You are here: Homeसमाजसमाजरंगेलीपछिको मधेस राजनीति

रंगेलीपछिको मधेस राजनीति

Written by  Published in समाज Thursday, 28 January 2016 10:44
Rate this item
(0 votes)

जनवरी १९४८ का दिन विश्व नेता महात्मा गान्धी मारिएका थिए । त्यसपछि यी प्रश्नमाथि निकै बहस हुँदै आएको छ, गान्धी मरिसके कि जिउँदै छन् ? गान्धीलाई त्यस दिन मारियो कि प्रत्येक दिन मारिंँदैछ ? महात्मा गान्धी राजनीतिमा अहिंसाको प्रयोगका प्रखर प्रवक्ता थिए । उनी साधन र साध्य दुइटैको शुद्धताको पक्षधर थिए । आज पनि समकालीन सवालको हल खोज्न वा बदलावका लागि सार्थक हस्तक्षेप गर्न माध्यमका बारे विमर्श चल्छ, त्यतिखेर गान्धीले आत्मसात् गरेको शान्तिपूर्ण प्रतिरोधको चर्चा हुन्छ । जहाँ पनि शान्तिपूर्ण प्रतिरोधप्रति प्रतिबद्धता प्रकट हुन्छ, त्यहाँ गान्धी जीवित भएको मानिन्छ । जहाँ शान्तिपूर्ण राजनीतिलाई आत्मसात् गरेको बताउने पक्षधर खुट्टा डगमगाउन थाल्छन्, हिंसातर्फ लम्किने सम्मोहन प्रकट गर्छन्, त्यहाँ प्रत्येक पल गान्धीलाई मार्ने काम भइराखेको हुन्छ ।

शरीरको तागत वा हतियारको तागतबाट अन्य व्यक्ति वा संरचनाको क्षति पुर्‍याइन्छ, त्यो हिंसा हो । यो क्षति सानोतिनो चोटपटक वा तोडफोडदेखि हत्या वा सम्पूर्ण ध्वंस पनि हुनसक्छ । हिंसा एक मानसिक अवस्था हो र यो एउटा परिस्थिति पनि । हिंसात्मक माध्यमलाई सामाजिक–राजनीतिक रूपमा स्वीकार गर्नेहरूले हिंसालाई विकल्परहित बनाउँछन् । तात्कालिक रूपमा आवेशयुक्त तर्क प्रस्तुत गर्छन् । हिंसालाई जायज बताउँदै यसबाट नै न्याय पाउने दाबी गर्छन् । हिंसाको मनोविज्ञान निर्माण र त्यसको सामाजिकीकरणका लागि राज्यद्वारा गरिने दमनलाई प्रमुख आधारको रूपमा लिइने गरिन्छ । सरकारी हिंसाको प्रतिक्रियामा जन्मिएको राजनीतिक हिंसालाई कतिपयले क्रान्तिकारी हिंसा पनि भन्ने गर्छन् ।

रंगेली मोरङको एक शताब्दी पूर्वको सदरमुकाम हो । पछिल्लो साता त्यहाँ सुरक्षा संयन्त्रद्वारा अतिरिक्त बल प्रयोग भएर तीनजना सर्वसाधारण मारिएका छन् । त्यहाँ भएको बल प्रयोगप्रति नेपालभित्र र बाहिरबाट बाँच्न पाउने नागरिकको अधिकार र शान्तिपूर्ण असहमति प्रदर्शनको अवसरलाई सम्मान गर्न सरकारमाथि दबाब आइराखेको छ । रंगेलीमा जे भयो, त्यसका जिम्मेवार कुन राजनीतिक पक्ष छन्, त्यसबारे बहुआयामिक तर्क—वितर्क हुनसक्छ । तर जसरी त्यहाँ सुरक्षा निकायबाट फेरि बल प्रयोग भयो, त्यसले अतिरिक्त बल प्रयोगको निरन्तरता नै देखाउँछ ।

