×

सौरभ साह

प्रदेश नं. १, ५ ७मा चुनाव भइरहदा प्रदेश नं. २ मा पर्ने वीरगंज बलिरहेको थियो, यहाँका चौक-चौकमा टायर बाट निस्केका कालो धुवाहरुले बातावरणलाइ प्रदूषित गर्दै थिए भने सधै चहलपहल रहने वीरगंजको बजार शान्त थियो त् कहिँ सधै देखिने स्कुल र क्याम्पसका विद्यार्थीहरुको झुण्ड गायब थियो । कारण थियो राष्ट्रिय जनता पार्टीले दोश्रो स्थानीय तहको निर्वाचनको बिरोधमा गरेको मधेस-थरुवट बन्द । बन्दको वीरगंजमा व्यापक बिरोध हुँदै थियो, सामाजिक संजालमा वीरगंज र वीरगंज बहिरा बस्नेहरुले थरि-थरिका टिप्पणी हरु गर्दै थिए । युवा, बुद्धिजीवि, राजनीतिक विश्लेषक, व्यवसायीक, व्यपारी सबैले आफ्नो विचार सामाजिक संजाल मार्फत राख्दै थिए । तर सबैको टिप्पणी र विचारमा भने एक किसिम सामान्यता थियो र एउटा प्रश्न जरुर लुकेको थियो, "आखिर, प्रदेश नं. २ मा निर्वाचन नभए पनि, यस प्रदेशमा पर्ने वीरगंज र अन्य सहरहरु निर्वाचनको बिरोधमा बन्दि किन?"

यस्ता टिका-टिप्पणीहरु सामाजिक संजालमा चलि रहंदा मेरो नजर राष्ट्रिय जनता पार्टीका वीरगंज नगर प्रमुख ओमप्रकाश सर्राफको एउटा फेसबुक पोस्टमा गयो जहाँ वहाँले बन्दिलाइ उचित सिद्घ गर्न केहि टिप्पणी र तर्कहरु दिएका थिए, र बन्द बिरोधिहरुलाई खोक्रो वीरगंज प्रेमीको संज्ञा दिएका थिए ।

यस लेख मार्फत मैले वहाँ द्वारा ति फेसबुक पोस्ट मार्फत सोधिएका प्रश्नहरु र दिएका टिप्पणीहरुको जवाफ दिने प्रयास गरेको छु । व्यक्तिगत रुपमा वहाँ प्रति मैले कुनै शिकायत राखेको छैन । आशा गर्छु वहाँले पनि मलाई आफ्नो कान्छो भाइ मानि मेरो जवाफहरुलाई आत्मसात गर्दै केहि गलती भएको खण्डमा मलाई माफी दिनु हुनेछ ।

(प्रश्न १) वीरगंजको बिकासमा राजपाको आजको बन्दलाई बाधक भन्नेहरु वीरगंजको बिकासको लागि अहिले सम्म के के गर्नु भएको छ?कृपया डाटा सहित पोस्ट गर्नु होला ।

- ओमप्रकाश जी डाटा लिएर के गर्नु हुन्छ? सबै औला बारबार नभए झैँ सबैले गरेको योगदानको बराबर हुदैन, कसैको थोरै र कसैको बढि हुन्छ, ठ्याक्कै डाटा दिन समस्यै पर्ला । अनि वीरगंज विकाशका लागि योगदान गर्नेहरुले मात्र बन्दको बिरोध गर्न मिल्छ त्? बन्दको बिरोध त् बच्चा देखि बुढा सबैले गरेका छन् । युवाहरुको ठुलै जमातले बन्दको बिरोध गरेको छ, के सबै संग तपाईले प्रश्न गर्नु उचित छ? यदि त्यस्तो हो भने, युवाहरुले त् बिरोध गर्ने नमिल्नु पर्ने हो किन भने प्रत्यक्ष रुपमा युवाहरुको एकदमै थोरै लगानी हुन्छ सहरको विकाशमा किनकि तिनीहरु अहिले अध्यननै गर्दै छन् । तपाईको अनुसार यदि तिनीहरुलाई प्रश्न सोध्ने अधिकार छैन भने, स्वतन्त्ररुपले पढ्ने पूर्ण अधिकार त् छ र त्यो अधिकार बाट पनि तपाईहरुले पटक-पटक उनिहरुलाई विद्यालय र कलेजहरु बन्द गरि बन्चित गर्दै हुनुहुन्छ? अब एउट कुरा बताउनुस, जब सम्म युवाहरुले अध्यन गर्दैनन् तब सम्म विकाशको कार्यमा कसरि सहयोग पुर्यौछन? र तपाईहरुलाई कसरि डाटा दिन्छन? डाटा दिन पनि अध्यन गर्नु पर्ने हुन्छ ।

