You are here: Homeसमाजसमाजमधेशले उचालेको नेपाल - चन्द्रकिशोर

मधेशले उचालेको नेपाल - चन्द्रकिशोर

Written by  Published in समाज Tuesday, 19 April 2016 15:01
Rate this item
(0 votes)

मधेशले तयार पारेको संघर्ष–आन्दोलनको जग नै नेपाली उँचाइको आधार हो।

‘हम छी नेपालवासी,

करैछी न ककरो खवासी,

नितदिन स्वतन्त्रता मे,

जीवन अपन वितावि…।’

(हामी नेपालवासी हौं, कसैको गुलामी गर्दैनौं; सधैं स्वतन्त्रतामा आफ्नो जीवन गुजार्छौं।)

सर्लाहीको गोडैतास्थित वेणीभोला नमूना माविका बालकृष्ण ‘सरस’ ले सांस्कृतिक कार्यक्रमहरूमा गाउने यो गीत हामी विद्यार्थीको जिब्रोमा झुन्डिएको थियो। जनमत संग्रहताकाको त्यो समयमा माड्सा’बले ‘नेपाली’ शब्दविनै हामीलाई ‘नेपालवासी’ बनाएकोमा चाहिं हामी आला–काँचालाई ताज्जुब लाग्थ्यो।

यसबारे यदाकदा छलफल पनि गर्थ्यौं, तर हाम्रा लागि उत्तर सहज थिएन। आज लाग्छ– ‘सरस’ सर शब्द छनोटमा दूरदर्शी हुनुहुँदोरहेछ।

‘नेपालवासी’ शब्दले नेपालको राजनीतिक भूगोलभित्र बसोबास गर्ने विभिन्न परम्परा र संस्कृतिको निरन्तरता बोक्ने सबैको उत्तराधिकार प्रष्ट्याउँछ। अहिलेको राजनीतिक विमर्शमा चलेको ‘नेपाली’ शब्दले नेपालको भित्र र बाहिर पनि छरिएको एउटा खास भाषिक–सांस्कृतिक समूहलाई मात्र समेटे पनि मधेशी जस्ता राष्ट्रियताहरूसँग बृहत्तर सामञ्जस्यता स्थापित गर्न सकेको छैन। सँगै यो पनि भन्नुपर्छ कि, नेपालको वर्तमान राजनीतिक ‘डिस्कोर्स’ को मुख्य अभियन्ता भने मधेश नै हो।

राष्ट्रियताको पुनर्व्याख्या, पहिचानको खोजी, शक्ति वितरण, संघीयता, जनसंख्याको आधारमा प्रतिनिधित्व जस्ता राज्यसँग समावेशी सम्बन्ध निर्धारणका मानकहरू मधेश संघर्षकै उपलब्धि हुन्। र, नेपाली लोकतन्त्रका लागि भएका हरेक संघर्ष–आन्दोलनको जग मधेशमै खडा हुनु संयोग मात्र होइन। विगतमा राजामाथि भौतिक प्रहार हुनु, राजतन्त्रको जरोच्छेदनको संकल्प मधेशकै धर्तीमा लिइनुले ‘मुक्ति’ प्रतिको मधेशको अभिलाषा प्रष्ट्याउँछ।

मधेशको वैभव

मधेशको नामसँगै नेपालको संस्कृति, सभ्यता, इतिहास, ज्ञान र चिन्तन सामुन्ने आउँछ। एउटा यस्तो समय थियो, जब शौर्य, नीति, धर्म, विवेक, मर्यादा, कला, संस्कृति, स्थापत्य सबैको केन्द्र मधेश थियो। त्यो वेलाको मधेश उर्ध्वगामी थियो। अतीतको सम्झ्ना र वर्तमानको गम्भीर विमर्शबाट मधेश आफ्नो समस्या समाधान खोज्न समर्थ हुनुपर्छ। राज्यले पनि मधेशको कला–संस्कृति, शोध, ज्ञान, दर्शन र अनुभवलाई जानकारीमा राखेर उपयोग गर्न सक्नुपर्छ।

नेपालीपन निर्माणमा मधेशको अतुलनीय देन छ। आजको मधेशका कोच, मोरङ, मिथिला, सिम्रौनगढ, कपिलवस्तु, दाङ, अवध आदि क्षेत्रको आदिकालदेखिको योगदान नेपाल राज्यको उन्नतिको खुट्किलोको रूपमा रह्यो। इतिहास र माटोसँगको नातालाई त्यस भूगोलका बासिन्दाले परम्पराको रूपमा निरन्तरता दिएका हुन्छन्। नेपाल, मधेश र मधेशी समुदायलाई यही अर्थमा लिनुपर्छ, जसबाट नेपालीपनको सम्वर्द्धनमा टेवा पुगोस्।

