×

वीरगंज, ४ साउन पर्सामा प्रहरीले आलुको बोरा भित्रबाट ठुलो परिणाममा बन्दुकको गोली बरामद गरेको छ। गोली सहित दुई जना मानिसलाइ पनि प्रहरीले पक्राउ गरेको छ। पर्साको मनवा र रंगपुर टाँडीबिचको सडकमा मंगलबार साँझ ना ४५ प ९११६ नम्बरको मोटरसाइलकमा सवार रहेका दुई जनाले बोकेको आलुको बोरा प्रहरीले चेकजाँच गर्दा बोराभित्र १२ बोरको बन्दुकमा लाग्ने ५० थान गोली बरामद भएको हो। बन्दुकको गोली सहित पर्साको साविकको गाविस बागवाना ७ मनवा टोल हाल पर्सा गढी गाँउपालिका वडा नम्बर १ का ५५ वर्षीय क्षेत्री चौधरी र त्यही ठाँउ घर भएका मोटरसाइकल चालक २१ वर्षीय रामकिसुन चौधरीलाई पनि पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक सुदीप गिरीले बताउनुभयो। दुवै जनालाइ प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो। मोटरसाइकलमा सवार दुबै जनाले शंकास्पद व्यवहार देखाएपछि प्रहरीले चेकजाँच गर्दा आलुको बोरा भित्र गोली बरामद भएको प्रहरी उपरीक्षक गिरीले बताउनुभयो।

गिरीका अनुसार क्षेत्री र रामकिसुन गाँजा र काठ तस्करीमा संलग्न गिरोह रहेको र उनीहरुले गाँजा र काठ तस्करीमै प्रयोग गर्नका लागि भारतबाट गोली लिएर आएको तथ्य खुलेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। पत्रकार सम्मेलनमा क्षेत्रीले यसअघि २०६७ साल असार ३ गते काठ तस्करीको क्रममा वन रक्षकलाई कुटपिट गरी घाइते बनाएको जानकारी दिनुभयो।

Back to top