×

० तपाइँ बाढी प्रभावित क्षेत्रहरूको निरीक्षण गर्नुभयो, कस्तो अवस्था छ, बाढीपीडितहरूको ?

— बाढी प्रभावित क्षेत्रमा एकदमै विकराल स्थिति छ । बाढी प्रभावित क्षेत्रहरूमा राहत, औषधि लगायतका अत्यावश्यक सामग्रीहरू पुग्न सकेको छैन । बाढीपीडितहरूले आफैले खाना पकाएर खाने अवस्था पनि छैन । बाढीमा फसेका सर्वसाधारण जनताहरूको तत्काल उद्धारका लागि कोही पनि पुग्न सकेका थिएन, तर हामीले ऋण लिएर कोसी नदीबाट एउटा डुंगा किनेर पीडितहरूको उद्धार गरेका थियौं । यहाँ यस्तो विकराल स्थिति तर राज्यको पहुँचै छैन ।

० तपाइँहरूले बाढीपीडितहरूलाई सहयोग गर्ने के–कस्ता कार्यहरू गरिरहनु भएको छ ?

— हामीले आफ्ना स्वराजीहरूलाई ठाउँ–ठाउँमा खटाएका छौं । अहिले हामीले उद्धार तथा राहतको कार्यक्रमलाई प्राथमिकता दिएका छौं । जस्तै, विरामीहरूको उपचारका लागि अस्पतालसम्म पु¥याउने, उद्धार गर्ने लगायतका कार्यहरू हामीले गरिरहेका छौं ।

० बाढीपीडितका लागि अहिले तत्काल गरिहाल्नुपर्ने कार्य के हो जस्तो लाग्छ तपाइँलाई ?

— बाढीमा फसेकाहरूको तत्काल उद्धार गर्नुप¥यो । तिनीहरूलाई सुरक्षित ठाउँसम्म पु¥याउनुप¥यो । बाढीबाट बच्न विभिन्न ठाउँहरूमा अव्यवस्थित रूपले बसिरहेका जनताहरूको बसाईलाई तत्काल व्यवस्थित गर्नुपर्छ । महामारी फैलिनसक्ने सम्भावना रहेकोले सरकारले समयमै यसप्रति ठोस कदम चाल्नुप¥यो । खानाका लागि सामूहिक भोजनको व्यवस्था गर्नुप¥यो ।

० तराई–मधेशमा वर्षेनी डुबानको समस्या आइरहन्छ, तर सरकारले दीर्घकालीन समाधानका उपायहरू किन अपनाउन सकिरहेको छैन ?

— यसमा पक्कै पनि राज्यको नियति नै छ । राज्यले औपनिवेशिक शासन लादेको ठाउँमा सकेसम्म त्यहाँका मान्छेहरू मरून्, पीडित होस् भन्ने चाहन्छन् । त्यही कुरा मधेशमा भइरहेको छ । यसको रोकथाम गर्ने काम त नेपाल सरकारको हुनुपर्ने हो । दीर्घकालीन रणनीति ल्याउनुपर्ने हो । तर, त्यो कतै पनि देखिदैन । अहिले पनि राहतका लागि तथ्यांक संकलन गर्ने भनिएको छ, तथ्यांक संकलन गरेर पनि केही हुनेवाला छैन । भूकम्पपीडितको हकमा पनि त्यहीं भएको हो । यहाँ पनि त्यस्तै देखिएको छ । सरकारले दीर्घकालीन समाधानका लागि कुनै सोच नै देखिएन । जनतामा पनि अल्पसमयसम्मका लागि जाने र पछि बिर्सिने मनोदशा पनि देखियो । अहिले बाढी आयो भने केही छैन, राज्य पुगेन भनेर जनता भन्छन् तर बाढी समाप्त भइसकेपछि त्यहीं नेतालाई गएर भोट हाल्छन् र त्यहीं नेताको जयजयकार पनि गर्छन् । जवाफदेहिता माग्ने कुनै मतलब नै राख्दैन । त्यहींभएर कहीं न कहीं जनताको पनि कमीकमजोरी छ । बाढी हरेक वर्ष आइरहेकै छ भने दीर्घकालीन समाधान त जनताले पनि सोच्नुप¥यो नि ।

० डुबानको समस्या अन्त्य गर्नका लागि दीर्घकालीन योजना बनाउन जनताले के गर्नुपर्छ ?

— जनताले त आवाज मात्रै उठाउँछ, त्यो पनि प्रतिबन्ध छ कतिपय ठाउँहरूमा । मैले आफै आवाज उठाउँदा कतिवटा राज्यद्रोहको मुद्दा झेलेको सबैलाई अवगतै छ । यहाँ त बोल्न समेत छुट छैन भने गर्न के छुट हुन्छ । जनताले चन्दा उठाएर कल्भर्ट बनाउन सक्दैन । त्यसका लागि पनि सरकारको अनुमति चाहियो । भनेपछि जनताले प्राथमिक काम गर्न सक्ने भनेकै शसक्त तरिकाले आवाज उठाउने । नेपाल सरकारले यहाँ गर्नुप¥यो या त छोडेर जानुप¥यो । हामी कर तिर्दैनौं भनेर यसलाई आन्दोलनको रूपमा अगाडि बढाउनुपर्छ । राज्यको यस्तो रवैयाले प्रष्ट भएको छ कि त्यो मधेशको सरकार हुँदैहोइन ।

० जनताले कस्तो किसिमको नीति अवलम्बन गर्नुप¥यो ?

— कुनै पनि देशको जनता नै सर्वशक्तिमान हुन्छन् । राज्यसँग चाहे जति प्रहरी सेना भएपछि जनता नै ठूलो हुन्छ । जुन सरकारले राहत पनि बाँड्न सक्दैन भने त्यसलाई किन कर बुझाउने त ? त्यो प्रतिवाद गर्ने क्षमता जनतामा पनि हुनुप¥यो ।

० कर सरकारलाई नदिएर कसलाई दिनुपर्ने ?

— नेपाल सरकारले मधेशको समस्यालाई समाधान गर्न सक्दैन भने मधेशले आफ्नै सरकार बनाउँछ । जुन सरकार विपत्का बेला काठमाडौंबाट मधेश झर्नै सक्दैन त्यो सरकारलाई यहाँबाट किन मान्ने ?

० अधिकारका लागि यति आन्दोलन पनि भयो नि ?

— आन्दोलनबाट मधेशीले कुन अधिकार पायो ? राहत पाउनुपर्ने अधिकार पनि सरकारले खोसिरहेको छ, त्यो अधिकार होइन । डुबिरहेका मानिसलाई एक प्याकेट चाउँचाउँ र नुनका पाउनका लागि मधेशी अधिकार खोजेको हो ? यो कुरा सबैले मनन गर्नुप¥यो । सरकारका प्रतिनिधिहरूले दुई लाखको हेलिकप्टर चार्टर गर्छन् र १० हजारको कुहिएको चामल फालेर जान्छन् र त्यसलाई राहत भनेर प्रचार गर्छन् । यस्तो तरिकाले पनि राहत उद्धार हुन्छ कहीं ?

० अन्त्यमा, के भन्न चाहनुहुन्छ ?

— सरकारले जे जस्तो निर्देश दिएपनि केही पनि गर्न सकेको छैन । त्यसैले सरकारले भनेको कुरा हामीले मान्नुपर्ने आवश्यकता छैन । त्यसैले हामी अवज्ञा आन्दोलनको रूपमा अगाडि बढौं ।

Back to top