×

वीरगन्ज १५ असार राजनीतिक कथावस्तुलाई आधार बनाएर बनाइएको नेपाली कथानक चलचित्र संरक्षणको पहिलो ट्रेलर हालै सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै सामाजिक संजालमा यसको व्यापक चर्चा सुरु भएको छ । पहिलो ट्रेलर बाहिरिएपछि सबैभन्दा धेरै चर्चा चलचित्रको आकर्षक र गहिरा संवादहरुमाथि भइरहेको छ ।

चलचित्रको ट्रेलरमा देखाइएका केही संवादहरु अहिलेको नेपालको राजनीतिक परिवेशसँग मेल खाने हुनाले पनि यसले व्यापक चर्चा पाइरहेको छ । चलचित्रको ट्रेलरमा देखाइने एउटा संवाद त सामाजिक संजालतिर भाइरल हुँदै गएको छ ।

ट्रेलरमा एउटा संवाद रहेको छ,"सिक्किम दुख्छ, दार्जिलिङ दुख्छ, तर आफ्नै देशको मधेश दुख्दैन । " हाल सामाजिक संजालमा व्यापक रुपमा चर्चामा रहेको यो संवाद चलचित्रका निर्देशक पुर्णेन्दु झा स्वयमले नै लेखेका हुन् ।

करिब तीन/चार वर्ष पहिले लेखिएको यो संवाद अहिलेको नेपालको परिवेशसँग मेल खाने हुनाले पनि दर्शकहरुको मन तान्न सकेको हो । भारतको दार्जिलिङमा चलिरहेको गोरखाल्याण्ड आन्दोलन र नेपालको मधेश आन्दोलन, अनि ई दुबै आन्दोलनप्रति आम नेपाली जनताको फरक फरक दृष्टिकोणसँग मेल खाने हुनाले यो संवादले सबैको मन छुँदै गएको छ ।

त्यतिबेला यो संवाद लेख्दा निर्देशक झाले यो भाइरल हुने बारे केही सोचेका थिएनन् । त्यति बेला उनको मष्तिष्कमा यो डायलग कसरी आयो त ? यसको जवाफमा झा भन्छन्, "मधेशी जनताको सेन्टिमेन्ट हो त्यो । हामीले सोसाइटिलाई पोलिटिक्सलाई आफ्नो तरिकाले वाच गरिरहेका हुन्छौं । जे देखियो त्यो लेखें ।"

चलचित्रको पहिलो ट्रेलरमा देखाइएका संवाद र दृष्यहरुले राजनीतिको गहिरो मर्ममा आधारित रहेर चलचित्र निर्माण गरिएको झलक दिन्छ । त्यति मात्र नभएर चलचित्रको पोष्टरमा अंकित पाँच प, अर्थात "फाइभ पी(P)"ले पनि चलचित्रको विषय निकै गहिरो र संवेदनशील रहेको देखाउँछ । चलचित्रको निर्देशकसँगै लेखक पनि रहेका पुर्णेन्दु झाले आफ्नो पहिलो फिचर फिल्मको लागि यस्तो गहन विषयवस्तु किन छनौट गरे त ? उनी भन्छन्, "मलाई जे ठिक लाग्छ, जे फिल हुन्छ त्यही टापिकमा काम गर्न रुचाउँछु । यस पछिका प्रोजेक्टहरु नितान्त फरक टापिकमा हुनेछन् ।"चलचित्रको ट्रेलर र सार्वजनिक भएको पोष्टरहरुले चलचित्र पावर, पोलिटिक्स, पुलिस, प्रेस र पब्लीक बिचको अन्तर्सम्बन्ध अनि द्वन्द्वको कथावस्तुमा आधारित रहेको अनुमान गर्न सकिन्छ ।

देशको राजनीतिमा केन्द्रित रहेरनेपाली चलचित्रहरुको निर्माण पहिले पनि भएका छन् । ती चलचित्रहरुभन्दा संरक्षण के अर्थमा फरक छ त ? निर्देशक एवम् लेखक झा भन्छन्, "यस चलचित्रले नेपालको राजनीतिको सबै आयाम, केन्द्रिय राजनीतिमा प्रभाव पार्ने हरेक समूह वा शक्ति, राजनीति र प्रहरी प्रशाषणबीचको सकसलाई समेट्ने प्रयास गरेको छ ।"

निर्देशक झाको यस कथनलाई चलचित्रको अर्को एउटा संवादले पनि पुष्टि गरेको छ । सौगात मल्लको एउटा संवाद जहाँ थारुको शक्तिको बारेमा भनिएको छ । यसरी हेर्दा चलचित्रले मधेशी मात्र नभएर थारुहरुको अवस्थालाई पनि चित्रित गरेको भन्न सकिन्छ ।

संरक्षणका अर्का लेखक रमेश रञ्जन झा चलचित्रको एक मुख्य पात्रका रुपमा देखिएका छन् । जय मधेशको नारा लगाउँदै मधेशी नेताको रुपमा देखिएका रमेश रञ्जन झाको अभिनयलाई पनि दर्शक रुपी समिक्षकहरुले रुचाएका छन् ।

निकै संवेदनशील र गम्भीर विषयवस्तुमा आधारित भएर चलचित्र निर्माण गरिएको भए पनि चलचित्र निकै रोमाञ्चक हुने र यसले स्रोताहरुको ध्यान खिँच्न सफल हुने देखिन्छ । सौगात मल्लकै अर्को एउटा संवाद, म गाँजा खान्न तर गाँजाको कपडा खोजी खोजी लगाउँछु पनि दर्शकहरुको मन जित्न सफल भएको छ । नेपाली फिल्म जगतमा अभिनय किंगको उपमा पाएका नायक मल्लको अभिनय दर्शकहरुका लागि आकर्षक हुनेमा दुईमत छैन ।

चलचित्रको पहिलो ट्रेलरमा नायिकाहरुलाई खासै स्पेस नदिइएको गुनासो भने सबैको छ । के चलचित्रमा नायिकाहरु गौण पात्रकै रुपमा रहेका छन् त ? यस बारेमा निर्देशक झा भन्छन्, "यो पहिलो ट्रेलर हो । दोस्रो ट्रेलर आउन बाँकी नै छ । अहिले नै सबै कुरा देखिनुपर्छ भन्ने छैन ।" पहिलो ट्रेलरपछि निखिल उप्रेतीका फ्यान भने केही निराश बनेका छन् । निखिलको भूमिका खासै देखिएन भन्ने उनीहरुको गुनासो छ । एक्सन स्टार उप्रेतीको भूमिकाका बारेमा निर्देशक झाको कथन छ, "केही दिन पर्खनुस । निखिलजीको भूमिका सही छ, राम्रो छ ।"

चलचित्र संरक्षणको सांगितिक पक्ष पनि उतिकै बलियो रहेको र केही दिनमै चलचित्रका गीतहरु सार्वजनिक हुने झा बताउँछन् । चलचित्रमा समावेश होलीको एक गीत भने यसअघि नै रिलीज भइसकेको छ । मैथिली र नेपाली भाषा मिसाइएको उक्त गीतले पनि निकै चर्चा बटुलेको थियो ।

होलीको गीत र चलचित्रको पहिलो ट्रेलर सार्वजनिक भएपछि अधिकांशले यसलाई समावेशीताको सही उदाहरण भनेका छन् । चलचित्र यही साउन २७ गते प्रदर्शन हुने भएको छ ।

Back to top