×

वीरगन्ज १५ साउन अहिले चलनचल्तीमा रहेका खाना पकाउने ग्यासका फलामे सिलिण्डर जोखिमयुक्त भएपछि व्यवसायीले त्यसको विकल्पमा कम्पोजिट फाइबर ग्यास सिलिण्डर आयात गर्न थालेका छन् । फलामबाट बनेका सिलिण्डर पड्किएर दुर्घटना बढ्न थालेकाले सरकारले कम्पोजिट सिलिण्डरको प्रयोगलाई बढावा दिने नीति लिएको छ । सरकारले निजीक्षेत्रलाई गुणस्तरको मापदण्ड पूरा गरेर यस्ता सिलिण्डर आयातको अनुमति दिएको छ ।

वीरगञ्जको कर्मम भाग्यम कम्पनी प्रालिले भारतबाट यस्ता सिलिण्डर स्वदेशी बजारमा भित्र्याएको छ । कम्पनीले भारतको द सुप्रिम इण्डष्ट्रीज लिमिटेडले उत्पादन गरेका कवज ब्राण्डका कम्पोजिट सिलिण्डर आयात गरेको हो ।

कम्पनीका प्रबन्ध निर्देशक किशोरीलाल टिवडेवालले अहिले साढे १४ किलो क्षमताका सिलिण्डर बजारमा पु¥याइएको बताए । अहिलेसाढे १४ किलो क्षमताका सिलिण्डर भित्र्याएका छौं,’ प्रबन्ध निर्देशक टिवडेवालले भने ‘५ देखि १९ किलोसम्म ग्यास भर्न सकिने सिलिण्डर ल्याउने योजना छ ।’

अहिले बजारमा प्रचलनमा रहेका फालामे सिलिण्डरको तुलनामा कम्पोजिट सिलिण्डर सुरक्षित हुने बताइएको छ । यो सिलिण्डर फाइबर ग्लासबाट बनेको र आवरण प्लाष्टिकको भएकाले कुनै पनि कारणले विष्फोट नहुने दाबी टिवडेवालले गरे । ‘कुनै कारणले आगलागी भइहालेमा यो सिलिण्डर पग्लिएर जान्छ । तर, पड्किदैन,’ उनले भने ।

फाइबरबाट बनेको सिलिण्डर पारदर्शी हुने भएकाले ग्याँसको परिमाण उपभोक्ताले बाहिरबाटै देख्न सक्छन् । जसका कारण ग्यासको तौलमा उपभोक्ता ठगिने सम्भावना पनि नहुने व्यवसायीको भनाइ छ ।

कम्पोजिट सिलिण्डरको तौल फलामका सिलिण्डरको तुलनामा आधामात्र हुन्छ । यसबाट ढुवानी सजिलो हुने आयातकर्ताले बताए । तुलनात्मक कम तौलका कारण नेपालका दुर्गम क्षेत्रमा पु¥याउन सजिलो हुने टिवडेवालले बताए । साढे १४ किलो ग्यास अटाउने यस्तो सिलिण्डरको तौल साढे ७ किलो हुन्छ । फलामका सिलिण्डरको तौल १४ देखि १५ किलो हुने व्यवसायीहरु बताउँछन् ।

Back to top