You are here: Homeसमाजसमाजमधेस आन्दोलन संकटमा पर्ने खतरा - श्रीलाल साह

मधेस आन्दोलन संकटमा पर्ने खतरा - श्रीलाल साह

Written by  Published in समाज Sunday, 22 November 2015 10:56
Rate this item
(0 votes)

प्रश्न मधेसी गौरवको हो, स्वाभिमानको हो । प्रश्न मधेसको सम्मान र बलिदानको हो । यहाँ त मधेसलाई झनै कुण्ठित बनाइँदै छ । मधेस आन्दोलन ०६३ र ६४ को पहिलो सर्त थियो– एक मधेस एक प्रदेश । त्यसबखत आन्दोलनकारी र राज्यसत्तासँग भएको सम्झौता पनि त्यही नै हो । त्यसैको आधारमा अन्तरिम संविधान संशोधन भएको थियो । अहिले मधेसवादीले ‘एक मधेस दुई प्रदेश’मा आन्दोलन गर्दै छन् । यही विषयमा अहिले मधेसभित्र व्यापक छलफल भइरहेको छ । वर्तमान आन्दोलन शंकाको घेरामा परेका कारण पनि यही नै हो । नेपाली राज्यसत्ताले स्वीकार गरिसकेको र अन्तरिम संविधानमा समेत उल्लेख भइसकेको ‘एक मधेस एक प्रदेश’को मुद्दालाई मधेसवादी दलले किन ‘दुई प्रदेश’मा बदले रु मधेसी जनता प्रश्न गर्दै छन् । त्यसताका स्वस्फूर्त रुपमा उठेको मधेस आन्दोलनले अन्तरिम संविधानमा ‘एक मधेस एक प्रदेश’ लेख्न बाध्य पारेको थियो । त्यसका लागि मधेसले ठूलो मूल्य चुकाउनुपरेको थियो । विगतका दुईवटै मधेस आन्दोलनमा ५३ जना मधेसी सपुत सहिद भए । रगतको आहाल बग्यो । हजारौं घाइते भए । तर, मधेससँग जोडिएको छिमेकी राष्ट्र भारत न तत्कालीन मधेस आन्दोलनको समर्थनमा बोल्यो, न नेपाली राज्यसत्ताविरुद्ध बोल्यो, न त नाकाबन्दी भयो । मधेसीले आफ्नो बाहुबलमै मधेस आन्दोलन सफल बनाए । नेपाली राज्यसत्तालाई झुकाए र आफ्नो हक–अधिकार कायम गरे । यसरी मधेसीले कायम गरेको हक–अधिकार मधेसवादी दलहरूको सत्ता लोलुपताका कारण ओझेलमा परेको छ । तथापि ‘एक मधेस दुई प्रदेश’को मुद्दाले मधेसलाई पुनः झकझकाएको छ र थुप्रै अनुत्तरित प्रश्न उब्जिएका छन् । सहादत भएका सहिदले साँचेको सपना तरंगित भएको छ । उनीहरूले सोध्दै छन्– सन्तान गुमाएका आमा बाहरू, सिन्दुर पुछेका विधवाहरू, टुहुरा बनेका छोराछोरीहरू, भ्रातृत्व स्नेह गुमाएकी दिदीबहिनी लगायत परिवारजनको आँसु अहिले पनि किन थामिँदैन रु खाटा परेका घाउहरू किन अहिले पनि चर्चराइरहेको छ रु अपांग भएका घाइते किन अहिले पनि गहभरि आँसु पार्छन् ? जेहोस् उक्त मधेस आन्दोलनप्रति मधेसीलाई गर्व छ, बलिदानको कदर छ र आत्मसम्मान पनि । त्यस आन्दोलनको नाम लिनेबित्तिकै अहिले पनि मधेसी जनताको रगत तात्छ र मधेसका लागि लडौं कि मरौं भन्ने भावना जागृत हुन्छ । तर, वर्तमान आन्दोलनप्रति रुचि घट्दो छ र असहयोग बढ्दो । यसको खास कारण हो— मधेस आन्दोलनको नाममा गरिएको अघोषित नाकाबन्दी र दुई प्रदेशमा गरेको सम्झौता । सम्भवतः मधेसवादी दलहरूद्वारा सञ्चालित वर्तमान आन्दोलनको टुंगो लाग्नेबित्तिकै स्वस्पूmर्त रुपमा पुनः अर्को मधेस आन्दोलन हुन सक्छ । जस्ले सिंगो मधेसलाई तताउनेछ । मधेसीको रगत, आँसु र