×

वीरगन्ज २४ साउन स्वदेशी उद्यमीहरुले भारतीय लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । भारतीय महावाणिज्य दूतावास र वीरगञ्ज उद्योग वाणिज्य सङ्घले मङ्गलवार वीरगञ्जमा आयोजना गरेको ‘नेपाल–भारत व्यापार तथा लगानी प्रबद्र्धन गोष्ठी’मा भारतीय लगानीकर्तालाई नेपालका सम्भाव्य क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरिएको हो ।

भारतका सीमावर्ती बिहार, उत्तर प्रदेश र बङ्गाल राज्यका उद्यमी व्यवसायीहरुको सहभागिता रहेको कार्यक्रममा आयोजकहरुले नेपालमा लगानीको वातावरण र सम्भाव्यता उच्च रहेको भन्दै अहिले लगानी ल्याउने उपयुक्त समय भएको बताए । कार्यक्रममा नेपालमा लगानीका सम्भावना र यसका आयामका बारेमा जानकार जगदीशप्रसाद अग्रवालले नेपालमा समग्र भारतका लगानीकर्तालाई आह्वान गर्नुभन्दा भारतको ४० प्रतिशत जनसङ्ख्याको बासोबास रहेको ३ प्रदेशका लगानीकर्तालाई नेपालमा ल्याउनु उपलब्धि हुने बताए ।

विश्लेषक अग्रवालले समग्र वैदेशिक लगानीमा भारतको अंश बढी भए पनि पछिल्लो समय भारतको लगानी घटेको भन्दै भारतबाट हुने वार्षिक ६ खर्ब रुपैयाँभन्दा बढीको आयात र त्यसमा वार्षिक १५ प्रतिशतको वृद्धिको तथ्यले लगानीको सम्भावना भएको स्पष्ट पारे । ‘नेपालमा प्रतिव्यक्ति बजेट खर्चको आकार भारतको भन्दा बढी छ । यस कारण पनि लगानीकर्ताका लागि नेपाल राम्रो बजार हो,’ उनले भने । पछिल्लो समय नेपालमा लगानीका लागि भौतिक र कानूनी पूर्वाधारमा तीव्र गतिमा सुधार आएकाले लगानीको वातावरण बनेको दाबी अग्रवालको छ । नेपालको बजार र आपूर्तिका विकल्पमा विविधिकरण भइरहेकाले भारतीय लगानीकर्ता यसप्रति गम्भीर हुनुपर्ने उनको धारणा थियो ।

महावाणिज्यदूत बीसी प्रधानले नेपालको शिक्षा, स्वास्थ्य, पारवहनलगायतका क्षेत्रमा लगानीको पर्याप्त सम्भावना रहेको बताए । उनले नेपालको ६० प्रतिशत व्यापार भारतसितै रहे पनि पारवहनमा अझै पनि समस्या रहेको उल्लेख गर्दै कोलकाता बन्दरगाहमा आयातकर्ताले वर्षेनी अर्बौ रुपैयाँ जरीवाना तिर्नु परेको बताए । महावाणिज्यदूत प्रधानले वीरगञ्जमा निर्माण भएको नेपाल–भारत एकीकृत जाँच चौकी सञ्चालनमा आएपछि व्यापार सहज हुने विश्वास व्यक्त गर्दै अहिले लगानीका लागि उपयुक्त समय भएको दाबी गरे ।

सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले सीमावर्ती भारतीय राज्यहरुसित आर्थिक सहकार्य अनिवार्य भएको बताए । अध्यक्ष शर्माले सीमावर्ती भारतीय राज्य र नेपालका व्यवसायीबीच व्यक्तिगत सम्बन्ध राम्रो भए पनि संस्थागत सम्बन्ध कायम नहुँदा आर्थिक आयामहरु शिथिल बनेको तर्क गरे । कार्यक्रमका संयोजक एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका सचिव मनोजकुमार दासले नेपालको भौगोलिक र भौतिक विशिष्टता नै लगानीको महत्वपूर्ण आधार भएको बताए । उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र पूर्वाधारका क्षेत्रमा लगानीको सम्भाव्यता र प्रतिफल तुलनात्मक बढी भएको बताए । डा. विश्वेश्वरप्रसाद यादवले सरकारले कृषिलाई प्राथमिकताका राखेकाले कृषिमा आधारित उद्यममा लगानीको सम्भावना बलियो भएको तर्क गरे ।

सहभागी भारतीय उद्यमीहरुले नेपालमा लगानीका सम्भावना र कानूनी प्रावधानका बारेमा जिज्ञाशा राखेका थिए । उनीहरुले आफूहरु नेपालमा लगानी ल्याउन इच्छुक रहेको बताउँदै लगानी आदानप्रदानमा जोड दिए । बिहारका प्राध्यापक नवलकिशोर चौधरीले नेपाल र भारतबीच लगानी आदानप्रदान हुनुपर्ने बताउँदै यसबाट दुवै देशलाई फाईदा पुग्ने दाबी गरे ।

कार्यक्रममा भारतका ३० जना उद्यमी व्यापारीसहित एक सयजना लगानीकर्ताको सहभागिता थियो ।
Back to top