×

वीरगन्ज १८ भदौ निकै लामो अन्योल र प्रतिक्षापछि हुन लागेको प्रदेश नम्बर २ को स्थानीय निर्वाचनले अहिले देशकै ध्यान तानेको छ। मधेसकेन्द्रित आन्दोलन गरेको राष्ट्रिय जनता पार्टी, नेपालसमेत समेत सहभागी हुने भएपछि आगामी असोज २ गते हुने चुनावका लागि चहलपहल निकै बढिसकेको छ। यसक्रममा मधेस आन्दोलनको 'इपिसेन्टर' मानिने वीरगञ्ज महानगरपालिकामा धेरैको ध्यान केन्द्रित छ। प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका, मधेस आन्दोलनको प्रमुख केन्द्रविन्दु तथा आर्थिक एवम् औधोगिक नगरीको रुपमा चिनिएको वीरगञ्ज महानगरको नेतृत्व हत्याउन दलहरुले सकेसम्मको बल लगाएका छन्। मधेसकेन्द्रित दलहरुका लागि त यो प्रतिष्ठाको विषय नै बनेको छ। वीरगञ्ज मुख्यतया प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको आधार क्षेत्र मानिन्छ। पहिलो र दोस्रो चरणमा चुनाव भएका ४ महानगरमध्ये १ मा मात्र जित हात पारेको कांग्रेस वीरगञ्ज महानगरपालिकामा जित हात पारेर एमालेसँग बराबरी (२ महानगर) जित हात पार्न चाहन्छ। चुनाव भएका ४ महानगरमध्ये २ मा एमाले तथा १/१ मा कांग्रेस र माओवादीले जित हात पारेका थिए। ६ महिना लामो नाकाबन्दी, २ वर्षसम्मको सडक आन्दोलन र भर्खरैको बाढी तथा डुबानको चपेटामा परेका जनतालाई आफ्नो पक्षमा पार्न दलहरु मधेस झरिसकेका छन्। गत साता ३ दिन बसेर एमाले वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल फर्किसकेका छन्। कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला पनि ३ दिनसम्म घरदैलोमा सहभागी भए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता वीरगञ्जमै छन्। महानगरमा दलहरुले पार्टीका प्रभावशाली नेतादेखि पैसावालहरुलाई टिकट दिएर महाभिडन्तमा उतारेका छन्।

कुन पार्टीबाट को उम्मेदवार ?

संघीय समाजवादी फोरम नेपालबाट उद्योगी सरावगी

संघीय समाजवादी फोरम नेपालले सामाजसेवीको रुपमा परिचित उद्योगी विजय सरावगीलाई महानगर प्रमुखको उम्मेदवारका रुपमा अघि सारेको छ। वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सरावगी ५ महिनाअघि मात्र फोरम नेपाल प्रवेश गरेका थिए। मधेस आन्दोलनमा सहभागी नभए पनि स्वच्छ छवि, सामाजसेवी व्यक्तित्व र जिल्ला अध्यक्ष प्रदीप यादवको साथका कारण सरावगी बलियो उम्मेदवारका रुपमा मैदानमा छन्।

कांग्रेसबाट पूर्व सभासद् द्विवेदी

कांग्रेसबाट पूर्व सभासद् द्विवेदी नेपाली कांग्रेसले जिल्ला सभापति एवम् पूर्व सभासद् अजय द्विवेदीलाई महानगर प्रमुखको उम्मेदवार बनाएको छ। नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका द्विवेदी २०४९ सालका निर्वाचित उप-मेयरसमेत हुन्। उनी २०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। प्रस्ट वक्ता तथा वौद्धिक नेताको रुपमासमेत चिनिएका द्विवेदी सादगी व्यक्तित्वका कारण चर्चित छन्। प्रमुखमा द्विवेदी र उपप्रमुखमा शान्ति कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेपछि कांग्रेसले आक्रामक प्रचार सुरु गरेको छ। कांग्रेस केन्द्रीय सदस्य कोइराला तीन दिनसम्म घरदैलोमा सहभागी भएर फर्किएका छन्।

एमालेबाट नवप्रवेशी अन्सारी

एमालेबाट नवप्रवेशी अन्सारी प्रमुख प्रतिपक्षी दल तथा पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बनेको एमालेले नवप्रवेशी बसरुद्दिन अन्सारीलाई महानगर प्रमुखको उम्मेदवार बनाएको छ। वीरगञ्जस्थित नेसनल मेडिकल कलेजका प्रबन्ध निर्देशकसमेत रहेका अन्सारी संविधानसभाको दोस्रो निर्वाचनमा वीरगञ्ज क्षेत्र नम्बर दुईबाट पराजित भएका थिए। माओवादीका तर्फबाट उम्मेदवारी दिएका उनी त्यतिबोला चौंथो स्थानमा खुम्चिए। स्थानीय तह निर्वाचनमा एमाले पहिलो शक्ति बनेपछि उनी माओवादी छाडेर हालै एमालेमा प्रवेश गरेका हुन्। लामोसमय एमाले राजनीतिमा खर्चिएका सुन्दर कुर्मी आफूलाई टिकट नदिएर नवप्रवेशीलाई दिएको भन्दै संघीय समाजवादी फोरममा प्रवेश गरिसकेका छन्। अन्सारी अहिले आक्रामक चुनाव प्रचारमा छन्। उनलाई नेता नेपाल तथा उपाध्यक्ष वामदेव गौतमलगायतका शीर्ष नेताले नै प्रचारप्रसारमा साथ दिइरहेका छन्।

