×

वीरगञ्ज, १९ असार भारतको सीमावर्ती रक्सौलको लक्ष्मीपुरस्थित क्याम्ब्रिज पब्लिक स्कूलमा सोमबार दिउँसो अज्ञात समुहले अन्धाधुन्ध गोली चलाउँदा ३ जना घाइते भएका छन् । गोली लागेर स्कुल बसका चालक र २ जना सुरक्षा गार्ड घाइते भएका हुन् ।

प्रत्यक्षदर्शीका अनुसार २ ओटा मोटरसाइलमा आएका ४ जनामध्ये पछाडि बसेका २ जनाले गोली चलाएका थिए । उनीहरुले २० राउण्डभन्दा बढी गोली प्रहार गरेको भारतीय प्रहरीले जनाएको छ । सो घटनामा कुनै ठुलो अपराधिक समूहको हात रहेको आशंका प्रहरीको छ ।

रक्सौलको लक्ष्मीपुरस्थित मन्सामाई मन्दिर नजिक रहेको क्याम्ब्रिज पब्लिक स्कुल परिसरमा बिहान १० बजे मास्क लगाएर प्रवेश गरेका अपरिचत चार जना बन्दुकधारीले एके ४७ नामक अत्याधुनिक राइफलबाट अन्धाधुन्द गोली चलाउदा विद्यालयको बसका चालकद्वय विक्रम कुमार र रामायणप्रसाद कुर्मी तथा सुरक्षा गार्ड ध्रुब साह गम्भीर घाइते भएका हुन् ।

घाइते तीनै जनाको रक्सौलस्थित डंकन अस्पतालमा उपचार हुन नसकेपछि उनिहरुलाई थप उपचारका लागि वीरगन्जको नेशनल मेकिडल कलेजमा ल्याइएको छ ।

घटनाका बेला स्कुलमा विद्यार्थीहरु पढिरहेका थिए । गोली प्रहारबाट स्कुलको बसमा प्वाल पर्नुको साथै सिसा फुटेको रक्सौल प्रहरीका डिएसपी राकेश कुमारले बताए । गोली प्रहार गरी सो समूह मोटरसाइकलमै चढेर भागेको थियो ।

घटनाबारेमा अनुसन्धान र आक्रमणकारीको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ । डिएसपी राकेश र निरीक्षक उग्रनाथ झाको टोलीले अनुसन्धान गरिरहेको छ । घटनापछि सीमानामा कडाई र निगरानी बढाइएको भारतीय प्रहरीले जनाएको छ ।

 

Back to top