×

० नेकपा एमाले नेतृत्वको सरकारका बेला नेपाल–भारतको सम्बन्ध कस्तो रह्यो ?

— एमाले नेतृत्वको सरकार रहेसम्म भारतसँगको सम्बन्ध बिग्रेको अवस्था थियो । एमालेको सरकार टिकाउनका लागि राष्ट्रवादी सिद्धान्तलाई अंगिकार गरियो । त्यो राष्ट्रवादी सिद्धान्त भनेको एण्टि इण्डिन र एण्टि मधेशी बन्नु हो । सिद्धान्तले न त देशभित्र सद्भाव कायम राख्न सक्यो, न त छिमेकीसँगको सम्बन्ध सुमधुर गर्न सक्यो । राष्ट्रवादी भन्दै समाजलाई धु्रवीकृत गर्ने काम गरियो । एमाले नेतृत्वको सरकार हटेसँगै धु्रवीकृत समाजलाई एकतावद्ध गर्ने अवसर जुटेको छ ।

० अब बन्ने नयाँ सरकारले भारतसँगको सम्बन्ध कसरी प्रगाढ बनाउँला ?

— हामीले चाहे पनि नचाहे पनि भारत र चीनसँग एकै किसिमको व्यवहार गर्न सक्दैनौं । भारतसँग हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिकलगायत थुप्रै सम्बन्ध छन् । भारतसँग हाम्रो बहुआयामिक सम्बन्ध छ । तर, चीनसँग हाम्रो छिमेकीको सम्बन्ध छ । यो भिन्नतालाई हामीले बुझ्नुपर्छ । बहुआयामिक सम्बन्ध हुँदा एकअर्काको दुःखसुखमा साथ दिनुपर्ने हुन्छ । बहुआयामिक सम्बन्धलाई बहुआयामिक हिसाबले कार्यहरू गरेर भारतसँगको सम्बन्धलाई अगाडि बढाउनुपर्छ ।

० एमाले नेतृत्वको सरकारले चीनसँगको सम्बन्ध राम्रो बनाउन सफल भयो भनिन्छ नि ?

— चीनसँग राम्रो सम्बन्ध बनायो, त्यो आफ्नो ठाउँमा छ । त्यसमा हामीले विरोध गर्नुपर्ने कुरा भएन । चीनसँग सम्बन्ध सुधार गर्ने तर, भारतसँगको बिगार्नु राम्रो होइन । एमाले नेतृत्वको सरकारले चीनसँग राम्रो सम्बन्ध त बनायो, तर भारतलाई चिढ्यायो । एमाले नेतृत्वको सरकारले दुवै देशलाई सन्तुलन गरेर राख्न सकेन ।

० राष्ट्रवादी बन्न भारतलाई गाली गर्नै पर्ने सोच कसरी हट्छ ?

— नाकाबन्दी खुलायो, त्यहि भएर केपी ओली राष्ट्रवादी हुनुभयो भनेर भन्न थालिएको छ । नाकाबन्दी त कुनै बेला कीर्तिनिधि विष्टले पनि खुलाउनुभएको थियो ।

० भारतलाई गाली नगरी राष्ट्रवादी बन्न सकिँदैन ?

— यहाँ महेन्द्र डक्ट्रीन हाबी भएको देखिन्छ । चीनसँग नजिकिने, भारतलाई चिढ्याउने, राष्ट्रवादी पहिचान बनाउने र त्यसमाथि चढेर शासन गर्ने महेन्द्र डक्ट्रीन हो । महेन्द्रको डक्ट्रीन डेमोक्रेसीमा फेल भइसकेको छ । त्यो डक्ट्रीन काम नलागेकोले पञ्चायती व्यवस्था ढल्यो । त्यो डक्ट्रीनअनुसार केपी ओलीले जुन शासन गर्न खोजे, त्यो गलत थियो । आफ्नो देशका जनतालाई काखापाखा नगर्ने अवस्थालाई राष्ट्रवाद भन्न सकिन्थ्यो । हिमाल, पहाड र तराईका जनता सबै समान छन्, भन्ने सन्देश प्रवाह गरेर अगाडि बढेको भए केपी ओलीको राष्ट्रवाद काम गर्न सक्थ्यो । तर, यसो हुन सकेन । सीमान्तकृत समुदायलाई होच्याउने, भारतलाई बेवास्ता गर्ने किसिमका राष्ट्रवाद हाम्रो देशमा सफल हुन सक्दैन । सबैलाई सन्तुलित गरेर लैजाने राष्ट्रवाद नै यहाँ अस्तित्वमा रहन सक्छ ।

० भारत नेपालका लागि अभिषाप हो भनेर पनि केहीले भन्छन् । वास्तवमा भारत नेपालका लागि वरदान हो ?

— केही मुठ्ठि भरका मानिसका लागि भारत अभिषाप हो । जसमा चेतना नै छैन, तिनीहरूले भारतलाई अभिषापका रूपमा लिन्छन् । हरेक कुरामा भारतलाई गाली गर्ने किसिमको संकुचित मनोवृतिले राष्ट्रलाई हित गर्दैन । भारतसँग खुला सिमाना त हाम्रो लागि वरदान हो । हामी हरेक कुरामा सहुलियत पाइरहेका छौं । यदि हामीले ठिक ढंगले अगाडि बढाउन सक्यौं भने भारत हाम्रो लागि वरदान हो ।

Back to top