You are here: Homeसमाजसमाजवीरगञ्ज : आर्थिक विकासको आधार,अनिलकुमार रुङ्गटा

वीरगञ्ज : आर्थिक विकासको आधार,अनिलकुमार रुङ्गटा

Written by  Published in समाज Wednesday, 11 May 2016 14:02
Rate this item
(1 Vote)

राजनीतिक, आर्थिक र सामाजिक आयामहरू सुनिश्चित बाटोमा अघि बढ्न सकेका छैनन् । राजनीतिक स्थायित्व र विकासका अवसरहरूको उपयोग आकाशको फलजस्तै भएको छ । राजनीतिक र आर्थिक स्थायित्वको कुरा गर्न थालेको वर्षांै बितिसक्यो तर, उपलब्धिको ओज कसैबाट लुकेको विषय होइन । भर्खरै केन्द्रीय तथ्याङ्क विभागले सन् २०१५/१६ मा डेढ दशकमै सबैभन्दा न्यून आर्थिक वृद्धिको अनुमान सार्वजनिक गरेको छ । आर्थिक अभिवृद्धि शून्य दशमलव ७७ प्रतिशतमा सीमित हुने अुनमान हामी विकासको कुन गतिमा छौं भन्ने प्रमाण पनि हो । विकासे आयामहरूको सुस्त गतिका कारण आर्थिक वृद्धि खुम्चिएको हो ।

 

चालू वर्षको बजेटमा ६ प्रतिशतको आर्थिक अभिवृद्धिको लक्ष्य राखिएको थियो । महाभूकम्पको क्षतिको पुनर्निर्माणले तीव्रता पाउने अपेक्षासहित त्यो लक्ष्य निर्धारण भएको थियो । तर, पुनर्निर्माणलाई नै वैशाखी बनाएर बनेको सरकार पुनर्निर्माणमा पूर्णतः असफल देखिएको छ । आन्तरिक राजनीतिक अवस्था र बाहय स्वार्थलाई अवरोधको कारणका रूपमा अघि सारिए पनि समाधानको दायित्व सरकारकै हो । यसमा पनि सरकार सफल नुहँदा चौतर्फी निराशा बढेको छ ।

 

विकाससँग सरोकार राख्ने प्रत्येक गतिविधिहरू सङ्कुचित छन् । राजनीतिक दाउपेचमा विकासको अभीष्ट चेपुवामा परेको छ । विकासलाई अवरुद्ध तुल्याउने परिपाटी गलत छ । सरकार यस्ता अवरोधहरूको निरुपणमा तत्पर देखिँदैन । विकास र यसका अवसरहरूको वैज्ञानिक वितरण नभएसम्म राजनीतिक स्थायित्व पनि दीर्घकालीन हुन सक्दैन ।

 

६ महीना लामो मधेश आन्दोलन र त्यसै बहानामा भारतको अघोषित नकाबन्दीले अर्थतन्त्र मृतप्रायः भएको छ । यसको पुनर्जीवनमा राज्य गम्भीर भएकै छैन । त्यसताका उठेका आत्मनिर्भरताका कुरा अहिले ओझेल परेका छन् । यो समयमा सबैभन्दा बढी मार निजीक्षेत्रले खेप्नु परेको तथ्य जगजाहेर छ । निजीक्षेत्रलाई विकासको अगुवा भनिन्छ । तर, यो असहजताका कारण परेको समस्याको समाधानमा सरकारले बेवास्ता गर्नु विकास गन्तव्यको अवरोध हो ।

 

न्यून परिमाणमा छुट्ट्याइने विकास बजेट पनि खर्च हुन नसकेर थन्किएको छ । चालू वर्षको मोटामोटी २ खर्ब रुपैयाँको पूँजीगत बजेटमा २० प्रतिशत पनि खर्च भएको छैन । तर, प्रधानमन्त्रीले अबको बाँकी समयमा ८० प्रतिशत बजेट खर्च हुने गरी काम गर्न निर्देशन दिनुभएको समाचार आएका छन् । यसले विकास होइन कि विकासको बहानामा भ्रष्टाचार फस्टाउने वातावरण बन्छ । खर्च क्षमता र पारदर्शितामाथिको प्रश्न आन्तरिक स्रोत परिचालनमा नभएर बाहय स्रोतको उपलब्धतामा पनि समस्या बनेको छ ।

 

व्यापारघाटा बढेको बढ्यै छ । अहिले निर्यातको तुलनामा आयात ११ गुणा बढी भएका तथ्यहरू छन् । यो अहिलेको तत्कालीन समस्या होइन । तर, निकासी अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणमा प्रभावकारी पहल हुन सकेकै छैन । निकासीजन्य उत्पादनमा लगानी बढाउनु पर्छ । तर, लगानीको माहोल छैन ।

 

ऊर्जाको चरम सङ्कट छ । अहिले मुलुकको मुख्य औद्योगिक कोरिडोर मानिएको वीरगञ्ज–पथलैया कोरिडोरमा दैनिक ८ घण्टा पनि विद्युत् आपूर्ति छैन । यो कोरिडोरमा ८० मेगावाट बिजुली आपूर्ति गरिएको छ । राष्ट्रिय प्रसारण लाइनबाट थप बिजुली आपूर्ति नहुने हो भने बर्खामा समेत लोडशेडिङ यथावत रहने सम्भावना बलियो देखिएको छ । यस्तो अवस्थामा कसरी उत्पादन अभिवृद्धि र व्यापारघाटा न्यूनीकरणको उद्देश्य पूरा हुन सक्दछ ?

