×

राम सर्राफ , वीरगञ्ज जेठ भारतीय रेलवको रक्सौल यार्डबाट वीरगञ्जमा निर्माणाधीन नेपाल–भारत एकीकृत जाँच चौकी (आइसीपी) सम्म सहज पहुँच मार्ग निर्माणमा नहुँदा आयातकर्ता अन्योलमा परेका छन् । आइसीपीको पूर्ण सञ्चालनका लागि आवश्यक आधारभूत पूर्वाधार र सम्पर्क सडक विस्तारमा सरकार उदासिन बनेको आरोप आयातकर्ताले बताएका छन् ।

आइसीपीका पूरक पूर्वाधारको प्रबन्धमा सरकारले बेवास्ता गरेको आरोप वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओमप्रकाश शर्माले लगाए । आइसीपीको अहिलेकै पूर्वाधारमा सुधार नगर्ने हो भने सञ्चालनमा आए पनि कतिपय मालसामान भारतीय रेलवेको रक्सौल स्टेशनबाट त्यहाँसम्म पु¥याउनुपर्ने अवस्था छ ।

आइसीपीमा आवश्यकीय पूर्वाधार नभएकाले रेलबाट आएका पेट्रोलियम र औद्योगिक कच्चा पदार्थ रक्सौलबाट आइसीपीसम्म पु¥याउनुपर्ने अध्यक्ष शर्माले बताए । आइसीपी सञ्चालनमा आए पनि रक्सौलबाट मालसामान पु¥याउन करीब १५ किलोमिटरको अतिरिक्त दुरी तय गर्नुपर्ने अध्यक्ष शर्माले बताए ।

डस्टी कार्गो रक्सौलबाटै आइसीपीसम्म पु¥याउनुपर्ने बाध्यता देखिएको आयातकर्ता माधव राजपाल बताउँछन् । पेट्रोलियम पदार्थका लागि अहिले भारतीय आयल निगमको रक्सौल डिपोको अरू विकल्प छैन । बरौनी डिपोबाट लोड गरिएको ग्यास सिधै आइसीपीसम्म पुगे पनि पेट्रोल, डिजेल र अन्य इन्धन रक्सौलबाटै लोड हुँदै आएको छ ।

सिमेण्ट, क्लिङ्कर, कोइला, आइरनओरजस्ता डस्टी कार्गोको ढुवानी प्रभावित हुने आयातकर्ता बताउँछन् । रेलबाट रक्सौल डिपोमा आएको इन्धन र यस्ता कच्चा पदार्थ अहिले वीरगञ्ज नाकाबाट भित्रिने गरेको छ । अहिले रक्सौलमा यस्ता कार्गोमात्र मासिक २ सय ¥याकको हाराहारीमा आउँछन् ।

सङ्घले हालै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायलाई आइसीपीसँग सरोकार राख्ने पूर्वाधारका समस्या समाधानका लागि पहल गरिदिन लिखित आग्रह गरेको थियो । रेल्वेको रक्सौल स्टेशनबाट आइसीपी करीब डेढ किलोमिटरको दुरीमा भए पनि सहज सडक सम्पर्कको नहुँदा लक्ष्मीपुर हुँदै १५ किलोमिटर पार गर्नुपर्ने अवस्था छ । यसबीचमा ३ ठाउँमा रेलवेको क्रसिङ पर्दछ ।

अर्थ, वाणिज्य मन्त्रालय, नेपाल इन्टरमोडल यातायात विकास समितिलगायतका निकायको ध्यानाकर्षण गराउँदै आए पनि सरकारी पक्ष समाधानमा उदासिन देखिएको आयातकर्तालले बताए । सरोकारका मन्त्री र मन्त्रालयका उच्च अधिकारीहरूले आइसीपीको पटकपटक स्थलगत निरीक्षण गरे पनि समाधानमा चासो नदेखाएको आयातकर्ता अशोक वैदले बताए ।

सङ्घले राजदूत उपाध्यायलाई लेखेको पत्रमा रेलवेको रक्सौल स्टेशनसँगै रहेको बाटोलाई केही फराकिलो पारेर विकल्पका रुपमा प्रयोगका लागि पहल गरिदिन आग्रह गरेको छ । यो बाटो स्तरोन्नति भएमा रक्सौलबाट आइसीपीको दुरी करीब डेढ किलोमिटरमा सीमित हुने संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार केडियाले बताए ।

 

Back to top