इतिहासमा मिथिला नामको एउटा राज्य थियो, जहाँ जनकले शासन गर्दथे, याज्ञवल्क्यले विधिको व्याख्या गर्थे र गार्गीले दार्शनिक गाँठाहरू फुकाउँथिन्। एउटा क्रमबद्ध विकास भएको इतिहास जस्तै मधेशको भूगोल पनि महिमामय छ। मधेशको कुनै भागमा सीता हुर्किइन्, कतै युवराज सिद्धार्थ ज्ञानको खोजीमा निस्किए। कतै सलहेशको पुरुषार्थ प्रकट भयो, कतै दाङ्गीशरण उदाए भने कतै अशोकस्तम्भले ‘धम्मम् शरणम् गच्छामि’ भनिरह्यो। मधेशले वैदिककालदेखि अहिलेसम्म यो गौरवलाई निरन्तरता दिएर आफ्नो विशिष्टता दर्शाएको छ।

सिम्रौनगढको कर्णाटवंशी राज्य (सन् १०९७–१३२४) ले अनेकौं उन्नत प्रणाली आत्मसात् गर्ने क्रममा साहित्य, कला र संगीतको पनि विकास गर्‍यो। राजा नान्यदेव उच्चकोटिका कला पारखी र संगीतकार पनि थिए। संगीत सम्बन्धी उनको पुस्तक ‘सरस्वती हृदयालंकार’ को पाण्डुलिपि महाराष्ट्र (भारत) को पुनास्थित भण्डारकर रिसर्च इन्ष्टिच्यूटमा अझै सुरक्षित छ। सिम्रौनगढका कवि ज्योतिरीश्वर ठाकुरको ‘वर्णरत्नाकर’ ग्रन्थलाई पुस्तक इतिहासमा एउटा महत्वपूर्ण माइलस्टोन मानिन्छ।

मधेशको इतिहास नेपालको इतिहास हो। नेपालको मानचित्रमा मधेशको भौगोलिक अवस्थितिसँग जोडिएर आएका प्रतीकहरूले पनि त्यही कहन्छ। सीता र बुद्धलाई राष्ट्रिय विभूति नै मानिएको छ। सीता र बुद्धको भूमि अहिले नेपालको मधेशभित्र छ। नेपालले सीता र बुद्धमाथि गर्व गर्छ भने त्यो भूखण्डको इतिहास, परम्परा र गौरवलाई पनि अमूल्य धरोहरको रूपमा अँगाल्छ।

जनमनमा नेपाल

मेरो मावली भारतको विहारमा पर्छ। सानोमा आफ्नो सीमान्त गाउँबाट मावली जान लाग्दा दशगजामा आमाले बयलगाडी रोकेर गाडीवालालाई नेपालतिरको माटोको डल्लो ल्याउन अह्राउनुहुन्थ्यो। नेपाली भाषा नजान्ने उहाँले त्यो डल्लोलाई तीनपटक मेरो टाउको वरिपरि घुमाएर नेपालतिरै फ्याँक्नुहुन्थ्यो अनि हाम्रो गाडा सीमापार हुन्थ्यो। आमाले त्यसो गर्नुको अर्थ पराइ भूमिमा छोरालाई देशको माटोले रक्षा गरोस् भन्ने हुन्थ्यो।

मधेशमा धान झारेर भकारीमा राख्नुभन्दा पहिला खलिहानमा चुली बनाएर त्यसमाथि गोबरको डल्लो राखिन्छ। त्यसपछि चुलीको धान नाङ्लोमा राखेर अन्नपूर्णलाई अर्पित गरिन्छ। यसरी समतलका बासिन्दाले आफ्नो उब्जनी पहाड–हिमालका देवीलाई सश्रद्धा चढाउनुले देखाउने भनेको दुई भूगोलबीचको अन्तरसम्बन्ध र सामञ्जस्यबाट निर्मित दिगो नेपालीपन नै हो।

भर्खरै सम्पन्न फागुको सन्दर्भमा आफ्नै अनुभवसँग जोडिएका भुईंसतहको अर्को दृष्टान्त राख्न चाहन्छु। मधेशमा बसन्तपञ्चमीदेखि नै फागु गीत गाउने लोक परम्परा छ। तिनैमध्येको एउटा भोजपुरी गीत भन्छ–

‘आरे धन्य नगर नयपाल हो लाला

धन्य नगर नयपाल हो

आरे जहावा विराजे पशुपति बाबा

धन्य नगर नयपाल हो

आहो कथिये छवईवो मे बाबा के मन्दिलवा

आहो लाला कथिये छवईवो नयपाल हो

सोनवे छवईवो मे बाबा के मन्दिलवा

रुपवे छवईवो नयपाल हो।’

(नेपाल देश धन्य छ, जहाँ स्वयं बाबा पशुपतिनाथ छन्। म कुन चिजले बाबा पशुपतिनाथको मन्दिरमा छाना लगाउँला, कुन वस्तुले नेपाललाई सुशोभित बनाउन सकूँला! सुनबाट बाबाको मन्दिरलाई अलंकृत गरुँला, चाँदीले नेपाल देशलाई सुसज्जित गरुँला!)

