You are here: Homeसमाजसमाजसपनाको सामर्थ्य !

सपनाको सामर्थ्य !

Written by  Published in समाज Friday, 27 May 2016 15:06
Rate this item
(0 votes)

ओमप्रकाश खनाल 

सुनेकै कुरा हो, खुला आँखाले देखेका सपना असम्भव हुँदैनन् । तत्परता र उद्देश्यप्रति निरन्तर लगानशिलता हुने हो भने सार्थकता भेट्टाउन सकिन्छ । असम्भव सपना त निदाएको मानिसलेमात्र देख्छ । सपनामात्र देख्ने, तर सापेक्ष रुपान्तरणमा उदासिनहरू सपनामै रमाउँछन् र पानीको फोकाजस्तै बिलाउँछन् । टाढा नजाउँ, विकासे बहसहरूमा सधैंजसो उदाहरण बनिराख्ने सिङ्गापुरको समृद्धी यसै सम्भव भएको होइन । सिङ्गापुरको अहिलेको शान शासक ली क्वान युको सपनाको रुपान्तरण हो । एउटा समुद्री बन्दरगाहबाहेक अन्य पहिचान नभएको देशलाई लीले विश्वकै आर्थिक कारोवारको केन्द्र बनाए । आज सिङ्गापुर विश्व अर्थतन्त्रको अभिन्न अङ्गमात्र बनेको छैन, विकासको नमूनाको रुपमा स्थापित भइसकेको छ ।  

३० वर्षसम्म सत्ताको बागडोर एकछत्र हातमा लिएर लीले आर्थिक विकासलाई जुन गतिमा दौडाए, त्यो अहिले पनि संसारकै लागि अनुकरणीय छ । सन् १९५९ मा सत्तामा पुग्दा करीब ४ सय अमेरिकी डलरमात्र रहेको त्यहाँको प्रतिव्यक्ति आम्दानी ५६ हजार ३ सय १९ डलर पुगिसकेको छ । यो विश्वको औसत प्रतिव्यक्ति आयभन्दा करीब ६ गुणा बढी हो । सिङ्गापुरको आर्थिक वैभवका आयामहरूमा लीको योदगानले शासकीय शैलीका विरोधाभास ओभेलमा पारिदिनु अस्वाभाविक थिएन । वर्ष दिनअघि लीको निधनसँगै हामीकहाँ पनि लीको विकास मोडेलमाथि बाक्लै मन्थनहरू भएकै हुन् । 

सम्झना हुन्छ, २०७० चैतमा नेपाल उद्योग वाणिज्य महासङ्घले काठमाडौंमा आयोजना गरेको ‘इकोनोमिक कन्क्लेभ’मा मुख्य वक्ताका रुपमा मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदलाई निम्त्याइएको थियो । महाथिर यसकारण आकर्षणको केन्द्र बने कि उनकै नेतृत्वमा मलेसियाले आजको समृद्धि पाएको थियो । हाम्रोजस्तै राजनीतिक, आर्थिक र सामाजिक सङ्क्रमणबाट गुज्रिइराखेको मेलेसियाले महाथिरको २० वर्षे नेतृत्वमा विकासमा फड्को मारेको थियो । त्यो २ दशकभित्रै त्यहाँको अर्थतन्त्र करीब २० गुणा यसै अभिवृद्धि भएको होइन । समृद्ध मलेसियाको कल्पनाको कार्यान्वयनमा इमानदारी र एकता नै विकासको आधार थियो ।

महाथिरको विकास प्रवचनमा हामी त्यतिखेर मुग्धमात्र भएनौं, तत्कालै आर्थिक समृद्धिको आधार निर्मााणको ३ वर्षे रणनीति पनि तयार भयो । महाथिरले भनेका थिए– राजनीतिक स्थायित्वविना विकास सम्भव हुँदैन । हाम्रो राजनीतिले रणनीति कार्यान्वयन त परको कुरा अहिलेसम्म राजनीतिक अस्थिरतासमेत चिर्न सकेको छैन । हामी अरुका विकास गाथा सुनेर र सुनाएर थाक्दैनौं, तर अनुशरणमा भने चाँडै नै शिथिल भइदिन्छौं । 