रंगेलीपछिको राजनीति समानान्तर रूपमा अघि बढ्न सक्दैन । एकथरीले अब पनि शान्तिपूर्ण माध्यमप्रतिको प्रयोग गरिराख्नुको औचित्य छैन भन्छन् । तिनीहरूले पाँच महिनाको लामो आन्दोलन र त्यसप्रति सरकारको उपेक्षाभाव र दमनको चरित्रले त्यही पुरानो गोरेटोबाट हिँंड्दा कहीं पनि पुग्न नसकिने तर्क राख्छन् । उनीहरूले बन्दुकबाट नै राज्यको नीति र राज्यहिंसाको जवाफ दिन सकिन्छ भन्ने व्याख्या गर्छन् । यसरी मत राख्नेहरूमा पहिलो एक दशक पहिलादेखि सशस्त्र सङ्घर्षमा लाग्नेहरू छन्, तिनीहरूले फेरि जुर्मुराउने जनाउ दिएका छन् । दोस्रो, मधेसी राजनीतिमा लागिपरेका केही वामपन्थी छन्, जो अहिले पनि माओत्सेतुङको बयान ‘सत्ता बन्दुकको नालबाट निस्किन्छ’ भन्ने सम्झना गर्दै राज्यहिंसाको विरुद्धमा त्यही बाटो विकल्प रहेको वकालत गर्न थालेका छन् । तेस्रो, शान्तिपूर्ण तरिकाले मधेसी राजनीतिमा लागिपरेका र मध्यमार्गी पहिचानवादी छन्, जो शान्तिपूर्ण तरिकाले सरकारले सुनेन, त्यसैले अब बन्दुक उठाउनुपर्छ/उठ्न सक्छ/उठिरहेको छ भन्ने धारणा राख्न थालेका छन् । कतिपयले राज्यद्वारा गरिएको हिंसालाई प्रश्नको रूपमा ठान्छन् । जनता टुलुटुलु आफू मारिएको लामो समयसम्म हेरेर बस्न सक्दैनन् । ऊ यसको जवाफमा राज्यकै छनोटको बाटोलाई रोज्छ । त्यो उसको नैसर्गिक अधिकार हो । दमन विरुद्ध प्रतिरोधलाई अधिकार मानिएपछि त्यसको माध्यमप्रति चियोचर्चा हुनुहुँदैन भने यस्ताहरूको मान्यता रहेको पाइन्छ ।

मधेसकै सवाल लिएर जनताको तहबाट बन्दुक उठाउने सन्दर्भ नयाँ होइन । तराई हिंसाको चपेटामा परेर राज्य र गैरराज्य पक्षद्वारा पछिल्ला दशकमा करिब चार सय मानिस मारिसकेका छन् । सरकारद्वारा विकासको सञ्जाल फिजाउनेभन्दा पनि सुरक्षा सञ्जाल फिजाउने केन्द्रका रूपमा तराई देखापरेको छ । हिंसा बढ्दै जाँदा सामाजिक अनुशासन भंग हुँदै गयो र कतिपय सन्दर्भमा राजकीय प्रबन्धलाई जनस्तरमा अपरिहार्य ठानियो ।

खासगरी तराईमा सशस्त्र सङ्घर्षका लागि भौगोलिक अनुकूलता छैन, नत भूराजनीतिले नै यसलाई अनुमति दिन्छ । हिंसाद्वारा ध्येय प्राप्ति गर्ने सपनाको प्रयोगले यहींकै जनतालाई झन् बढी कमजोर र पीडित बनाएको छ । प्राय: सशस्त्र समूहका रूपमा चिनाउनेहरूको असंगठित र अराजक गतिविधिले राज्यहिंसालाई अन्तर्राष्ट्रिय रूपमा पनि बचाउको अवसर भयो, विगतमा । यी भनिराख्दा अहिले पाँच महिनाभन्दा बढीको लामो शान्तिपूर्ण सङ्घर्ष र सरकारी दमनका बाबजुद भन्नैपर्छ, मधेसी मानस आफूलाई भयमुक्त ठानेका छन्, न ऊ हारेका छन्, नत ऊ थाकेका छन् । यो सामाजिक मनोविज्ञानको झलक पटक–पटक व्यक्त भइरहेको छ ।