सद्भाव, उत्साह र प्रेरणाको पर्व फागुमा मधेशी समाजको ढुकढुकीमा यसरी नेपाल चल्छ। मधेशले पटक–पटकको आन्दोलन–संघर्षबाट काठमाडौंलाई यो ढुकढुकी सुनाउन खोजेको छ। दक्षिण एशियाका थुप्रै ठाउँमा उप–पहिचानले आफ्नो फरक राष्ट्रियताको दाबी गर्दा पृथकतावादी गतिविधि सलबलाएको छ, तर मधेशले जहिल्यै आफूलाई नेपालको मूल प्रवाहमा समाहित गराउन खोजेको छ।

दक्षिणी नेपालवासीहरू देशभित्र सञ्चार, शिक्षा, स्वास्थ्य, स्रोतसाधन र अवसरको बढोत्तरी हुँदै गर्दा अझ् उत्तराभिमुखी हुँदै आएको प्रष्ट देख्न सकिन्छ। पछिल्ला केही दशकभित्रकै सामाजिक बदलाव हेर्ने हो भने पहिला शिक्षा, स्वास्थ्य, बजार, आर्जन जस्ता कुराहरू मधेशबाट सीमावर्ती भारतीय राज्यहरूमा जान्थ्यो। अहिले मधेशले उल्टो दैनिकीको सामना गर्नु परिरहेको छ। मधेशले एकदशक भन्दा कम समयमा तीन पटक काठमाडौंलाई यसको जनाउ दिएको छ।

सुरक्षित सीमा, सुरक्षित शान

मधेशको आँगनमा हिमाल–पहाड उभिएको छ। नेपाल घर हो भने मधेश त्यसको पिंढी। मधेश नहुँदो हो त नेपालको भौगोलिक अस्तित्व र राष्ट्रिय जीवनका हरपक्ष चेप्टिएको हुन्थ्यो। अहिलेसम्मको परिदृश्यले स्थापित गरेको पक्ष के हो भने, मधेशले नेपाल राज्यको भार थामेको छ। अर्थतन्त्रदेखि समाज विज्ञानसम्म र संस्कृतिदेखि राजनीतिसम्मको नेपाली गाथाभित्र मधेशको बलियो कथा छ। नेपाली लोकतन्त्रलाई बढी जनमुखी बनाउन मधेशले हस्तक्षेप गर्दै आएको विगत र वर्तमान छ।

आज नेपाल जेजति अग्लिएको छ, त्यो उँचाइमा मधेशको मजबूत टेको छ। बृहत्तर नेपाली समाजमा जनसांख्यिक विविधता र पहिचान प्रसार गर्ने सांस्कृतिक दूतको काम मधेशीहरूबाट भएको छ। सेवाका लागि दुर्गम क्षेत्रहरूमा पुगेका मधेशीहरू अर्को सांस्कृतिक समूहभित्र नेपालको विविधतालाई चिनारी दिइरहेका छन्। त्यसैगरी, दक्षिणी सीमाको अहर्निस निगरानी मधेशले गरेको छ। सीमाभन्दा टाढाका बासिन्दाका लागि राष्ट्रियता एउटा भावनात्मक उद्गार हो, तर सीमान्त गाउँवासीका लागि यो सर्वश्व हो। कुनै तरीकाले खेतमा एउटा नयाँ सीमास्तम्भ ठडिन आइपुग्दा उसको सर्वश्व गुम्छ।

सीमाञ्चलमा स्थानविशेषको अर्कै भिन्न खाले सम्बन्ध पनि हुन्छ, जुन सीमाभन्दा टाढाका बासिन्दाको अनुभूतिमा अटाउन पाएको हुँदैन। जस्तो, वीरगञ्जबाट रक्सौल गइरहँदा कोही भारत गइराखेको हुँदैन। त्यो व्यक्तिगत कामविशेषले एउटा शहरबाट अर्को शहर गएको यात्रा हुन्छ। तर, नेपाली टोली सहभागी प्रतियोगिता हेर्न पारि जाँदा धुमधामसँग भारत गइन्छ, राष्ट्रिय झ्न्डा फहराउँदै। यो सब आफैं भइराखेको हुन्छ, निरन्तर। मधेशमा विद्यमान यस प्रकारको मनोविज्ञानबाटै नेपालको दक्षिणी साँध सुरक्षित छ र सुरक्षित छ– नेपाली शान पनि।

Read 551 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012