माओवादीकाे युवा उम्मेदवार अन्सारी

प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले महानगर प्रमुखमा युवा उम्मेदवार रहबर अन्सारीलाई अगाडि सारेको छ। वीरगञ्जस्थित गण्डक अस्पतालका प्रबन्ध निर्देशकसमेत रहेका ३१ वर्षीय अन्सारी युवामाझ निकै लोकप्रिय छन्। उनी सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी चुनावी प्रचारमा सक्रिय छन्। उनले युट्यूब तथा फेसबुकमा भिडियोमार्फत आफ्ना एजेन्डाहरु मतदातासम्म पुर्‍याइरहेका छन्। साथै घरदैलोसहितका प्रचारका कार्यक्रमहरु पनि जारी छ।

राजपामा विवाद सिंह , श्रीवास्तव

गत वैशाखमा ६ दल मिलेर गठन भएको राजपा चुनावमा भाग लिने निर्णय गरे पनि कार्यकर्ता व्यवस्थापन गर्न नसक्दा आन्तरिक द्वन्द्वमा फसेको छ। गतसाता उम्मेदवार चयनका लागि आएका केन्द्रीय नेताहरुकै अगाडि महानगर प्रमुखको उम्मेदवारका आकांक्षी विमल श्रीवास्तव र राजेशमान सिंहका कार्यकर्ताबीच झडप भएको थियो। तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका श्रीवास्तव र राष्ट्रिय मधेस समाजवादी पार्टीका सिंहले वीरगञ्ज महानगर प्रमुखको उम्मेदवारका लागि दाबी नछाडेपछि ४ दिनदेखि वीरगञ्जको होटल सम्झनामा बसेको बैठक अनिर्णित छ। उम्मेदवार चयनका लागि केन्द्रले खटाएका पर्यवेक्षक विजय गुप्ताकै अगाडि गत शुक्रबार दुई पक्षले शक्ति प्रदर्शन गरेका थिए। शाहीकालमा भएको स्थानीय निर्वाचनसहित ४ पटक वीरगञ्जको मेयर भइसकेका श्रीवास्तव राजनीतिका पूराना खेलाडी हुन्। सिंह भने पछिल्लो मधेस आन्दोलनमा सक्रिय सहभागी भएकाले पनि युवामाझ लोकप्रिय छन्। २०५४ को स्थानीय निर्वाचनमा वीरगञ्ज- ३ को वडा सदस्यमा विजयी सिंह त्यसपछि नगरपरिषद् अध्यक्षमा विजयी भएका थिए। २०५७ देखि संविधानसभाको पहिलो निर्वाचनसम्म श्रीवास्तवको सहयोगीकारुपमा रहेका सिंह र श्रीवास्तव संविधानसभाको दोस्रो निर्वाचनमा एकअर्काको प्रतिद्वन्द्वीको रुपमा देखा परे। सिंह र श्रीवास्तबीच मत बाँडिदा कांग्रेसका राजेन्द्र अमात्यले बाजी मारे। यता, फोरम लोकतान्त्रिक र राप्रपाले भने उम्मेदवार टुंगो लगाउन सकेका छैनन्। राजपाका बागीलाई टिकट दिने रणनीतिमा दुवै दल रहेको स्रोत बताउँछ। वीरगञ्जलाई उपमहानगर बनाउने क्रममा सरकारले २०७१ सालमा ११ वटा गाविसलाई मिलाएको थियो। गाभिएका गाविसका बासिन्दाले आफूहरु पनि उपमहानगरवासी भएको भन्दै विकासको ठूलै आशा गरेका थिए। तर, त्यहाँ कुनै परिवर्तन आएन। मुलुकको मुख्य प्रवेशद्वार तथा औद्योगिक नगरी वीरगञ्ज पछिल्लो समय अव्यवस्थित बन्दै गएको छ। घण्टाघर, माइस्थान, आदर्शनगर तथा छप्कैयालगायतका क्षेत्रमा सवारीको अत्यधिक चापका कारण आवागमन नै कठिन बनिरहेको छ। भद्रगोल बन्दै गाएको महानगरलाई स्मार्ट बनाउने भन्दै दलहरु चुनावमा होमिएका छन्। कसले बाजी मार्ने हो त्यो थाहा पाउन भने करिब ३ साता प्रतिक्षा गर्नैपर्ला।

Back to top