×

वीरगन्ज २३ साउन, स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत आउँदो असोज २ गते प्रदेश नम्बर २ मा हुन गइरहेको निर्वाचनको मिति नजिकिँदै जाँदा एकमात्र महानगर वीरगञ्जको प्रमुख को बन्ला भन्नेमा सबैको चासो केन्द्रित भइरहेको छ ।

यो पदमा पुग्न दलहरुबीच मात्र नभएर अन्तरपार्टी प्रतिस्पर्धा पनि तीव्र देखिएको छ । सबैजसो राजनीतिक दलभित्र चर्चामा रहेका प्रत्यासीहरु मेयर पदको टिकट आफ्नो हातमा पार्न दौडधूप गरिरहेका छन् । पार्टीका आफूनिकट नेता र प्रभाव केन्द्र खुशी पार्ने होड नै देखिएको छ ।

नगरमा राजनीतिकरुपमा राम्रो पकड रहेको भनिएको नेपाली कांग्रेसमा टिकटका लागि आपसी प्रतिस्पर्धा पनि कडा देखिएको छ । पार्टी अध्यक्ष अजयकुमार द्धिवेदीले मेयरमा लड्न अनिच्छा देखाएपछि दोस्रो तहमा स्थानीय नेताहरुबीच प्रतिस्पर्धा बढेको छ ।

प्रत्यासीमध्ये सबैभन्दा बढी चर्चा र सम्भावना विजय सर्राफको देखिन्छ । उनलाई उमेदबार बनाउने करीब करीब निश्चित भएको नेपाली कांग्रेस श्रोतले जनाएको छ ।

तेस्रो चरणमा असोज २ गते हुने स्थानीय तहको निर्बाचनमा सर्राफले टिकट पाउने निश्चित भएको, तर आधिकारिकता दिनमात्रै बाँकी रहेको स्रोतले जनाएको छ । उमेदबार छनौटका लागि बिशेष कार्यदल बनाएको नेपाली कांग्रेसले केही दिनमा सर्राफको नाम पेश गर्ने नेपाली काग्रेस श्रोतले जनाएको छ ।

पर्सा काग्रेसको तर्फवाट मेयरको टिकट पाउने चर्चामा रहेका द्धिवेदीले केन्द्रीय नेतृत्वसमक्ष आफू नलड्ने बताइसकेकाले केन्द्रीय नेतृत्वले सर्राफलाई लडाउने सोचमा पुगेको बताइएको छ । यद्यपि आकांक्षी उमेदबारका रुपमा रहेका ओमप्रकाश शर्मा, प्रकाशकुमार उपाध्याय र रामरुप कर्मीले पनि आआफ्नो दाबी कायमै राखेका छन ।

 

Back to top