 

मुलुककै सबैभन्दा ठूलो औद्योगिक लगानीको हब र व्यापारिक केन्द्र भएकाले वीरगञ्ज क्षेत्रको विकाससँग समग्र आर्थिक विकास निर्भर हुन्छ । तर, ६ महीनासम्म आन्दोलनका निशानामा परेको वीरगञ्जलाई अहिले राज्यले पनि विभेद गरेको भान हुन थालेको छ । यस क्षेत्रमा भएका पूर्वाधारसमेत प्रभावकारी रूपमा सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनको १ दशक बितिसक्दा पनि वीरगञ्ज सुक्खा बन्दरगाहबाट आयातकर्ताले अपेक्षित लाभ लिन पाएका छैनन् ।

 

एकीकृत जाँच चौकी (आईसीपी)को सञ्चालनमा अन्योल बढेर गएको छ । २ वर्षमा सञ्चालनको लक्ष्य राखेर निर्माण शुरू भएकै ५ वर्ष बितिसक्यो, तर सञ्चालनको सुरसार छैन । आईसीपीका भौतिक संरचना नै अपर्याप्त भएको सन्दर्भ बाहिर आएका छन् । सबैभन्दा ठूलो औद्योगिक कोरिडोरमा बनाउने भनिएको सिमरा सेज अन्योलमा जेलिएको छ । काठमाडौं–तराई द्रुतमार्ग र निजगढ अन्तरराष्ट्रिय विमानस्थलको कछुवा गतिले अपेक्षित उद्देश्यमा पुग्न सम्भव छैन । अन्य गौरवका आयोजनाहरूको गति योभन्दा फरक छैनन् । यस्ता विरोधाभासहरूको तत्काल निरुपणको विकल्प पनि छैन ।

 

विकासका पूर्वाधारहरूको सुनिश्चितता नभएसम्म लगानी अभिवृद्धि सम्भव हुँदैन । वीरगञ्जलाई पूर्वाधारयुक्त नबनाई आर्थिक अभिवृद्धि सम्भव हुँदैन । लगानी आकर्षणको गफ चुटिराख्दा लगानीकर्ताहरू फिर्ता गइरहेका छन् । यसले आर्थिक विकासमा कस्तो सङ्केत गरिरहेको छ ? विकासको धरातल निराशाजनक छ । तर, यही निराशाबीचबाटै विकासको बाटोमा अघि बढ्नुको विकल्प पनि छैन । यसका लागि विकास अवरोधहरूको समाधान प्रमुख कार्य हो । सम्भाव्यताको पहिचान र दोहनमा इमानदारीको अभाव समस्याको कडी हो ।

 

वीरगञ्जको सम्भाव्यता दोहनविना आर्थिक विकासको कल्पना पनि पूर्ण हुन सक्दैन । औद्योगिकीकरण सफल नभए अर्थतन्त्रको सफलता सम्भव हुँदैन । विभिन्न कारणले अहिले उद्योग व्यवसायको केन्द्र मानिएको वीरगञ्जको आधारभूत संरचना खस्किएको छ । वीरगञ्जलाई कमजोर पार्नु भनेको समग्र विकासलाई उल्टो गतितिर उन्मुख गराउनु हो ।

 

अहिले करीब ५० लाख युवाशक्ति विदेशमा काम गरिरहेका छन् । तत्कालीन रूपमा रेमिट्यान्सको आयमा रमाउने परिपाटी भविष्यका लागि सुखद हुने छैन । उनीहरूको श्रम विदेशलाई विकसित बनाउने काममा खर्च भइरहेको छ । यसकारण औद्योगिकीकरणमार्फत रोजगारीमा अवसरहरूको सृजना गरी स्वेदशमै जनशक्ति परिचालन गर्नुपर्दछ ।

 

‘स्वदेशमै रोजगारी, स्वदेश नै निर्माण’ भन्ने अवधारणाका साथ नीति अवलम्बन गरिनुपर्दछ । कम्तीमा अबको १ दशक वीरगञ्जलाई विकासको आधार भागमा स्थापित गरी योजनाहरू अघि बढाउने हो भने आर्थिक विकासका उल्लेखनीय छलाङ लगाउन सकिन्छ । यसनिम्ति विकासका दृश्य अदृश्य अवरोधहरूको समाधानमा इमानदारीको खाँचो पर्दछ ।

 

                                                                                                                                                                                   (रुङ्गटा व्यवस्थापिका संसद् सदस्य हुन् ।)

Read 1540 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012