×

राम सर्राफ वीरगञ्ज ११ भदौ मुलुककै मुख्य प्रवेशद्धार मानिएको वीरगञ्जको सडकको दुरावस्था सुधार नगरे यातायात सेवा ठप्प पार्ने चेतावनी यातायात व्यवसायीहरुले दिएका छन् । सडक दुरावस्थाका कारण यातायात र पारवहन अस्तव्यस्त बनेपछि व्यवसायीले स्थानीय प्रशासनलाई ज्ञापन बुझाउँदै यस्तो चेतावनी दिएका हुन् ।

बाईपास सडकको खाल्डाखुल्डीमा सवारीका साधन सञ्चालन गर्नु अत्यन्तै कठिन र जोखिमपूर्ण भएको व्यवसायीको भनाइ छ । गाडी चलाउँदा उपकरण बिग्रिने गरेको उनीहरुले बताए । नारायणी यातायात व्यवसायी सङ्घका क्षेत्रीय उपाध्यक्ष विनोदकुमार मानन्धरले सडक अवस्था तत्काल सुधार्न सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको बताए ।

नगरको सडक मर्मत सुधारको जिम्मा लिएका निकायले बेवास्ता गरेपछि यातायात तथा ढुवानी व्यवसायीले स्थानीय प्रशासन गुहार्नु परेको मानन्धरको भनाइ छ । व्यवसायीले वीरगञ्जको सडक मर्मतका लागि सम्बन्धित निकायमा पहल गरिदिन आग्रह गर्दै पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाएका हुन् । भदौ १५ गतेभित्र सडक मर्मत नभए यातायातका साधन नचलाउने व्यवसायीको चेतावनी छ ।

नारायणी यातायात व्यवसायी सङ्घ, तराई यतायात व्यवसायी सङ्घ, पृथ्वी राजमार्ग बस सञ्चालक समितिलगायतका आधा दर्जन व्यवसायीसम्बद्ध सङ्गठनले संयुक्तरुपमा प्रशासनको ध्यानाकर्षण गराएका हुन् । ज्ञापनमा प्रधानमन्त्रीको कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, सडक डिभिजन कार्यालय हेटौंडा, वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक र प्रहरीलाई बोधार्थ दिइएको छ ।

उपाध्यक्ष मानन्धरले सडक विभाग र वीरगञ्ज महानगरपालिकालाई पटकपटक आग्रह गर्दा सुनुवाई नभएपछि बाध्य भएर प्रशासनमा पुग्नु परेको बताए । बाइपास सडकमा मात्रै वीरगञ्ज नाकाबाट छुटेका १ हजार ट्रक, कण्टेनर, ट्याङ्कर र त्यत्तिनै सङ्ख्यामा अन्य सवारीका साधन गरी दैनिक करीब २ हजार साधनको आवागमन हुन्छ । नगरक्षेत्रभित्रको त्रिभुवन राजपथ र अन्य सम्पर्क सडकमा पनि सवारीको चाप उत्तिकै छ ।

मालवाहक, सवारीका ठूला साधन र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करको आवागमन बाईपास सडकबाट हुन्छ । त्रिभुवन राजपथको गण्डकदेखि रजतजयन्ती चोकसम्म करीब ५ किलोमीटर बाईपास सडक भत्किएर आवागमन अत्यन्तै असहज र जोखिमपूर्ण बनेको व्यवयासीको गुनासो छ । अस्तव्यस्त सडकका कारण नगर क्षेत्रभित्र सवारीका साधन चलाउनु अत्यन्तै कठिन र जोखिम भएको व्यवसायीहरुको भनाइ छ ।

Back to top