×

वीरगंज १० साउन, नेपाल कम्युनिष्ट पार्टी एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले प्रदेश नं. २ को असोज २ गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेलाई जसरी भए पछि बिजयी बनाउनु पर्नेमा जोड दिनु भएको छ ।

नेकपा एमाले वीरगंज महानगर समितिले नेशनल मेडिकल कलेज वीरगंजमा आयोजना गरेको नगर स्तरिय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नु हुदै नेता नेपालले निर्वाचन लोकतन्त्रको प्राणवायु भएको बताउनु भयो । लोकतन्त्रलाई बलियो बनाउनको लागि अन्य प्रदेश जस्तै २ नं. प्रदेशमा पनि नेकपा एमालेलाई बिजयी बनाउन आग्रह गर्नु हुदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका नेता नेपालले बिगतका दिनहरुमा नेकपा एमालेले माओवादी लगायतका पार्टीलाई जसरी चुनावमा सहभागी गरायो त्यसैगरी राजपालाई पनि चुनावमा सहभागी गराउनेमा जोड दिनु भयो । जनताको दुःख, सुखमा साथ दिएको कारण आज नेकपा एमाले सबै भन्दा शक्तिशाली पार्टी भएको दाबी गर्नु हुदै नेता नेपालले देशको विभिन्न प्रदेशहरुमा नेकपा एमाले जसरी एकताबद्ध भएर बिजय हासिल गरेको छ त्यसैगरी प्रदेश नं. २ र वीरगंज महानगरपालिकामा एकताबद्ध भएर पार्टीलाई जिताउनका लागि कार्यकर्ताहरुलाई निर्देशन समेत दिनु भएको थियो । नेकपा एमाले सरकारमा रहेको बेला कृषि आधुनिकरण परियोजना, जनता आवास कार्जक्रम, बृद्धबृद्धाको लागि पेनशनको व्यवस्था, निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल, फास्ट ट्रयाक लगायतका विभिन्न अमुल्य कामहरु गरेकोले जनताले एमालेलाई विश्वास गरेको बताउनु हुदै उहांले प्रदेश नं. २ मा पनि चुनाव जित्नका लागि अभियान नै थालि सकेको बताउनु भयो ।

त्यसैगरी नेकपा एमालेका पोलिट व्युरो सदस्य नागेन्द्र चौधरीले स्थानिय तहको निर्वाचनमा पर्साका सबै तहमा नेकपा एमालेलाई जिताउनकै लागि निर्वाचन कार्यालय खोली अभियान चलाएको बताउनु भयो । बेरोजगारी समस्या, महिला हिंसा, दलितहरुमाथि बिभेद लगायतको विरुद्ध पार्टीले अहोरात्र काम गरिरहेको बताउनु हुदै नेता चौधरीले मधेसमा विभिन्न आन्दोलनका कारण वीरगंज लगायत मधेस नै पछाडि परेको बताउनु भयो । पर्सामा रहेका एक महानगरपालिका, एक नगरपालिका र एगार वटा गाउँपालिकामा एमालेलाई बढि भन्दा बढि मतले जिताउनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा एमालेका नेता एवं नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारीले सबै नेता कार्यकर्ताहरुले आ–आफनो वडामा कडा मेहनत गरी जनताको सुख, दुःखमा साथ दिनु पर्नेमा जोड दिनु भएको थियो । वीरगंज महानगरपालिकाका मेयरका उम्मेदवार समेत रहनु भएका अंसारीले वडाहरुमा कुनै समस्या आएमा पार्टी नेतृत्वसंग छलफल गरी अगाडि बढनु पर्नेमा जोड दिनु भएको थियो ।

पार्टीका वीरगंज महानगर समितिका अध्यक्ष उसमान अंसारीको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रिय सदस्य रामचन्द्र साह, दिनेश राई, सांसदहरु बिचारी यादव, राजकुमार गुप्ता, जयप्रकाश थारु, जुनैद अंसारी, पार्टी पर्सा संयोजक प्रभु हजरा, पार्टी पर्सा सचिवालय सदस्य विश्वम्भर शर्मा, मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय उपाध्यक्ष बाबुजान अली, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जारा, किशोरी कुशवाहा, प्रेमा पौडेल, गंगा खडका लगायतको सहभागीता रहेको थियो ।

सो अवसरमा नेपाली काँग्रेस, माओवादी केन्द्र, राजपा लगायतका विभिन्न परित्याग गरी करिब ५० जना नेकपा एमालेमा प्रवेश गरेका थिए । रामाधार प्रसाद चौरसिया, हरिशंकर महतो, हिरा साह तुरहा, सनु राउत कुर्मी, प्रभात चौरसिया, संजय पटेल, संदिप चौरसिया, संदिप पटेल, बिरनारायण चौरसिया लगायत नवप्रवेशीहरुलाई पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले टिका लगाएर स्वागत गर्नु भएको थियो ।

Back to top