×

वीरगन्ज २४ असार उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी नहुने दाबी गरेको छ ।

फोरम नेपालको केन्द्रीय सचिवालयले एक विज्ञप्ति जारी गर्दै आफुहरु कुनै पनि हालतमा सरकारमा सहभागी नहुने प्रष्ट पारेको छ ।

नेपाललाई सँधै अस्थिर बनाईराख्ने केही प्रतिगामी शक्तिहरूले फोरम नेपाल र पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई कमजोर तथा बदनाम गर्ने उद्देश्यले नियोजित ढंगले निशाना बनाएर प्रहार गरिरहेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । फोरम नेपाल सरकारमा जाँदैछ भन्दै परिचालित ती तत्वहरूले चलाएको कुप्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको फोरमले जनाएको छ ।

परिवर्तन विरोधी शक्तिहरूको इशारामा फोरम नेपाल र पार्टी नेतृत्वको मर्यादा, गरिमा र प्रतिष्ठाविरूद्ध भ्रामक एवं चरित्र हत्या गर्ने गरी पछिल्लो समय श्रृंखलाबद्ध ढंगले प्रहार भइरहेका विज्ञप्तिमा उल्लेख गर्दै सरकारमा जाने जस्ता भ्रामक हल्ला त्यसकै एउटा सुनियोजित श्रृंखला रहेको जनाएको छ ।

‘सरकारमा जाने वा नजाने एजेन्डाबारे पार्टीमा आधिकारिक निर्णय त परै जाओस्, सामान्य छलफल समेत भएको छैन ।’ विज्ञप्तिमा भनिएको छ । चुनाव हुनै नदिई मधेशलाई अस्थिर बनाइराख्ने प्रतिगामी तत्वहरूको षड्यन्त्रलाई परास्त गर्न जीत वा हारको पर्वाह नगरी चुनावमा होमिएको फोरमको दाबी छ ।

यसका साथै, परिमार्जनसहित संविधान संशोधन गरी मधेशी, आदिवासी जनजाति, थारू, उत्पीडित खस, दलित, महिला, सीमान्तकृत अल्पसंख्यकलगायतका समुदायको माग सम्बोधन गरी अधिकार सुनिश्चितताका लागि फोरम नेपाल सदैवझैं प्रतिबद्ध रहने जनएको छ ।

यसअघि संविधान पुर्नलेखन नभएसम्म, स्थानीय निकायको संख्या जनसंख्याको आधारमा नभएसम्म र मधेश आन्दोलनका क्रममा मतदाता नामाबलीमा नाम छुटेकाहरुको नाम समावेश नभएसम्म निर्वाचनमा भाग नलिने निर्णय फोरम नेपालले गरेको थियो । तर फोरम अध्यक्ष उपेन्द्र यादव अचानक निर्वाचनमा भाग लिए पछि उनको मधेशमा चर्को विरोध हुँदै आएको छ । सरकारमा सहभागी नहुने भन्ने यादवको दाबी निराधार रहेको केही नेताहरुको भनाइ रहेको छ ।

Back to top