×

वीरगन्ज १९ असार नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सिमकार्ड प्रयोगलाई नियमन गर्ने प्रकृया शुरु गरेको छ ।

प्राधिकरणले नेपालमा मोबाइल सेवा प्रदान गरिरहेका दूरसंचार कम्पनीका सिमकार्डहरुको सूचनालाई डिजिटाइजेसन गर्ने उदेश्यले नयाँ निर्देशिका ल्याउने तयारी गरेको हो ।

यसको लागि प्राधिकरणका सह निर्देशक मिनप्रसाद अर्यालको नेतृत्वमा ५ सदस्यीय कार्यटोली गठन भएको छ । सो टोलीमा विभिन्न दूरसंचार कम्पनीका प्रतिनिधिसहित विज्ञहरु रहनेछन् ।

कार्यटोलीका संयोजक तथा प्राधिकरणका प्रवक्ता अर्यालले मोबाइल सिमकार्ड प्रयोगलाई नियमन गर्न कानूनी आधार तयार पार्न अध्ययन गरिने जानकारी दिए ।

‘अहिले मोबाइल सिमकार्ड प्रयोग गर्ने कुनै नियमन र कानून छैन, हामी यसको सम्पूर्ण पक्षलाई अध्ययन गरेर नयाँ निर्देशिका बनाउने छौै,’ अर्यालले क्लिकमाण्डुसँग भने ।

अर्यालकाअनुुसार कार्यटोलीले सिमकार्डको डिजिटाइजेशन, अपरेटरको भूमिका र सिमकार्ड लिँदा लिईने फिंगरप्रिन्टलगायतको बारेमा अध्ययन गर्नेछ ।

सोे टोलीले हाल भएका सिमकार्डहरुको डाटाबेस तयार पार्ने प्रकृयाको बारेमा पनि सुझाव दिनेछ ।

मोबाइल सिमको दूरुपयोग बढेको भन्दै गृह मन्त्रालयले पनि यो विषयलाई नियमन गर्नुपर्ने बताउँदै आएको सन्दर्भमा सम्पूर्ण मोबाइल सिमकार्डहरुको केन्द्रिय तहमा डाटा राख्नुपर्ने प्रावधानको बारेमा पनि अध्ययन गरिने संयोजक अर्यालले जानकारी दिए ।

उनकाअनुसार कार्यटोलीले मोबाइल सिमलाई नियमन गर्न आवश्यक सबै सुझाव र निर्देशिकाको मोडालिटी छिटोभन्दा छिटो तयार पार्नेछ ।

Back to top