सिङ्गापुरका लि होउन् वा मलेसियाका महाथिर दुवैले समृद्धिको सपनामात्रै देखेनन्, कार्यान्वयनमा त्यसको सार्थकता खोजे । रुपान्तरणमा सक्षम पनि भए । आफ्नो देशलाई विकासको तीव्र गतिमा अघि बढाउन सफल भए । राष्ट्रिय हित र समृद्धि सम्वद्र्धनमा पाएको सफलतासँगै दुवै नेतामा अर्को समानता के भने उनिहरुलाई ‘तानाशाह’ मान्नेहरु पनि छन् । एउटा सन्दर्भमा महाथिरले ‘जिम्मेवारीविनाको स्वतन्त्रता काम छैन’ भनेर यसै भनेका थिएनन् । स्वतन्त्रताको रटमा जिम्मेवारी बिर्सिएको भए आज ति देशको विकासे वैभव कल्पनामात्रै हुने थियो । हाम्रो समकालीन अर्थराजनीतिमा स्वतन्त्रताको आलापमा जिम्मेवारी ओझेल पार्ने रोगी आचरण अवरोध बनेको छ । स्वतन्त्रता भनेको स्वच्छन्दता होइन ।

हिजोआज हाम्रो नेतृत्वले पनि समृद्धिको सपना देख्न थालेको भान हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीका औसत अभिव्यक्ति सपनामय लाग्छन् । चरम अव्यवस्था र अस्तव्यस्ततामा बाँचेका जनता त परको कुरा ओलीका कार्यकर्ता नै उनका सपनाको खिल्ली उडाउन अघि सर्छन । ओलीले सत्तागमनसँगै करीब दर्जनजति समृद्धि सपना बाँडिसकेका छन्, भलै उनका यस्ता सपना अहिलेसम्म हास्यरसबाहेक अन्य बनेका पनि छैनन् । 

सत्य के पनि हो भने सपनै नदेखी सार्थकताको खोजी पनि हुँदैन । सम्भवतः ली र महाथिरले समृद्धिको कल्पना नगरेको भएर आज ति देश विकासका नमूनाका रुपमा स्थापित हुने थिएनन् । तर, नेतृत्वको बोली र व्यवहारमा त्यसको रुपान्तरण भर पर्दछ । नेतृत्व सपनाको पूर्णताका लागि कत्तिको प्रतिबद्धत र इमानदार छ भन्नेमा सार्थकता निर्भर हुन्छ । सिङ्गापुरका लीको एकल स्वार्थ विकास थियो, र सपना यथार्थमा बदलियो । महाथिर अस्थिर राजनीतिमा मेलमिलाप र एकता कायम गर्न सफल भए । परिणाम, अलोचना भएरै पनि लक्षित विकास सम्भव भयो । विकासे अवसरहरुको ओजमा विपक्षका बोली धुमिल सावित भए । 

सपना बाँड्ने सवालमा सधैं अगाडि तम्सिने नेतृत्व कार्यान्वयनमा पछाडि फर्किनु नै हामी विकासमा पछि पर्नुको मुख्य कारण हो भन्नेमा अब धेरै माथापच्ची आवश्यक छैन । जनताले नेतृत्वलाई पत्याउन छाडिसकेको छ । मुलुकको कार्यकारी प्रमुखले यति समयमा यसो गर्छु भन्दा दर्शक दीर्घामा हाँसोको फोहोरा यसै छुटेको होइन । प्रधानमन्त्री ओलीका विकास सपनालाई जति हाँसोको विषय बनाइएको छ, ढिलाचाँडो ति आवश्यकताको पूर्ति हाम्रा निम्ति त्यत्तिनै अनिवार्य पनि छन् । तर, अविश्वास किन त ? 

