×

वीरगन्ज २, असार । संघीय समाजवादी फोरम नेपालमा पर्सा वीरगन्ज एमालेका प्रभावशाली नेता सुन्दर प्रसाद कुर्मी प्रवेश गरेका छन् । विरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमालेको भातृ संगठन लोकतान्त्रिक मधेसी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधरण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर खादा ओडाएर नेता कुर्मीलाई पार्टीमा स्वागत गरेका छन् । सो अवसरमा फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिवद्धय रामसहाय यादव र रणध्वज कन्दङ्वा, सांसद अभिषेक प्रताप शाह र फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको विशेष उपस्थिति रहेको थियो ।

Back to top