बलिदानसँग मधेसवादी दलहरूले साट्न खोजेको ‘दुई प्रदेश’मा के छ त ? खुलासा हुन सकेको छैन । एउटा मधेस दुई प्रदेशमा विभाजित हुँदा कसरी मधेसीको हकहित कायम हुन्छ ? मधेसवादी दलहरूले कुनै खाका कोरेका छन् कि छैनन् । छन् भने ती स्पष्ट खाका किन सार्वजनिक गरेनन् । विगत एक दशकको अवधिमा मधेसमा धेरै पानी बगिसकेको छ । मधेसी नेताहरूको अनुहार फेरिएको छ । लखपति, करोडपति र अर्बपति पनि बन्नेहरू छन् । उता मधेसी जनतालाई हातमुख जोड्न धौ–धौ छ । मधेसको माटोमा रम्नेलाई कठिन परिश्रम गर्दा पनि जीवन धान्न मुस्किल छ । मधेसमा गरिबी, बेरोजगारी, अशिक्षा, विकृति र विसंगति आदि समस्याले राज गरिरहेका छन् । तर, मधेसको नाममा राजनीति गर्नेहरू रातारात अमिर बन्दै छन् र राजनीतिक पार्टीरूपी पसलहरू थपिँदै छन् । बरु धेरै कमाउने र थोरै कमाउनेको कमाउ मोर्चाहरू पनि खुलेका छन् । लाग्छ, मधेस दुईवटा बनेको छ— एउटा गरिबीले लतपतिएको समस्यै समस्याग्रस्त मधेस र अर्को राजनीतिक रंगमा रंगिएको रंगीन धनधान्य मधेस । जहाँ पाइला टेक्नेबित्तिकै लक्ष्मीले बास गर्छ । एउटा मधेसीले दिनरात नभनी मजदुरी गर्छ, दिन कहिल्यै फेरिन सकेको छैन । अर्को मधेसी तिनै गरिब, सर्वहारा मधेसी जनताको नाममा राजनीति गर्छ र झन्झन धनी बन्छ । मधेसको यही सेरोफेरोमा मधेस आन्दोलन अड्किएको छ । त्यसो त जतिबेला प्रमुख तीन घटक कांग्रेस, एमाले र एमाओवादी पार्टीले ‘एक मधेस एक प्रदेश’ नदिने भन्नेबित्तिकै मधेसवादी दलहरूले दबाबका लागि मधेस आन्दोलनको आह्वान गर्नुपथ्र्यो । त्यतिबेला उनीहरू सत्ता स्वादमा रुमलिएका थिए र आफैँ दुई प्रदेशमा सम्झौता गरे । तर, सत्ता लोलुपता भने छोड्ेनन् । अहिले दुई प्रदेश पनि नदिने र सत्ता साझेदारी पनि नभएपछि मधेसवादी दलहरू आन्दोलन गर्न पुगेका हुन् । आन्दोलनमा अघोषित नाकाबन्दीको सहारा लिएका छन् । यसअघि लोकतान्त्रिक मुलुकका सरकारहरूमा मधेसवादी दलहरू लगातार सहभागी रहे । तर, उनीहरूले कहिल्यै मधेसका मुद्दाहरू तथा अन्तरिम संविधानमा उल्लिखित बुँदाहरू उठाएनन् र अहिले ‘एक मधेस दुई प्रदेश’का लागि आन्दोलन गरिरहेका छन् । यो नै सिंगो मधेसका लागि ठूलो धोका हो र विगतका मधेस आन्दोलनहरू ०६३ र ०६४ मा मधेसीले गरेका बलिदानको अवमूल्यन हो । त्यसैले अहिले मधेसीहरू कुर्लिएका छन् । मधेसीको रगत, आँसु र बलिदानसँग मधेसवादी दलहरूले साट्न खोजेको ‘दुई प्रदेश’मा के छ त ? खुलासा हुन सकेको छैन । एउटा मधेस दुई प्रदेशमा विभाजित हुँदा कसरी मधेसीको हकहित कायम हुन्छ ? मधेसवादी दलहरूले कुनै खाका कोरेका छन् कि छैनन् । छन् भने ती स्पष्ट खाका किन सार्वजनिक गरेनन् । जसका लागि सिंगो मधेस आन्दोलित हुन सक्थ्यो । तर यहाँ त हचुवाको भरमा आन्दोलन गरेर सिंगो मधेसलाई रनभुल्लमा पारिएको छ । संविधानले नै प्रदत्त गरेको मुलुकका अन्य प्रदेशझैँ मधेस प्रदेश पनि मधेसवादी दलहरूको मात्र खाँचो होइन, सम्पूर्ण