×

वीरगन्ज २२ साउन वीरगञ्जस्थित नेशनल मेडिकल कलेजले आईओएमबाट एमडीको लागि दोस्रो मेरिट लिस्टमा नाम निकालेका विद्यार्थीहरुसँग थप रकम माग गर्दै भर्ना लिन अस्वीकार गरेको छ । वीरगञ्ज महानगरपालिकाको मेयर पदका दाबेदार बसुरुद्दिन अन्सारी यो कलेजका प्रबन्ध निर्देशक हुन् । उनी एमालेबाट मेयर पदकाे टिकटका दाबेदार हुुन् ।

कलेजले त्रिभुवन विश्वविद्यालयले निर्धारण गरेको शूल्यक ३१ लाख बाहेक थप १६ लाख रकम विद्यार्थीसँग माग गरेको हो । त्रिविले एमडीको लागि अधिकतम शुल्क ३१ लाख रुपैयाँ लिन पाउने सीमा तोकेको छ ।

थप शुल्क माग गर्दै विद्यार्थीलाई भर्ना लिन अस्वीकार गर्नु त्रिविको नियम विपरीत हो । बढी शुल्क लिनु सर्वोच्च अदालतले दिएको आदेश विपरीत समेत हो । सर्वोच्चले साउन ५ गते मेरिट लिस्टको आधारमा भर्ना लिनुपर्ने र त्रिविले तोकेको शुल्कभन्दा बढी रकम कलेजले लिन नपाउने फैसला १३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको एक प्रमुख मागमध्ये मेडिकल कलेजले विद्यार्थीहरुलाई मेरिटका आधारमा भर्ना लिनुपर्ने भन्ने पनि हो ।

दोस्रो मेरिट लिस्टमा नाम भएका ८ विद्यार्थीले शुक्रबार कलेज प्रशासनसँग भर्नाको लागि सम्पर्क गरे पनि उनीहरुलाई थप शुल्क नदिए भर्ना नलिने भन्दै फर्काइएको थियो ।

‘भर्ना हुन गएका हामी त्यसै काठमाडौं फर्कियौं, कलेजले थप १६ लाख मागेको छ’, दोस्रो मेरिट लिस्टमा नाम भएका एक विद्यार्थीले नाम नखुलाउने शर्तमा भने ।

उक्त १६ लाख रुपैयाँ कलेजले सामुदायिक शुल्क, खेलकुद, परीक्षा शुल्क, पुस्तकालय, तालिमजस्ता बिषयमा राखेर लिन खोजेको हो ।

पलिलो मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थीहरु भर्ना नभएपछि आईओएमले वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा भर्नाको लागि दोस्रो मेरिट लिस्टबाट १७ जनाको नाम सिफारिस गरेको थियो । आईओएसम बाहेक त्रिविमा एमडी/एमएस कार्यक्रम सञ्चालनको लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र भैरहवास्थित यूनिभर्सल कलेज अफ मेडिकल साईन्सले मात्रै आवद्धता लिएका छन् ।

असारमा आईओएमले मेरिटको आधारमा प्रथम सूची निकाल्दा दुवै कलेजले आफूले पहिल्यै विद्यार्थी भर्ना गरिसकेको भन्दै ती विद्यार्थीलाई भर्ना लिन अस्वीकार गरेका थिए । कलेजले भर्ना लिएका विद्यार्थीहरुबाट ८० लाख रुपैयाँसम्म असुलेका थिए । लगत्तै, आईओएमको चेतावनी र सर्वोच्च अदालतको आदेशपछि दुवै कलेज मेरिट लिस्टमा भएका विद्यार्थीलाई भर्ना लिन तयार भएका थिए ।

मेरिटको आधारमा विद्यार्थी भर्ना लिंदा आफूलाई अन्याय हुने भन्दै यी कलेजमा पहिल्यै भर्ना भएका विद्यार्थीले हालेको रिट सर्वोच्चले खारेज गरिदिएको थियो । सर्वोच्चको यी निर्णयले मेडिकल कलेजमा मेरिटको आधारमा भर्ना हुन विद्यार्थीलाई बाटो खोलिदिएको थियो ।

आईओएसमका डीन जगदीश प्रसाद अग्रवालले आफूलाई विद्यार्थीबाट बढी शुल्क मागेको बिषयमा कुनै उजूरी नआएपनि विद्यार्थीसँग तोकिएको भन्दा बढी शुल्क लिनु गैरकानुनी भएको बताए । ‘हामी घटनाबारे तत्काल छानबिन गर्छौ । मेरिट लिस्टमा भएका विद्यार्थीलाई तोकिएको शुल्क भित्रै भर्ना लिनुबाहेक मेडिकल कलेजसँग अन्य विकल्प छैन्’, उनले भने ।

नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक अन्सारीले विभिन्न शीर्षकमा खर्चको लागि विद्यार्थीसँग थप शुल्क लिने गरिएको बताए । श्रोत कान्तिपुर वाट

Back to top