You are here: Homeसमाजसमाजचम्कने छ वीरगंज, नगरवासीको जागरुकता चाहिन्छ ,जगदीश शर्मा

चम्कने छ वीरगंज, नगरवासीको जागरुकता चाहिन्छ ,जगदीश शर्मा

Written by  Published in समाज Friday, 10 June 2016 09:48
Rate this item
(1 Vote)

एसियाली विकास बैंकको आयोजना, मझौला शहरी एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत रु २ अर्ब ४८ करोडमा बन्न लागेको नाला, सिवर तथा ट्रिटमेन्ट प्लान्ट, डम्पिङ साइट र सडकहरूको काम सम्पन्न भएपछि वीरगंज वास्तविकरूपमा शहर हो भन्ने गर्व गर्ने अवसर वीरगंजवासीका लागि जुट्दै छ । गण्डक नहर बाइपास रोडदेखि वीरेन्द्र प्रतिमा चोकसम्म र त्यहाँबाट श्रीसियाँ खोलासम्म  वर्षात्को पानी निकास हुने कभर्ड ड्रेनेज, वीरेन्द्र प्रतिमा चोकदेखि नेशनल मेडिकल भएर सिंघहा नदीसम्म वर्षात्को पानी निकासका लागि कभर्ड ड्रेनेज, त्यसैगरी  हुलाक कार्यालय अगाडि विपी उद्यानमा बनेको नालामाथि कभर, माइराम पोखरी हुँदै छपकैया बही भएर भन्सार पछाडि श्रीसियाँ खोलासम्म, यस मुख्य नालाको प्रवाह क्षमता थोरै र पानी बढी निकास हुने हुँदा गीता मन्दिर नजिकबाट आदर्श नगर हुँदै ठाकुरराम क्याम्पस पछाडिबाट श्रीसियाँ खोलामा उत्सर्जन हुने गरी पानी निकासका लागि नाला निर्माणको काम युद्धस्तरमा भइरहेको छ ।

    वीरगंजभन्दा पूर्व नगर विकास समितिले  निर्माण गरेको ४० फिट चौडा सेकेन्ड बाइपास रोडको दुवैतिर नाला निर्माण तथा सडक निर्माणको पूर्वाधार खडा भइसकेर कामले गति लिएको छ । सात किलोमिटर लामो बाइपास रोडको समानान्तर निर्मित यो रोडमा नाला निर्माण भएर सडक कालोपत्रे गर्ने योजना  आजको एक वर्षमा सम्पन्न हुने रणनीति छ । यो सडक कालोपत्रे गरेर सडकबत्ती सोलार ऊर्जाले चलाउने योजना छ, जसले गर्दा वीरगंजले साँच्चीकै काँचुली फेर्ने र वीरगंजको जनदबाब समानुपातिक हुने विश्वास गर्न सकिन्छ ।

वीरगंज नगरको सबैभन्दा ठूूलो समस्या फोहर व्यवस्थापन पनि देखिएको छ । फोहर व्यवस्थापनका लागि इटियाही, बारामा १६ बिघा जमिन खरिद गरेर डम्पिङ साइट निर्माण गर्ने काम पनि यसै अप्रिल महिनादेखि शुरु भएको छ । उक्त आयोजना सम्पन्न भएपछि नगरबाट निष्कासित फोहर सेग्रेगेशन गरी कम्पोस्ट मल उत्पादन गर्ने कार्यक्रम छ, जसले डम्पिङ साइट वास्तवमा फोहर फ्याल्ने ठाउँ नभएर फोहर व्यवस्थापन ठाउँको रूपमा विकसित हुनेछ । र यस ठाउँलाई रमणीय हरियाली ठाउँको रूपमा पनि विकसित गरिने छ । कम्पोस्ट मल उत्पादन भएपछि नगरपालिकाको आम्दानीको निरन्तर स्रोत बन्ने निश्चित छ ।

    वीरगंजले भोग्नुपरेको अर्को ठूलो समस्या हो सीवर लाइन नहुनु । सीवर बनाएपछि घर–घरको पैखानाको फोहर वर्षात्को नालामा नगएर सीवर नालामा जान्छ र भन्सार पछाडि बनिरहेको ट्रिटमेन्ट प्लान्टको ठूला गहिरो कुवामा  थन्किन्छ । कुवाबाट पम्प गरेर तरल पदार्थ बाहिर ल्याई प्राकृतिक स्रोतबाट उपचार गरेर सफा भएको पानी नदीमा खसाइन्छ । ठोस पदार्थ जैविक उपचार गरी नष्ट गरिन्छ । तर दुर्भाग्यको कुरा के छ भने अति आवश्यक यो सीवर लाइन पद्मरोडदेखि रानीघाट, आदर्शनगर हुँदै भन्सार पछाडिको ट्रिटमेन्ट प्लान्टसम्म मात्र निर्माण हुने हुँदा यसले समग्र वीरगंजको आवश्यकता पूर्ति गर्न सक्ने छैन ।

