You are here: Homeसमाजसमाजछिमेकीका अगाडि हात फैलाउन छोड्नुपर्छ,गणेशप्रसाद लाठ

छिमेकीका अगाडि हात फैलाउन छोड्नुपर्छ,गणेशप्रसाद लाठ

Written by  Published in समाज Sunday, 08 May 2016 12:12
Rate this item
(0 votes)

अहिलेको विश्व परस्परनिर्भर अर्थतन्त्रको अवधारणामा चलेको छ । परनिर्भर अर्थतन्त्र कुनै पनि देशका लागि आर्थिक विकासको अवरोध हो । हाम्रो अधिकांश औद्योगिक र व्यापारिक सम्बन्ध भारतसित जोडिएकाले नेपाल–भारत आर्थिक सम्बन्धलाई कसरी परस्परमा निर्भर तुल्याउन सकिन्छ भन्ने अहिलेको मुख्य उद्देश्य हुनुपर्छ । हामीसित जलविद्युत्को सम्भाव्यता अत्यधिक छ । भारत हाम्रा लागि विद्युत्को मुख्य बजार हो । यसो भन्दैमा जलविद्युत्बाट कालान्तरसम्म उत्तिनै लाभ लिइरहन सकिन्छ भन्ने होइन । एउटा समयसीमासम्म सम्भाव्यता हुन्छ । अबको १ सय वर्षसम्म यसको उपादेयता रहन सक्छ । यदि विद्युत् निकासी गर्न सक्ने हो भने नेपाल–भारतबीचको सम्बन्ध आपसमा निर्भर हुन्छ । अन्य देशहरूसितको सम्बन्धलाई पनि सकेसम्म यही अवधारणामा अघि बढाउनुपर्छ ।

 

हामीले वस्तुको आयात र निर्यातलाई मात्र व्यापार मान्दै आएका छौं । नेपालमा सेवा क्षेत्रको सम्भावना पनि छ । पर्यटन हाम्रा लागि आय आर्जनको गतिलो माध्यम हो । यो क्षेत्रको प्रवद्र्धन हुन सकेको छैन । नेपालमा भारतीय पर्यटकलाई केन्द्रित गरेर योजना ल्याउने हो भने प्रभावकारी हुन्छ । धार्मिक पर्यटनको राम्रो सम्भावना छ । अहिले उच्च शिक्षाका लागि बाहिरिनेको सङ्ख्या बढिरहेको छ । विश्वस्तरीय शिक्षाको वातावण दियौं भने धनराशी बाहिरिनबाट मात्र जोगिँदैन वैदेशिक मुद्रा आर्जनको बाटो खुल्छ ।

 

हाम्रा अधिकांश उत्पादन परम्परागत पारामा चलेका छन् । मूल्य अभिवृद्धिका उत्पादन र सेवामा केन्द्रित हुनुपर्छ । कृषिमा पनि सबै वस्तुको उत्पादन सम्भव छैन । सबै कृषिजन्य वस्तुमा आत्मनिर्भर हुन सकिन्न । मूल्य अभिवृद्धिका उत्पादनमा जोड दिनुपर्छ । त्यसैले तुलनात्मक रूपमा न्यून लाभका उत्पादनलाई विस्थापित गर्नुपर्छ । यसबाट आय अभिवृद्धि र वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । जडीबुटी, दुग्ध उत्पादन, माछापालन, कुखुरा पालन र हस्तकला अधिक मूल्य अभिवृद्धि गर्न सकिने क्षेत्र हुन् । उत्पादनको गुणस्तर र विविधीकरणका लागि प्रविधि अनिवार्य शर्त हो ।

 

नेपालको वैदेशिक व्यापार सम्बन्धको सबैभन्दा ठूलो समस्या कामभन्दा कुरा बढी गर्ने प्रवृत्ति नै हो । वैदेशिक व्यापारका सन्दर्भका प्रायः प्रतिबद्धता पूरा भएका छैनन् । बिप्पा सम्झौता र विशेष आर्थिक क्षेत्रका कुरा एजेण्डालाई आधा अधुरै छोड्ने प्रवृत्तिका उदाहरणका रूपमा लिन सकिन्छ । अहिले नेपाल र भारतबीच देखिएको व्यापारको असहजता यस्तै कमजोरीलाई सच्याएर अघि बढ्ने उपयुक्त अवसर पनि हो । भारतलाई गाली गर्ने र भावनात्मक अभिव्यक्तिले समस्याको समधान हुन सक्दैन । भविष्यमा यस खालका समस्या फेरि नआउलान् भन्न सकिन्न । त्यसको सामनाका लागि त हामी आर्थिक रूपमा सक्षम हुनुपर्छ । आन्तरिक सम्भाव्यताहरूको अधिक दोहन गर्नुपर्छ ।