चौबाटोमा मध्यमार्ग

मधेसका मध्यमार्गी राजनीति गर्नेहरू अलमलमा छन् । नाका धर्नाको नाममा त्यो केवल वीरगन्जमै सीमित हुनपुगेको छ । नाकामा धर्ना त जारी छ, तर नाकाबन्दी हुनसकेको छैन । नाकाबन्दीलाई बिसाउने कि के गर्ने ? आन्दोलनलाई तार्किक निकासमा कसरी पुर्‍याउने ? साँघुरिँदो मध्यमार्गलाई कसरी जोगाउने ? भुइँ सतहदेखि माथिसम्म यही सवालमाथि गन्थन छ । यसमा दुई खाले अभिमत पाइएको छ । एउटा सोच छ, नाकाधर्ना खुला गर्ने र आन्दोलनका अन्य शान्तिपूर्ण रूप प्रयोग गर्ने । यस्ता मान्यता राख्नेहरू भन्छन्, एउटा निर्वाचित सरकार विरुद्धको आन्दोलन स्वभावत: लामो हुन्छ । असहयोग आन्दोलनको सीमा हुन्छ, जब मानवीय संकट बढ्न थाल्छ, त्यतिखेर आन्दोलनकारी पक्ष सरकारभन्दा बढी जिम्मेवार देखिनुपर्छ । आन्दोलन फिर्ता लिनुको अर्थ मुद्दाको पराजय होइन ।

दोस्रो सोच छ, आन्दोलन शक्तिमाझ महागठबन्धन निर्माण गरी राज्यमाथि घनिभूत दबाब दिने । महागठबन्धन निर्माणका सवालमा दुइटा धारणा छ, एउटाले राष्ट्रिय तवरमा संविधानसँंग असन्तुष्ट रहेका सङ्घीयता पक्षधरको मोर्चा बनाउने र दोस्रो मधेस आन्दोलनलाई तार्किक निकास दिन मधेस केन्द्रित सङ्घर्षरत पक्षलाई साझा कार्यक्रमको छातामुनि ल्याउने । यी दुई धारणा बीचको भुमरीमा महागठबन्धनको भविष्य अडकिएको छ । तर महत्त्वपूर्ण पक्ष के हो भने मध्यमार्गी धारले आफू उभिराखेको धरातलप्रति विश्वास गुमाउनु भएन ।

गान्धीको बाटो

महात्मा गान्धी जहिले पनि साध्य र साधन दुइटैलाई त्यतिकै प्राथमिकता दिन्थे । सत्याग्रहमा सहभागी व्यक्ति स्वयंको भूमिकालाई पनि उनी त्यतिकै महत्त्व दिन्थे । उनका विचारमा शान्तिपूर्ण सामूहिक सङ्घर्षको प्रक्रिया नै अत्यधिक कारगर हुनसक्छ । महात्मा गान्धीको दृष्टि मधेसको सन्दर्भमा पनि त्यतिकै मनन हुन आउँछ । लम्बिंँदै गएको आन्दोलनलाई ऊर्जा दिन यसका माझीहरूले रचनात्मक कार्यलाई अगाडि सार्न सक्छन् । सामुदायिक जागरणलाई समेत यस आन्दोलनसंँग जोडेर समाजभित्रको आन्तरिक बदलावलाई अहिंसक हस्तक्षेप गर्ने दृष्टिकोण राख्नुपर्छ । अहिलेका अगुवाहरूबाट क्रान्तिकारी अहिंसाको मार्गचित्रप्रतिको बढी अपेक्षा गर्नु पनि हुन्न । तर भन्नैपर्छ, हिंसा अनिवार्य र अभिष्ट हुनसक्दैन । हिंसाप्रतिको बढ्दो सम्मोहनलाई निरर्थक तुल्याउने प्रयत्नमा आन्दोलनकारी पक्षले विचार दिनसक्यो भने त्यो महात्मा गान्धीप्रतिको सार्थक श्रद्धाञ्जली हुनेछ । मधेसमा मध्यमार्गको भविष्य सुरक्षित पार्नु सरकारभन्दा पनि आन्दोलनकारी जमातको बढी दायित्व हो । राज्य विरुद्ध हिंसामोहले सबभन्दा पहिले लोकतन्त्र र निर्बल लोकस्वरलाई नै समाप्त पार्छ भन्ने कुरा सायद कसैलाई स्मरण गराउनु पर्दैन होला । प्रसिद्ध भारतीय नेता जयप्रकाश नारायणले भनेका थिए, ‘सत्ता बन्दुकको नालबाट निस्किन्छ भने त्यो तिनैसँंग गाँसिन पुग्छ, जोसंँग बन्दुक हुन्छ ।’

कान्तिपुरवाट

Read 469 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012