दैवले नि गरिबलाई नै हेप्दो रहेछ

1845

Share
  •  
  •  
  •  

वीरगंज, ८ भदौ बाढीमा एउटा छोरा गुमाएको शोकमै रहेकी रेणुदेवीलाई अर्कोछोरा कसरी बचाउने भन्ने चिन्ता थपिएको छ । गत साउन २७ गते आएको मुसलधारे पानी सहितको बाढीमा आफ्नो ज्यानै मायाँ मारेर बचाएको एउटा छोरा पनि अहिले विरामि परेर थलिएपछि रेणु चिन्तित बनेकीहुन् । रौतहटको ब्रह्मपुरी वडा नं.३ की रेणुको ६ बर्षिय छोरा अमित रामलाई उक्त दिन आएको बाढीले बगाएर लग्यो । बच्चाको अझै सम्म कुनै पत्तो लाग्न सकेको छैन ।
निकै चिन्तीत देखिएकी रेणुले भनिन् बाढीमा आफु पसेरै भएपनि तीनवटै छोरालाई बचाउन हरप्रयास गरें तर एउटालाई निर्दयी त्यो बाढीले बगाएर संगै लग्यो । मुटुको टुक्रा जस्तो नाबालकलाई लानुको सट्टा बरु आफुलाई लगेको भए हुन्थ्यो नि भन्दै उनि गहभरि आँशु बनाउँदै भक्कानिन् ।
रेणु आफै पनि शारीरिक रुपमा अपाङ्ग छिन् । बाढीले छोरो संगै घर पनि बगाएर लगेपछि अहिले बस्ने बास पनि छैन । घर नै लगेपछि खाने लाउने भन्ने त झनै हुने कुरै भएन । सामान्य मजदुरी गर्ने रेणुको श्रीमान् बाढीपछि मजदुरीको काम पनि गर्न नपाउँदा भोकभोकै बस्नु परेको छ । जिल्लाको निकै विकट ठाउँ भएकाले राहतका सामान पनि आफुहरुले ढिलागरि पाएको र त्यो पनि पर्याप्त नभएको उनको गुनासो छ । बाढीका कारण बस्न र खानको समस्या भए पछि ४ बर्षिय छोरा सुनिल राम सिकिस्त विरामि परे । निकै दिन सम्म सामान्य उपचार गरेपनि निको नभएपछि बच्चालाइ उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा ल्याएको उनले बताइन् । अहिले उपचारका लागि खर्च नहुँदा समस्या भएको छ । छोरोलाई ज्वरो आउने, पखाला लाग्ने, खानै मन नगर्ने गरेकाले धेरै गलेपछि स्थानियले अस्पताल लैजान सुझाव दिएकाले आफुले उपचार गर्न ल्याएको बताउँछिन रेणु । हामीजस्ता गरिब निमुखालाई उपचारमा पनि समस्या नै रहेछ, उनले गुनासो पोखिन । दवाइ, अस्पतालको खर्च, बस्न, खानको खर्च कसरी पु¥याउनु । बाढीले सबै डुबाएको छ, यस्तो बेला बुढाले पनि काम गर्न पाएका छैनन् । कहाँबाट ल्याउनु खर्च ? मलिन अनुहार बनाउँदै उनले भनिन् ।
दैवले पनि छानिछानि गरिबलाई नै समस्यामा पार्दोरहेछ, हामिले कसको के नै विगारेका थियौँ र ? आज यो दिन देख्नुप¥यो भन्दै उनि फेरी भक्कानिन् ।
४ बर्षिय बालक सुनिल नारायणी उपक्षेत्रीय अस्पतालको पेडियाट्रिक वार्ड, बेड नम्बर ३८ मा उपचारकालागि राखिएका छन् । निकै चुलबुले बालक सुनिल कहिले उठेर खेल्छ, कहिले बेडमै पल्टन्छ । उसलाई सुम्सुम्याउँदै एकोहोरो टोलाएर बस्छिन रेणु । बच्चा हेर्न आउनेहरुसंग उनले एउटै कुरा भन्छिन “यसलाई बचाउन सहयोग गरिदिनुस् ।”
अस्पतालमा उपचाररत बालकका लागी वीरगंज युवा समाजले खाजा तथा अन्य खर्चबापत लाग्ने रकम ब्यहोर्ने भएको छ । समाजका अध्यक्ष कमल चौगाई अस्पतालमा पुगेर बालकको अवस्था बुझ्दै उपचारका लागि लाग्ने सम्पूर्ण खर्च ब्यहोर्ने बताएका हुन् । यस्तै त्याहाँ पुग्ने अन्य पनि बालकको अवस्था हेरेपछि सहयोग नगरि फर्कनै सक्दैन । स्थानिय अफरोज आलमले पनि बच्चाको उपचारका लागि एक हजार रुपैयाँ सहयोग गरे । वीरगंज युवासमाजको सकृयता पछि अहिले अस्पतालले बच्चाको उपचार शुरु गरेको छ ।
बाढी र डुबानका कारण तराई मधेसमा गरि झण्डै १३२ जनाको मृत्यु भयो २० जना भन्दा बढी अझै बेपत्ता छन् । जसमध्ये रौतहटमा मात्रै १३ जनाले ज्यान गुमाए भने ३ जनाको अवस्था अझै अज्ञात छ । तिनै बेपत्ता मध्ये एक हुन रेणु देवीको छोरा ६ बर्षिय अमित राम ।
छोरा ठिक भएर पहिले जस्तै गरि उफ्रिँदै खेल्दै हिडेको हेर्ने रहर छ रेणुलाई । अस्पतालमा उपचाररत सुनिलको सहयोगका उनले सबैसंग अनुरोध गर्छिन ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here