×

वीरगन्ज, १ साउन निर्वाचन आयोगले आइतबार देखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेको छ । प्रदेशसभा र प्रतिनिधिसभा सदस्य चुनावका लागि निर्वाचन आयोगले आगामी १५ गतेसम्मका लागि मतदाता नामावली संकलन अभियान शुरु गरेको हो । निर्वाचन आयोगले सूचना निकालेर १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगाना लगायत विवरण फरक परेकाहरुलाई आफ्नो स्थायी ठेगाना भएको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ । मतदाता नामावलीमा नाम दर्ता गर्न वा सच्याउन जाँदा आफ्नो नागरिकताको प्रमाणपत्र लिएर जानुपर्ने निर्वाचन आयोगले जनाएको छ । यसअघि नै नाम दर्ता गराएका र नामावली सच्याउन नपर्ने व्यक्तिले भने फेरि पनि नाम दर्ता गराउन नपर्ने निर्वाचन आयोगले स्पष्ट पारेको छ ।यसैबिच पर्सामा पनि आइतबार देखि मतदाता नामावली सकंलन अभियान शुरु गरिएको छ । वीरगन्जमा रहेको जिल्ला निर्वाचन कार्यालय र जिल्ल प्रशासन कार्यालय गरि दुइ स्थानमा आइतबार देखि फोटो सहितको मतदाता नामावली संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख हुमनाथ पराजुलीले बताउनु भयो । मतदाता नामावलीमा नाम दर्ता गर्न जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार उल्लेख्य संख्यामा सेवाग्राहीहरुको भिड लागेको हाम्रा सहकर्मी आर के पटेलले जनाएका छन् । यसैबिच नेपाली काँग्रेसले पर्साका पाच वटै निर्वाचन क्षेत्रमा मतदाता नामावली संकलन केन्द्र स्थापना गर्न माग गर्दै आइतबार पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेलाइ ज्ञापन पत्र बुझाएको छ । पाँच वटै निर्वाचन क्षेत्रका काँग्रेस सभापतिहरु सम्मिलित टोलीले आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी घिमिरेलाइ ज्ञापन पत्र बुझाएको हो । जिल्ला सदरमुकाममा मात्रै मतदाता नामावली संकलन केन्द्र स्थापना गरिएका कारण दुर दराजमा रहेका स्थानीयवासीलाइ अपायक भएको भन्दै काँग्रेसले पर्साका पाच वटै निर्वाचन क्षेत्रमा मतदाता नामावली संकलन केन्द्र स्थापना गर्न माग गरेको हो । ज्ञापन पत्र बुझाउन गएको टोलीमा काँग्रसेका क्षेत्र नम्बर १ का सभापति विजय सर्राफ , क्षेत्र नम्बर २ का सभापति अरविन्द गुप्ता , क्षेत्र नम्बर ३ का सभापति गम्भिरा साह , क्षेत्र नम्बर ४ का सभापति बब्लु श्रीवास्तव , क्षेत्र नम्बर ५ का सभापति रमेश पाण्डे र वीरगन्ज नगर सभापति भोला प्रसाद कलवारको सहभागीता रहेको थियो ।

Back to top