्मेदवार बसुरिद्दिन अन्सारी । केही दिनयता आफूमाथि सुरक्षा खतरा बढेको अन्सारी स्वयं स्विकार्छन् । 

भारतीय दूतावासले २०६२ भदौ २२ मा परराष्ट्र मन्त्रालयलाई औपचारिक पत्र पठाई कलेजका सञ्चालक बसरुद्दिन अन्सारीमाथि छानबिन गरी कारबाही गर्न आग्रह गरेको हो। अन्सारी एमालेको तर्फबाट वीरगञ्ज महानगरपालिकाको मेयरका एक प्रत्यासी हुन्।

‘पर्साको वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा दाउदको ठूलो लगानी रहेको भरपर्दाे सूचना भारतीय सरकारलाई प्राप्त भएको हुँदा सो सम्बन्धमा छानबिन गरी संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्बाट पारित प्रस्ताव नम्बर १५२६ अनुसार कारबाही गरी जानकारी गराउनू,’ दूतावासले लेखेको पत्रमा उल्लेख छ।

नेपाल पक्ष राष्ट्र भएको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको प्रस्ताब नम्बर १५२६ मा उल्लेख छ, ‘यी व्यक्ति वा समूहले आफ्ना भूमिमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्जन गरेका सम्पत्ति, जायजेथा, तिनका आर्थिक स्रोत र तिनीहरुको नियन्त्रणमा अरुबाट भइरहेका कारोबार अविलम्ब जफत गरियोस्।'

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, दूतावासबाट आएको पत्र गृह मन्त्रालयमा ‘आवश्यक कार्याथ’ पठाइएको थियो। त्यसपछि शिक्षा मन्त्रालयका तत्कालीन सचिवको नेतृत्वमा गृह, अर्थसहित ६ वटा मन्त्रालयका सचिव छानबिनका लागि वीरगञ्ज पुगेका थिए। तर, सो टोलीलाई छानबिनको अधिकार नभएको भन्दै सर्वोच्च जाने बताएपछि टोली फर्केको अन्सारीले बताए।

‘कसैले दाउद त, कसैले अरबका व्यापारीको लगानी छ भनेर हल्ला गरिरहेका छन्। भारतीय दूतावासको आरोपबारे छानबिन गर्न आएको टोलीविरुद्ध म सर्वोच्च जान्छु भनेँ। त्यसपछि उनीहरु त्यत्तिकै फर्किए। मलाई क्लिन चिट पनि दिएनन्,’ अन्सारीले भने। एमालेबाट मेयरको उम्मेदवार हुने चर्चा चलेसँगै केही दिनयता आफूमाथि सुरक्षा खतरा बढेको उनले महसुस गरेका छन्।

‘६ दिनअघि पर्साकै परवानीपुरमा मलाई निकै समय एउटा मोटरसाइकलले पछ्यायो। मोटरसाइकलमा दुई जना सवार थिए,’ उनले भने, ‘विभिन्न नम्बरबाट जोगिएर हिँड्नुहोला भन्ने फोनहरु पनि आउन थालेका छन्।’ फोन गर्नेको परिचय सोध्दा उनीहरुले ‘हामी तपाईंको शुभचिन्तक हो’ भनेर जवाफ दिने गरेको उनले बताए। तपाईंका मेडिकल कलेजहरुमा दाउदको लगानी साँच्चै छैन त भन्ने प्रश्नमा उनले यति मात्र भने, ‘यो कुरा खुदालाई थाहा छ।’

अन्सारी वीरगञ्ज नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशक हुन्। उनी सम्बन्धनलाई लिएर पछिल्लो समय चर्को विवादमा आएको काठमाडौं नेसनल मेडिकल कलेजका पनि सञ्चालक हुन्। वीरगञ्जमा मेडिकल कलेज स्थापनाकालमा कांग्रेस निकट रहेका बसरुद्दिन अन्सारी संविधानसभाको दोस्रो निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट माओवादीको उम्मेदवार बनेर चुनावी मैदानमा उत्रिएका थिए।

चुनावी अभियानमा ठूलो रकम खर्चिए पनि उनी चौथो नम्बरमा अडिए। यसपटक पनि उनी माओवादीबाटै मेयरको उम्मेदवार बन्न चाहन्थे। तर, भारतीय पक्षले माओवादी सुप्रिमो पुष्पकमल दाहाललाई अन्सारीसँगको निकटता तोड्न दबाव दिएको एक स्थायी समिति सदस्यले बताए। अन्सारी वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाउने पक्का भएपछि दुई महिना अगाडि मात्र एमालेमा प्रवेश गरेका हुन्।

औपचारिक रुपमा एमालेमा प्रवेश नगरे पनि अन्सारीको एमालेका उच्च नेतृत्वसँग राम्रै सम्पर्क छ। पार्टीको कामले पर्सा, बारा वा रौतहट जिल्लामा आउने अधिकांश शीर्ष नेता होटलमा होइन, मेडिकल कलेजमा रहेको उनको सुविधासम्पन्न गेष्ट हाउसमै विश्राम गर्छन्। तत्कालीन प्रधानमन्त्री माधव नेपालले वीरगञ्ज नेसनल मेडिकल कलेजको अडोटोरियमको औपचारिक उद्घाटन गरेका थिए। राजनीतिक दलका नेता मात्र नभई प्रहरी प्रशासन र मन्त्रालयका सचिव पनि रात्रि विश्रामका लागि उनको गेष्ट हाउस पुग्छन्।

भारतीय पक्षले अन्सारीको मात्र होइन, भैरहवा मेडिकल कलेज, कमलपोखरीस्थित सिटी सेन्टर, विशालबजार भवनअगाडि पशुपति ज्वेलर्सको नाममा केही मारवाडीले सञ्चालन गरेका ज्वेलरी पसलमा समेत दाउद इब्राहिमको लगानी रहेकाले जफत गर्न आग्रह गर्दैै पत्र पठाएको ‘केन्द्रीय कारागारमा भएको घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोग, २०६७’ को प्रतिवेदनमै उल्लेख छ। उक्त आयोग नेसनल टिभीका तत्कालीन अध्यक्ष युनुस अन्सारीको हत्या गर्ने उद्देश्यले केन्द्रीय कारागारभित्रै भएको गोली प्रहारपछि गठन गरिएको हो। आयोगको अध्यक्षमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारी र सदस्यहरुमा तत्कालीन नायव महान्यायाधिवक्ता प्रेमराज कार्की र तत्कालीन प्रहरी नायव महानिरीक्षक कुवेरसिंह राना थिए।

‘भारतीय पक्षले नेपालीमाथि नक्कली नोटको कारोबारमा संलग्न रहेको, दाउद इब्राहिमसँग जोडिएको आरोप लगाउने र भारत राज्य प्रायोजित गुन्डाहरुले ती आरोप लगाइएका नेपालीको हत्या गर्ने गर्दै आएका छन्। भारतीय पक्षले भारतप्रतिकूल काम गरेको आरोप लगाएका नेपालीहरु कोही पनि बाँच्न पाएका छैनन्,’ प्रतिवेदनमा उल्लेख छ।

श्रोत http://www.nepallive.com/news-details/360/2017-09-03 बाट 

Back to top