    त्यसैगरी वीरगंजको मुख्य सडकमा पनि परम्परादेखि चलिआएको नालाबाहेक नयाँ नाला बन्ने कुनै योजना छैन । यस आयोजनामार्फत् पिपरादेखि बन्न शुरु भएको नाला गुरुकुल विद्यालयसम्म बनेर थन्किएको छ । यो मुख्य सडक त्रिभुवन राजपथको भाग भएको र राजपथ विस्तार सम्बन्धमा कुरा नटु·िएकोले अहिले नै कुनै संरचना निर्माण गर्दा लगानी खेर जाने भनेर सडक विभागले पत्र लेखेर उक्त नाला निर्माणमा रोक लगाइदियो । 

त्रिभुवन राजपथ चौडा गर्ने सम्बन्धमा वीरगंजवासीमा मतान्तर देखिएकोले मूल सडक वा मूल नगरको नाला बन्ने योजना कालान्तरसम्म सम्भव होलाजस्तो देखिन्न । न सरकारले पुरानो वीरगंजलाई यथावस्थामा राख्ने कि विस्तार गर्ने सम्बन्धमा ठोस निर्णय लिन सकेको छ न वीरगंजवासीले एक स्वरमा यथास्थिति वा विस्तारलाई अनुमोदन गर्न सकेका छन् । न नौ मन तेल होगा न राधिका नाचेगी भन्ने उक्ति यस सन्दर्भमा देखिएको छ । यसले वीरगंजको मूल शहरलाई सेकेन्ड बाइपासले दोस्रो वर्षदेखि उछिन्न थाल्नेछ । अहिले नै नाला निर्माणपछि ग्राभेलिङ गरिएको सेकेन्ड बाइपास सबैको आकर्षणको केन्द्र बनिसकेको छ ।

    हालसम्म स्वीकृत योजना अनुसार निर्माण भइरहेका संरचना यिनै हुन् । यसमध्ये हुलाक अगाडिबाट निस्केको मूल नाला भन्सार पछाडिसम्म पुग्दा झन्डै ५ किलोमिटर हुन्छ । यसमा ढलान कभर हालिएको छ र आरम्भदेखि रेल्वे स्कूलसम्म २० फिट चौडा ढलान बाटो निमिृत भएको छ । यसको दायाँ–बायाँ वृक्षरोपण गरेर यसबाटोलाई मर्निङवाको रुपमा विकसित गर्न सकिन्छ भने यो खेल र मनोरञ्जनका लागि पनि उदाहरणीय हुन्छ । यस बाटो साइक्लिंग, स्केटिङ का लागि आदर्श हुन सक्छ । तर यसमा फेरि भड्खालो आइलागेको छ । गीतामन्दिर नजिकको पुल, आदर्शनगरमा केही भवनहरु यस नालामाथि ठडिएकाले बाटोको निरन्तर क्रमभ· हुन जान्छ । 

    यो योजना अपूरो छ । वीरगंजको सम्पूर्ण स्टोर्मवाटर यति मात्रले निष्कासित हुन सक्दैन । यसका लागि बाइपास रोडको  पूर्व–पश्चिम छुटेको भाग र वीरगंजको मूल सडकको दुवै छेउमा पनि ड्रेनेज बन्नैपर्छ । वीरगंजको सीवर समस्या समाधानका लागि पद्मरोड–भन्सार मात्र होइन स्टोर्मवाटर ड्रेनेज सँगसँगै सीवर लाइन पनि हुनुपर्छ । यद्यपि अहिले यो सम्भव छैन, न नेपाल सरकारको  हैसियतले, न उपमहानगरपालिकाको आम्दानीले । दातृ निकायले त रु ७ अर्बको यो आयोजना कटौती गरेर आधा पारि नै सकेको छ । यी सम्पूर्ण कामहरू भइरहँदा एडिबी टोलीको पनि नियमित अनुगमन भइरहेको छ । पछिल्लो अनुगमनको क्रममा र स्वीकृत योजनाहरू सम्पन्न हुने चरणमा पुग्न लागिसक्दा एडिबी अनुगमन टोलीले यतिले समस्या समाधान हुँदैन, सम्पूर्ण नगरलाई डुबानबाट जोगाउन थप कार्ययोजना स्वीकृत गर्नैपर्छ भन्ने महसुस गरिसकेको छ । आयोजनालगायत वीरगंज उपमहानगरपालिकालाई पनि थप काम स्वीकृत हुने विश्वास भएर नै कार्यकारी अधिकृत विष्णु कोइराला काठमाडौं हानिएका छन् । रु २ अर्बको यो बजेट थप भयो भने वीरगंजमा सीवरको समस्याबाहेक स्टोर्मवाटर समस्या समाधान हुने निश्चित देखिएको छ ।