 

सरकार र निजीक्षेत्रबीच विश्वासको कमी छ । पीपीपी मोडेललाई सङ्केतका रूपमा नभएर यथार्थ कार्यान्वयनमा ल्याउनुपर्छ । वैदेशिक नीतिलाई पुनरवलोकन गर्नु जरुरी छ । वैदेशिक सम्बन्धलाई बलियो र प्रभावकारी ढङ्गले विस्तार गर्नुपर्छ । यसका लागि प्रभावकारी र परिपक्व कूटनीतिको खाँचो छ । एउटा भनाइ छ,  भिखारीलाई छनोटको अवसर हुँदैन । हामीले अब सधंैभरि छिमेकी देशका अगाडि हात फैलाउने काममात्र गरेर हुँदैन । आदानप्रदानको सम्बन्ध बनाउन सकियो भने मात्रै कसैले होच्याउन सक्दैन । कम्तीमा आफ्ना लागि चाहिने भौतिक सामग्री, प्रविधि र सेवाका लागि आफ्नै आम्दानी पर्याप्त हुनुपर्छ ।

 

भारत र चीनको व्यापारमा सहजकर्ता बनेर पनि फाइदा लिन सक्छौं । वैदेशिक व्यापारमा भौगोलिक जटिलता भए पनि यस्तै अवस्थाका अन्य मुलुकबाट सिक्नुपर्छ । चीनसँगको सीमासम्म सडक पूर्वाधार पुर्‍याउन त्यति सहज छैन । यसो भन्दैमा सहकार्यका लागि हातहरू अघि बढाउन नसकिने पनि होइन । कम्तीमा चीनको  सीमासम्म सडक पु¥याउन सक्नुपर्छ । चीन र बङ्गलादेशसित पनि व्यापार सम्बन्धलाई सापेक्ष ढङ्गबाट अघि बढाउनुपर्छ । सत्य के पनि हो भने भारतसितको व्यापार सम्बन्धलाई बेवास्ता गर्न सकिँदैन । भौगोलिक, भौतिक, आर्थिक र सामाजिक कारणले भारतसित असल सम्बन्ध बनाएर नै हाम्रो आर्थिक विकास सम्भव छ । यसकारण अहिले देखिएका दुईपक्षीय असमझदारीको समाधानका लागि पाइला चाल्न ढिलाइ पनि गर्नु हुँदैन ।

 

वैदेशिक व्यापारलाई सहज बनाउन नेपाली लगानीकर्तालाई विदेशमा लगानीको अनुमति दिनुपर्छ । प्रत्यक्ष वैदेशिक लगानी भिœयाउन सहज वातावरण बनाउनुपर्छ । यसका लागि लगानीका क्षेत्र र सम्भाव्यताहरूको व्यापक बजारीकरण आवश्यक हुन्छ । औद्योगिक वातावरण बनाउनुपर्छ । लगानीमैत्री नीतिहरूको आवश्यकता पूरा हुन सकेको छैन । सापेक्ष औद्योगिक र व्यापारिक नीतिको प्रभावकारी कार्यान्वयन जरुरी छ । त्यस्ता निकायमा ‘हाम्रा मान्छे’को सट्टा ‘राम्रा मान्छे’लाई ल्याउनुपर्छ । सम्बद्ध क्षेत्रका जानकारहरूलाई नियुक्त गर्नुपर्छ । पछिल्लो समय यो अभ्यासको थालनी भए पनि पर्याप्त छैन । उपयुक्त योजना र त्यसको प्रभावकारी कार्यान्वयनमा अघि बढ्ने हो भने आत्मनिर्भर अर्थतन्त्र असम्भव छैन ।

Read 386 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012