ओलीको सत्तागमनसँगै सुरु भएको तुइन विस्थापन योजनादेखि पेट्रोलियम उत्खनन्सम्मका तानाबाना आत्मनिर्भरतासहितको आर्थिक अभिवृद्धिका निम्ति अनिवार्यमात्र छैनन, सम्भाव्यता पनि अस्वीकार गर्न मिल्दैन । अध्ययन अनुसन्धानहरूले प्रमाणित गरिसकेको विषय पनि हो । सरकारले १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्ने भनेको छ । अहिले विद्यु्तको माग १४ सय मेगावाट भनिए पनि यथार्थ आवश्यकता बढी भएको अध्ययनहरुले नै देखाइसकेका छन् । सन् २०४० सम्ममा नेपाललाई १० हजार मेगावाट बजिुली चाहिने अनुमान छ । उत्पादन क्षमता ८३ हजार मेगावाट भनिन्छ । दैनिक १६ घण्टासम्म लोडसेडिङ खेपेका जनताले एक वर्षमा लोडसेडिङ अन्त्यको घोषणालाई हावादारी ठान्नु स्वाभाविक भए पनि सरकारले दृढ इच्छाशक्ति राख्ने हो भने समयसीमा केही तलमाथि भए पनि असम्भव भने होइन । 

भारतले नाकाबन्दी लगाएका बेला राजधानीका विभिन्न स्थानमा जैविक ग्यास फेला परेका कुराहरु बाहिर आएका थिए । तत्काल घरघरमा ग्यासको पाइप त सम्भव नहोला, तर सम्भाव्यताको उत्खनन् र उपयोग गरिने हो भने कालान्तरमा आपूर्ति केही हदसम्म सहज हुन सक्छ । नाकाबन्दीताका निकै उचालिएको स्वाधीनताको सवाल र यसको उपायमा चर्किएको माहोल अहिले क्रमशः शिथिल बन्दै जानु चाँहि बुझिनसक्नु छ । भारतबाट आयात हुने इन्धनको सट्टा जलविद्युत्को प्रयोग बढाउन सके परनिर्भरता स्वतः समाधान हुनेछ । उत्तरी सीमानासितको रेल्वे सम्पर्क र देशभित्र रेल सञ्जाल विस्तार पनि नयाँ विषय होइन । नेपालले भारत र चीनबीचको सम्पर्कमा ‘गतिशिति पुल’को फाइदा लिनसक्ने बहस पुरानै हो । 

ओलीको पानीजहाज सपना पनि यतिखेर आलोचनामै रुमलिएको छ । प्रधानमन्त्रीको व्यक्तित्व नै यस्तो भइसक्यो कि उनका सामान्य कुरा पनि सुन्नेले असमान्य तरिकाले बुझ्ने प्रयत्न गर्छ । महासागरमा मात्र होइन, हाम्रै ठूला नदीहरूमा पनि पानीजहाज चलाउन विगतमा अध्ययन भएकै हुन् । कोसी, गण्डकी र भेरी भारतको गङ्गामा मिसिएर कोलकाता र बङ्गालको खाडीमा पुगेका छन् । ती नदीको माध्यमबाट समुद्रसम्म पहुँच स्थापित गर्न नसकिने पनि होइन । तर, सरकार नै यो सम्भाव्यता सदुपयोगमा उदासिन बन्दै आएको छ । अध्ययनका नाममा बजेट सिध्याउने काम भने पर्याप्तै भयो । पञ्चायतकालमै पानीजहाज दर्ता ऐन र नियमावली यसै बनाइएको थिएन । 

अत्यन्तै सिमित स्रोत साधनका बलमा छोटै समयमा विकासको उचाइ भेट्टाउने देशहरु पनि पर्याप्तै छ । असिमित सम्भाव्यता समेटेर उपयोगमा पछि पर्नु नै हाम्रा निम्ति सापेक्ष विकासको अवरोध बनेको छ । समृद्धिको सपना रुपान्तरणमा अभाव इमानदारीको मात्रै हो । सपना देख्ने र देखाउने उत्साह कार्यान्वयनको आधार निर्माणमा केन्द्रित हुनु पर्दछ । अन्यथा सपनाको औचित्य रहने छैन ।

 

Read 541 times

Leave a comment

 

 

« May 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
1 2 3 4 5 6 7
8 9 10 11 12 13 14
15 16 17 18 19 20 21
22 23 24 25 26 27 28
29 30 31        

                                                                                                     yatradaily Pvt.Ltd  -  www.yatradaily.com,

                                                                                              Birgunj, Ranighat - 14 , NEPAL,+977-9855020701

                                                                                                                            Chairperson

                                                                                                                              Ram Sarraf

                                                                                                      This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

        This website has been visited hit counter times from October 19, 2012