    जतिसुकै इमानदारी र तत्परताले काम गर्दा पनि अनपेक्षित समस्या आउने नै गर्छ । यस कार्यमा पनि वीरगंज र छरछिमेकको गाउँबाट समस्या नआएको होइन । बिर्ता, गहवाबीचको भागको स्टोर्मवाटरको निकासको लागि बनाउन लागिएको ड्रेनेज बन्ने जग्गामा एकजनाले नराम्रो किचलो उठाएका छन् । त्यस्तै भन्सार पछाडि नदीमा खस्ने ड्रेनेजको पानी नदीभन्दा केही वरै एकजना धनाढयले नै एक फिट जग्गाका लागि किचलो उठाइदिंदा  काम रोकिएको छ । यी धनाढयको जग्गा परे पनि केही कनवा पर्नेछ । तर खुशीको कुरा के पनि छ भने छपकैयाबाट मूल ड्रेनेज र सीवर सँगसँगैका जग्गाधनीले ड्रेनेजसँगै बाटो पनि निकालिदिने शर्तमा निश्शुल्क आफ्नो जग्गा दिन भने राजी भएका छन् ।

    ड्रेनेज र सीवर छुट्टाछुट्टै राख्ने एउटा मात्र कारण के हो भने ड्रनेजमा वर्षाको पानी र रसायनमुक्त घरेलु पानी मात्र जान्छ र यसलाई सोझै नदीमा खसालिन्छ जसले नदीको पर्यावरणमा असर पर्दैन तर सीवरको पानी उपचार गरेपछि मात्र नदीमा खसाइन्छ । नेशनल मेडिकलजस्तो स्वास्थ्य विषयमा सरोकार राख्ने संस्थाले बल–जबरजस्ती रातारात  सिंघहा नदीमा खस्ने ड्रेनेजमा आफ्नो अस्पतालको रसायनजन्य र ट्वाइलेटको पानी खसाइदिने गरेको छ ।

    सेकेन्ड बाइपास रोडमा तेर्सिएको समस्या नागरिक समाजको सल्लाह र दबाबबिना समाधान हुन सक्ने देखिएको छैन । यस रोडको ठीक्क बीचमा नरसिंह विद्यालय र नगवामा पोखरी परेको छ । नरसिंह विद्यालयलाई क्षतिपूर्ति दिएर ठाउँ सार्ने कुरा चलिरहेको छ भने पोखरी मास्ने कि अर्को विकल्पबारे सोच्न वीरगंजवासी अघि सर्नुपर्छ । पोखरी नमासेर पुल बनाई सडकलाई निरन्तरता दिन सकिने एउटा विकल्प देखिएको छ ।

    समग्रमा अहिले हातमा रहेको काम सम्पन्न भए पनि त्रिभुवन राजपथको सडक चौडा गर्ने–नगर्ने टु·ो नलागेको हुँदा पद्मरोडसम्म मूल नालामा कनेक्टिंग नाला नहुँदा राधेमाई उत्तर, तेजारथ टोल, स्टेडियम क्षेत्र, श्रीराम हललगायत छपकैया–२ मा डुबानको समस्या यथावत् रहने देखिएको छ । बाइपास रोडबाट निस्केको नालाको काम अहिले भन्सारसम्म पुगेको छ तर यसले पनि नदीसम्म पहुँच पाउन केडिया परिवारको सहयोगको अपेक्षा राखेको छ । कारण परम्परादेखि पानीको निकास भइरहेको भन्सार उत्तर, त्रिभुवन राजपथ पश्चिमको नालामा केडिया परिवारले आफ्नो हकदाबी देखाएको छ । यद्यपि केडिया परिवारले नापनक्सा भिडाएर आफ्नो जग्गा नपर्नेगरी नाला बनाउन मनाही गरेको छैन, तर यो काममा अड·ा लगाउने सोच मात्र देखिन्छ । 

    अहिलेको कामको प्रगतिले एडिबीको अनुगमन टोली थप रु २ अर्ब निकासा दिन मौखिकरूपमा सहमत भएको छ, र त्यो भयो भने वीरगंजको स्टोर्मवाटरले निकास पाउने र लामो समयसम्म वीरगंजको कुनै पनि क्षेत्र डुबानमा नपर्ने निश्चित हुन्छ । तर यसमा देखिएको अड·ा अदालतबाट होइन, नागरिक समाजबाट सम्पन्न हुने अपेक्षा छ, किनकि यसले समस्या छिटो समाधान हुन्छ र यो आयोजना सकिनु अघि त्यस्तो गर्न सकियो भने एडिबीलाई पनि नैतिक दबाब पर्छ । www.prateekdaily.com बाट

Read 1764 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012