×

वीरगन्ज,१४ भदौं । नेपालको संविधानले नागरिकलाई प्रदत गरेको अधिकारलाई बदलाको भावनाबाट ग्रसित भई नेपाल चिकित्सक संघ नारायणी शाखाले कुण्ठीत गर्ने प्रयास गरेको छ । उपचार सेवालाई नैसर्गिक अधिकार रहेको रुपमा नेपालको संविधान अंगिकार गरेपनि उक्त अधिकारलाई जनतालाई पाउनबाट रोक्ने काम नेपाल चिकित्सक संघ नारायणी शाखाले गरेको छ

एक चिकित्सकमाथि भएको हातपातको विषयलाई लिई भदौं १४ गते एक दिनका लागि वीरगन्ज महानगरपालिका भित्र रहेको सम्पुर्ण स्वास्थ्य संस्था, शिक्षण अस्पताल, नर्सि·होम बन्द गर्ने चिकित्सक संघले निर्णय गर्दै संविधानबाट प्रदान गरिएको उपचार सेवा पाउने अधिकारलाई कुण्ठीत गर्ने प्रयास भएको हो । वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालको आकस्मिक र आईसीयु सेवा वाहेक सबै सेवा बन्द गर्ने निर्णय गर्दै चिकित्सक संघले मंगलबार एक विज्ञप्ती प्रकासित गरेको छ । संघका नारायणी शाखाका अध्यक्ष डा. जगदिश आग्रवालको हस्ताक्षर रहेको उक्त विज्ञप्तीमा भदौं १० गते शनिबारका दिन विहान ९:३० बजेको समयमा वीरगन्जको एडभान्स अस्पतालमा कार्यरत रहेका डा. संजय कुमार अग्रवाललाई हातपात गरिएको र सो घटनामा संलग्नलाई पक्राउ गरी कार्यवाही गर्न स्थानिय प्रहरी प्रशासनलाई आग्रह गर्दा समेत कुनै सुनुवाई नभएको विरोधमा महानगरपालिका भित्रको सबै स्वास्थ्य संस्थालाई बन्द गर्न चिकित्सकहरुलाई आग्रह गरिएको छ ।

एडभान्स अस्पतालमा उपचारका लागि आएका विरामीको उपचारमा चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै चिकित्सक अग्रवाललाई कुटपिट गर्ने व्यक्तिलाई पक्राउ गरी कार्यवाही गर्न स्थानिय प्रहरी प्रशासनलाई आग्रह गर्दा समेत कुनै चासो नलिएको कारण बाध्य भएर सबै सेवा एक दिनका लागि ठप्प गर्नु परेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

संविधानले प्रदत गरेको अधिकारलाई चिकित्सकहरुले सहजै कुण्ठित गर्ने प्रयास गरेको बारे पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसंग बुझ्दा उहाँले चिकित्सकहरुले आह्वान गरेको बन्दका क्रममा कुनै व्यक्तिको ज्यान उपचार अभावमा गए कानुन बमोजिम कार्यवाही गर्ने जानकारी दिनु भयो । उहाँले दुई व्यक्ति बिच भएको झगडालाई लिई सर्वसाधारणको उपचार पाउने अधिकारलाई कुण्ठित गर्ने प्रयास भए नेपालको प्रचलित कानुन बमोजिम बन्द आह्वान कर्ताहरुमाथि कार्यवाही गर्ने दावी गर्नु भयो ।

उहाँले डाक्टरमाथि हातपात गरेको भन्दै चिकित्सकहरुले नै एक व्यक्तिलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएपनि घटनामा संलग्न चिकित्सक वा प्रतिनिधीलाई पटक पटक बोलाउदा समेत प्रहरी समक्ष उपस्थित नभई निवेदन समेत नदिएको कारण पक्राउ गरिएको व्यक्तिलाई १२ घण्टापछि जिम्मा जमानिमा छाडिएको बताउनु भयो । घटना बारे प्रहरीलाई अनुसन्धानमा सहयोग नगर्ने र उल्टै स्वास्थ्य सेवा अवरुद्ध गरी सर्वसाधारणको ज्यान जोखिममा पार्ने कामले चिकित्सकहरुको शाखालाई नै कमजोर पार्ने निमित्त प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई रहेको छ ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पताल सरकारी भएको र अन्यले संचालनका लागि सरकारबाटै इजाजत लिई संचालन गरेकाले संविधानले प्रदत गरेको अधिकारलाई चिकित्सकले कुण्ठित गर्ने प्रयास गरे त्यसको परिणाम चिकित्सक र स्वास्थ्य संस्थाको हकमा ठिक नहुने प्रष्ट पार्नुभयो ।

Back to top