(प्रश्न २) मधेसको सम्मान, स्वभिमान एवं अधिकार प्राप्तिको लागी जारी आन्दोलनमा सबै सहयोग गरौं, मधेस बिरोधिको भ्रममा नपरौ ।

- ओमप्रकाश जी बन्दको बिरोध गर्नु भ्रम कसरि हो? जसरि तपाईलाइ यस देशमा बन्द गर्ने अधिकार छ, ठिक त्यसैगरि हामीलाई पनि बन्दको बिरोध गर्ने अधिकार छ अनि हामि युवाहरुले कहिले भनेका छौं कि मधेसको सम्मान, स्वाभिमान एवं अधिकार प्राप्तिको लागि जारि आन्दोलन रोक्नुस? हामि त् सधै सहयोग गर्न तत्पर छौं तर बन्द गरेर मात्र आन्दोलन हुन्छ भनेर पनि त् छैन नि । आन्दोलनका अन्य धेरै स्वरुपहरु हुन्छ, जुन तपाईको पार्टीले र तपाइँ स्वयंले अपनाउन सक्नु हुनेछ । बन्द गरि आफ्नै गाउँ-सहरका सामान्य जनताको जीवनमा किन पिडा थप्ने कार्य गर्दै हुनुहुन्छ? तपाई बन्दको विकल्प खोज्नुस, हामि युवाहरु सबैभन्दा अगाडि आएर तपाईको हाथमा हाथ मिलाई आन्दोलनलाइ समर्थन गर्ने छौं ।

(प्रश्न ३) समृद्ध मधेस,विकसित वीरगंज बनाउने अभियानमा पनि हामी निरन्तर अभियानमा छौ । खोक्रो वीरगंज प्रेमी देखि सावधान । यस्ता खोक्रो वीरगंज प्रेमीहरुले वीरगंजको भलाइको बारेमा सोचेको भए वीरगंजको यस्तो नराम्रो अवस्था हुने थिएन। बिरगंजको बिकास एवं समृद्धि परिवर्तनकारी शक्तिले मात्रै गर्न सक्छ कुनै यथा स्थितिवादि वा मधेस बिरोधि होईन ।

- समृद्ध मधेस, विकशित वीरगंज बनाउने हाम्रो ठुलो सपना छ अनि त्यो गर्न हामीलाई ठुलै अभियानको आवश्यता पर्ला र संग-संगै अभियान लाइ चलाउने नेतृत्व पनि आवश्यकता छ । जो अवश्य हुन् युवा, अब युवाको अवस्था बारे मैले माथि चर्चा गरेकै छु । यस्तो स्थिति रहे कसरि गर्लान युवाले नेतृत्व?

अर्को कुरा, एक छिनका लागि मानौं हामीले ढोंगनै गर्दै छौं वीरगंज प्रेमी हुने, ल तपाईले के गर्नु भएको छ वीरगंजको बृहतर विकाशको लागि? वीरगंजको विकाशका लागि सोचको आवशय्ता छ, राम्रो नेतृत्वको आवश्यता छ, जसले वीरगंजको विकाशको लागि स्थानीय देखि केन्द्रिय तह सम्म वीरगंजका आम जनताको आवाज पुर्याउन सकोस । तर तपाइँहरुले त्यो कहिले गर्नु हुन्न । तपाईहरुलाई त् बहाना चाहियो बजार बन्द गर्ने, एउटा सानो बहाना पायो कि बन्दि सुरु, कहिले पनि विकाशको लागि आन्दोलन गर्नु भएको छ? कहिले पनि वीरगंजमा हुने भ्रस्टाचारको बिरुद्धमा, शिक्षा स्थर, स्वास्थ्य स्तर र अन्य कुराहरुको सुधारका लागि आन्दोलन गर्नु भएको छ? यदि गर्नु पनि भएको छ भने, त्यस्को परिणाम किन आएको छैन अहिले सम्म? जसरि मधेस आन्दोलनलाइ निरन्तरता दिंदै हुनुहुन्छ त्यसैगरि विकाश आन्दोलन लाइ किन निरन्तरता दिनु भएको छैन? वीरगंज महानगरपालिका बनाउन तपाईले चलाएको अभियान झैँ किन अर्को अभियानहरु चलाउनु भएको छैन तपाइँले?

