×

वीरगन्ज १८ असार वीरगन्जको सुन्दरमल रामकुमार कन्या उच्च माध्यमिक विद्यालयका शिक्षकको विवादले विद्यार्थी आन्दोलनमा उत्रिएका छन्। गर्मी विदाका विषयमा प्रधानाध्यापक र शिक्षकबीच मतभेदको मारमा विद्यार्थी परेका हुन्।अन्य शिक्षकको असहमतिका बाबजुद प्रधानाध्यापक सुरेन्द्र कुवँरले जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डर विपरित आइतबार असार १८ गतेदेखि साउन २ गतेसम्मका लागि गर्मी विदा दिएपछि विवाद भएको हो।

प्रधानाध्यापकले विद्यालय बन्द गरेपछि विद्यार्थीले भने विद्यालय सञ्चालनको माग गर्दै सडक आन्दोलन सुरु गरेका हुन्। विद्यालयका सबै कक्षा कोठा र कार्यालयमा ताल्चा लगाइएका कारण विद्यार्थी आइतबार बिहानदेखि विद्यालय अगाडिको सडकै बसेर पठपाठन गर्दै प्रधानाध्यापक कुवँरविरुद्ध नाराबाजी गरिरहेका छन्।

जिल्ला शिक्षा कार्यालय पर्साले जारी गरेको शैक्षिक क्यालेण्डरमा सामुदायिक विद्यालयमा साउन ५ गतेदेखि गर्मी विदा दिनु पर्ने उल्लेख छ। तर, प्रधानाध्यापक कुवँरले भने शुक्रबार असार १८ गतेदेखि साउन २ गतेसम्म गर्मी विदाका लागि विद्यालय बन्द हुने सूचना प्रकाशित गरका थिए। शिक्षा कार्यालयको निर्देशन विपरित असार १८ गतेदेखि गर्मी विदाका लागि विद्यालय बन्द गर्ने प्रधानाध्यापक कुवँरको निर्णयको शिक्षक शिक्षिकाले पनि असहमति जनाउदै चर्को विरोध गरेका थिए।

यता विद्यार्थीले पनि शिक्षा कार्यालयको निर्देशन विपरित प्रधानाध्यापक कुवँरले आफ्नो स्वार्थका लागि विद्यालय बन्द गरेको भन्दै आन्दोलन सुरु गरेका हुन्। विद्यालय अगाडिको सडकमा आइतबार बिहान सडकमै बसेर विरोध गरिरहेका विद्यार्थीले प्रधानाध्यापक कुवँरलाई बर्खास्त गर्न माग गरेका छन्।

Back to top