×

वीरगन्ज २३ असार राष्ट्रिय जनता पार्टी नेपालभित्र महेन्द्र राय यादव र अनिल झाबीचको विवादले पार्टी दर्ता प्रक्रिया रोकिएको छ । दुई नेताबीच भएको विवादका कारण बुधबार हुने भनिएको पार्टी दर्ता प्रक्रिया लम्बिएको छ ।

महेन्द्र यादवले एकीकृत पार्टीको विधानमा स्व.गजेन्द्रनारायण सिंह र बाबराम जनम तिवारीको नाम राख्न नमिल्ने बताएका छन् । उनले गजेन्द्रनारायण सिंहका विषयमा पार्टीको विधानमा उल्लेख भए कार्लमाक्स र अन्य कम्युनिष्ट नेताहरुको इतिहास पनि उल्लेख गर्नु पर्ने बताउँदै आएका छन् ।

बुधबारको बैठकमा पनि यादवले स्व.सिंहको र स्व.तिवारीको नाम राख्न इन्कार गरेपछि अनिल झा आक्रमक बनेका थिए । नेता झाले मधेश केन्द्रीत पार्टीले गजेन्द्रनारायण सिंहको मूल्य मान्यता विर्सना नहुने बताउँदै स्व.सिंह र स्व.तिवारीको नाम पार्टीको विधानमा राख्नै पर्ने अडान लिएका छन् ।

यसअघिको बैठकमा पनि यस विषयमा विवाद हुँदै आएको थियो । जसकारण पार्टी एकीकृत भएपनि निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

यात्राडेलीसँग कुराकानी गर्दै नेता झाले भने,‘मधेशवादीका महानेता एवं नेपालमा संघीयतालाई अगाडि बढाउने स्व.गजेन्द्रनारायण सिंहलाई देशविदेशले स्वीकार गरिसकेको छ । यस अवस्थामा हाम्रै पार्टीमा उहाँको सम्मान नहुनु दुःख हुनेछ । त्यसकारण म मधेशको इतिहास विर्सिने पक्षमा छैन ।’

झाले राजपाको मुख्य आधार मधेश भएकोले मधेशको इतिहास र मधेश राजनीतिलाई विर्सिन नहुने बताउँदै आफुहरु पहिचानको संघर्ष गर्दै आएको तर आफ्नै पहिचान विर्सिने काममा सहमत नहुने बताए ।

यादवले विधानको विषयमा प्रतिक्रिया दिन चाहानु भएन । उनले विधानमाथि छलफल जारी रहेको बताए ।

राजपाका स्रोतका अनुसार पार्टी दर्ताका लागि सबै दस्ताबेजहरु तयार भइसकेको थियो । नेता शरत्सिंह भण्डारी भारत जाने भएकोले उहाँले हस्ताक्षर पनि गरिसकेका छन् । तर विधानमा मधेश राजनीतिको इतिहास नभेटे पछि अनिल झाले हस्ताक्षर गरेनन् ।

विहीबार बस्ने भनिएको बैठक पनि बस्न सकेको छैन । नेताहरुको विवादका कारण राजपा दर्ता प्रक्रिया अझै लम्बिने देखिन्छ ।

Back to top