परिवर्तनकारी शक्ति र को स्थितिवादी शक्ति को हो तपाईले कसरि छुट्यौन सक्नु हुन्छ? वीरगंजमा सकारात्मक परिवर्तन सबैले चाहेका हुन् । त्यसैले कसैलाई पनि स्थितिवादी भनि दिनु उचित हैन ।

(प्रश्न ४ ) आजको एक दिनको बन्दले बिरगंज एवं मधेसको सर्वनास हुने छैन तर मधेस बिरोधि निर्वाचनको बहिस्कारको क्रममा मधेसका अन्य जिल्लाको समर्थन,एवं एक्यवद्धता भएन भने मधेसको भावनात्मक एकता टुटन सक्छ र मधेस मुद्दा कमजोर हुन सक्छ ।

- वीरगंज सर्वनास गर्न सम्भव छैन ओमप्रकाश जी र यस्तो सोच ल्याउनु आफैमा विकाश बिरोध भावना ल्याउनु हो । तर वीरगंज सर्वनास नभए पनि वीरगंजका गरिब, निमुखा, मजदुरहरुलाई तपाईको एक दिनको बन्दिले कति सास्ती पुग्छ भनेर कहिले सोच्नु भएको छ? वीरगंजमा धेरै त्यस्ता व्यक्तिहरु छन् जसले एक दिन काम नगरे तिनका घर परिवारलाइ राति खान पुग्दैन । तिनीहरुलाई हाल खाना आवश्य छ कि अधिकार? अवश्य खाना । तिनलाई र तिनका परिवारलाइ भोकै सुताउने तपाई-हामि दोषी हैनौ?

अर्को कुरा संबिधान संसोधन बिना स्थानीय तहको निर्वाचन हामिलाइ पनि मान्य छैन, हामीलाइ पनि आफ्नै मधेसका दाइ-भाइहरु गुमाएको पिडाले सताउछ, हामीले पनि आफ्नो पहिचान सहितको अधिकार सुनिस्चित होस भनेर चाहन्छौं, हामिलाइ पनि देश भित्र नै आफुलाई नेपाली कहलाउन ठुलो धोको छ तर अहिलेको आवस्थामा तपाईहरुको जनशक्ति, साधन र श्रोत निर्वाचन हुने प्रदेशहरुमा आवश्यता थियो, निर्वाचन हुने प्रदेशहरुमा यदि तपाईहरुले आफ्नो यो आन्दोलन गर्नु भएको भए सायद आज स्थानीय तहको निर्वाचन सम्भव हुनेथिएन र वीरगंज निवासीले स्वयं तपाईहरुको आन्दोलनमा प्रतीकात्मक एक्यवद्धता देखाउने थिए । अनि जुन भावना टुट्ने डरको तपाईले कुरा गर्नु भएको छ त्यो झनै मजबुत हुने थियो । तर आज तपाईहरुको वीरगंजको बन्दिले गर्दा तपाईहरु माथि रहेको मधेसी युवाहरुको मोह र विश्वास टुटेको छ साथै तपाईहरुको निर्णय गर्ने क्षमता माथि पनि प्रश्न उठाउने अवस्था सिर्जना भएको छ ।

अन्तत, वीरगंजको इतिहास धेरै पुरानो छ र नेपालका प्रमुख आन्दोलनहरुमा यस सहरको योगदान अतुलनीय छ । तर यो सहरको योगदानको सहि मुल्यांकन सरकारको मधेस प्रतिको प्रवितीले गरको छैन र तपाईहरुले पनि यस सहरलाइ कुनै सहयोग गर्नु भएको छैन । पटक-पटक प्रयोग मात्र भएको छ हाम्रो वीरगंज सहर, र बदलामा पाएको भने केहि छैन । हामीले बन्दको बिरोध आफ्नो सहरलाइ जोगाउनु, आफ्नो सहरलाइ नमुना सहर बनाउनु गरेका हौँ । हामि आन्दोलन बिरोधि हैनौ, हामि बन्द बिरोध, अराजकता, लुटतन्त्र र कपट बिरोधि हौँ । वीरगंज महानगरपालिका त् बनिसकेको छ तर स्तर वृद्धिले मात्र कहाँ पुग्छ र महानगरपालिका हुन वीरगंजको कायापलट गर्न आवश्यक छ । त्यो तपाई-हामीले मिलेर गर्नु पर्ने हुन्छ अनि त्यसको पहिलो सुरुवात वीरगंजलाइ बन्द मुक्त सहर गरेर गर्नु पर्ने हुन्छ ।

जय युवा, जय वीरगंज, जय मधेस, जय नेपाल !

(लेखक युथ्स अफ वीरगंजका संस्थापक र विद्यार्थी हुन्)

 

Back to top