×

वीरगंज २० भदौ । नेपाल निजामती कर्मचारी युनियन संघको स्थापना दिवसको अवसरमा नेपाल निजामती कर्मचारी युनियन संघ र नेपाल प्रेस युनियन पर्सा बीच आज वीरगंजमा मैत्रीपुर्ण फुटबल खेल सम्पन्न भएको छ ।

मैत्रीपुर्ण खेलमा १ गोलले कर्मचारी युनियन विजयी भएको छ । वीरगंजको नारायणी रंगशालामा भएको खेलमा ३ का विरुद्ध ४ गोल गर्दै नेपाल कर्मचारी युनियन संघ पर्सा विजयी भएको हो । खेलको म्यान अफ दि म्याच नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी घोषित हुनु भएको छ ।

नेपाल निजामती कर्मचारी युनियन संघ पर्साका अध्यक्ष सचितानन्द सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई जिल्ला विकास समितिका पूर्व सभापति एवं नेपाली कांग्रेसका नेता जनार्दन सिंह क्षेत्रीले ट्रफी तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता क्षेत्रीले मधेशको समस्या समाधान नहुन्जेल सम्म संविधान कार्यान्वयन हुनै नसक्ने बताउनु भयो । मधेशको समस्या समाधान गर्न नेपाली कांग्रेस सधैं तत्पर रहेको बताउदै नेपाली कांग्रेसका सभापति शेर देउवा समस्या समाधानमा दृढ रहनु भएको हुँदा कांग्रेसकै नेतृत्वमा समस्या समाधान हुने बताउनु भयो । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्य मनोज तिवारी, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवम मधेश विभाग प्रमुख विजय कुशवाहा, पुर्व केन्द्रिय सदस्य दिपेन्द्र चौहान, नेपाल पत्रकार महासंघ पर्साका कार्यवाहक अध्यक्ष ध्रुव साह, पुर्व अध्यक्ष अशोक तिवारी लगायतको उपस्थिति रहेको थियो ।

Back to top