×

सुरेश बिडारी, वीरगन्ज ३१ जेठ सवारी आयातमा कमी आउँदा राजस्व असुली प्रभावित सवारीसाधन आयातमा कमी आएपछि देशकै ठूलो वीरगन्ज भन्सारको राजस्व असुली प्रभावित भएको छ । वीरगन्ज भन्सारका सूचना अधिकारी सन्तोष यादवका अनुसार सवारीसाधनमा आयात घटेसँगै राजस्व संकलनमा पनि कमी आएको हो ।

भन्सार कार्यालयले चालू आर्थिक वर्ष ०७३-७४ को वैशाख महिनामा लक्ष्यको तुलनामा ८० करोड २५ लाख ७५ हजार रुपैयाँ कम राजस्व संकलन गरेको छ । वैशाखमा भन्सार विभागले वीरगन्ज भन्सारलाई ९ अर्ब ७ करोड २६ लाख ९० हजारको लक्ष्य दिएको थियो । तर, कार्यालयले लक्ष्यको ९१ प्रतिशत अर्थात् ८ अर्ब २७ करोड १ लाख १५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । गत वर्षको वैशाखमा भने लक्ष्यभन्दा ५ प्रतिशत बढी राजस्व संकलन भएको थियो ।

भारत तथा तेस्रो मुलुकबाट नयाँ सवारीसाधनको आयातमा कमी आएपछि वैशाखमा लक्ष्यअनुसारको राज्य संकलन गर्न नसकिएको भन्सार कार्यालयका अर्का एक अधिकारीले बताए । भारत तथा तेस्रो मुलुकबाट नयाँ सवारीसाधनको आयातमा कमी आएका कारण वीरगन्ज भन्सार कार्यालयलाई भन्सार विभागले दिएको लक्ष्य पूरा गर्न निकै सकस भइरहेको छ । वीरगन्ज भन्सारबाट सवारीसाधन र इन्धन आयातबाट नै सबैभन्दा बढी राजस्व संकलन हुने गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत सवारीसाधन कर्जामा न्यूनतम ५० प्रतिशत ‘डाउन पेमेन्ट’ गर्नैपर्ने बाध्यात्मक प्रावधान लागू गरेपछि त्यसको प्रत्यक्ष असर सवारीसाधन आयातमा परेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सवारीसाधन, घरजग्गालगायत अनुत्पादक क्षेत्रमा कर्जा लगानी कम गर्दै जान निर्देशन दिएको छ ।

रक्सौलमा थन्किए हजारौँ नयाँ गाडी

वीरगन्जको सीमावर्ती सहर रक्सौलको पन्टोका क्षेत्रमा नेपाली आयातकर्ताले ५ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन थन्क्याएर राखेका छन् । पन्टोका–डंकन रोडस्थित विभिन्न गोदाम र यार्डमा गाडी थन्क्याइएको छ । सबैभन्दा धेरै सिप्रदी ट्रेडिङले आयात गरेका टाटाका गाडी रोकिएका छन् । टाटाका टिपर, कार, जिप गरी करिब दुई हजार गाडी सीमा क्षेत्रमा रोकिएको बताइन्छ । महिन्द्रा, मारुती सुजुकी, निसान, रेनो, हुन्डाईलगायत कम्पनीका गाडी पनि धेरै संख्यामा गोदाम तथा यार्डमा राखिएका छन् ।

‘कागजपत्र भन्सारमा नआएसम्म कति गाडी छन् भनेर भन्न त सक्दैनौँ,’ सूचना अधिकारी यादवले भने, ‘तर, नयाँ सवारीसाधनको आयातमा भने कमी आएको छ, पहिले महिनामा हजारको हाराहारीमा गाडी आइरहेका थिए, अहिले ६ सयको हाराहारीमा मात्रै आइरहेका छन् ।’ १९ फागुनमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अनुत्पादक क्षेत्रमा कर्जा लगानी कम गर्न निर्देशिका जारी गरेपछि सवारीसाधनमा ५० प्रतिशतभन्दा बढी कर्जा लगानी हुन छाडेको छ । त्यसअघि बैंक तथा वित्तीय संस्थाले सवारीसाधनमा ९० प्रतिशतसम्म कर्जा लगानी गर्दै आएका थिए ।

जेठमा पनि लक्ष्यअनुसार राजस्व नउठ्ने

वीरगन्ज भन्सारलाई वैशाखमा जस्तै जेठमा पनि राजस्व संकलनको लक्ष्य भेट्टाउन मुस्किल रहेको भन्सार कार्यालयका अधिकारीहरूले बताएका छन् । भन्सारका सूचना अधिकारी यादवले भने, ‘अहिलेकै अवस्था कायम रहने हो भने जेठमा पनि राजस्वको लक्ष्य भेट्टाउन गाह्रो छ ।’ वीरगन्ज भन्सारलाई भन्सार विभागले जेठमा साढे ९ अर्बको लक्ष्य दिएको छ । ‘२८ जेठ आइतबारसम्ममा लक्ष्यको ७५ प्रतिशत मात्र राजस्व संकलन भएको छ,’ उनले भने, ‘त्यसमाथि पनि आन्दोलनको हल्ला चलेपछि धेरै कम्पनीले भैरहवाबाट सामान भित्राउन थालेका छन् ।’

Back to top