मधेसीको चासोको विषय हो । मानौं, मधेसवादी दलहरूले भनेझैं दुई प्रदेश भए पनि जादुको छडीझैं रातारात मधेसीको अवस्थामा कायापलट हुँदैन । गरिबी, दरिद्रता, बेरोजगारी झनै बढ्छ । अहिले नेपाली राज्यसत्तासँग रहेको द्वन्द्व मधेसको आपसी द्वन्द्वमा परिणत हुन्छ । मधेसका दुवै प्रदेशबीच सीमा रेखाका लागि द्वन्द्व हुन सक्छ र कालान्तरसम्म भइरहन्छ । यो मधेसी–मधेसीबीच फुट गराउने षड्यन्त्र हो । जुन कहिल्यै नजुट्न सक्छ र त्यसको फाइदा बाह्य शक्तिले लिन्छ । प्रदेशभित्रै पनि राजधानी लगायत थुप्रै विषयमा किचलो भई प्रदेशको अस्तित्व नै संकटमा पर्न सक्छ । अहिले मधेसमा गरिबी, बेरोजगारी, अशिक्षा लगायत समस्या कहालीलाग्दो छ । वर्तमान अवस्थामा विकराल समस्याले ग्रस्त मधेसका सानासाना प्रदेशमा बाह्य शक्तिले खेल्न सक्छ । त्यतिबेला मधेस मात्रै होइन, नेपाली भूमि नै पनि संकटमा पर्न सक्छ । अहिले विगतका दुवै आन्दोलनको उपलब्धि गुमेको छ । मधेस आन्दोलनका नाममा भइरहेको नाकाबन्दीले मधेस आन्दोलनलाई कमजोर बनाएको छ र सम्पूर्ण मधेसीलाई भारतीय कित्तामा लगेर उभ्याइदिएको छ । त्यसै पनि मधेसीलाई भारतीय भनेर मुलुकमा हेपाहा प्रवृत्ति जारी छ । त्यसमा पनि आफ्नै बलबुतामा आन्दोलन गरेर हक–अधिकार सुरक्षित राख्न सक्ने मधेसीलाई अहिले भारतीयको आडमा आन्दोलन गरेर सिंगो राष्ट्रप्रति संवेदना समेत नराखेको आरोप थोपरिएको छ । अर्कोतर्फ निकै लामो आन्दोलन एवं नाकाबन्दीका कारण स्वयं मधेसी नै पनि हायलकायल भइसकेका छन्, उकुसमुकुसको अवस्थामा छन् । यही मौका छोपेर केही राजनीतिक पार्टीका कार्यकर्ताले आन्दोलनलाई ‘भारतीय नाकाबन्दी’ भनेर मधेसीलाई उक्साइरहेका छन् । त्यसैले भइरहेको आन्दोलनको विरोध मधेसबाटै पनि हुन बेर छैन । त्यसबाहेक लामो नाकाबन्दीका बाबजुद पनि जनजीवन सहज बनाउने प्रयत्न हुँदै छ । उनीहरू अभावमै बाँच्ने तर नाकाबन्दीको अगाडि नझुक्ने अडानमा छन् । र, यो मुद्दा नेपाल–भारतबीचकै सम्बन्धमा दरार ल्याउने ढंगले फैलिँदै छ । साथै, भारतीय आपूर्तिका विकल्पहरू पनि खोजिँदै छन् । जस्तो, जन्मिँदै ग्यास बाल्न सिकेकाहरू दाउरा बाल्न थालेका छन् । पहिलोपटक चीनबाट इन्धन आयातका लागि अभ्यास गरिँदै छ । उता नाकामै व्यापार गरेर जीवन धानिरहेका नेपाल–भारत दुवैतर्फका बासिन्दा अहिले अधैर्य भइरहेका छन् । भारतीय पक्षद्वारा नै भारतलाई नाका खोल्न दबाब पर्न थालेको छ । लामो नाकाबन्दीले भारतमै पनि आपराधिक गतिविधि बढ्न सक्छ । अर्बौंको कारोबार हुने नाका सुक्खाग्रस्त छ । त्यसैगरी नाकाबन्दीको विरोधमा भारतलाई अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ । यस्ता विविध कारणले वर्तमान मधेस आन्दोलन संकटमा पर्ने खतरा छ । समग्र वस्तुस्थिति नियाल्दा मधेस आन्दोलनलाई फलित र सुरक्षित अवतरण गराइहाल्नुपर्ने देखिन्छ । यद्यपि नेपाली राज्यसत्ता लगायत सम्पूर्ण पक्षले मधेस विद्रोहको परिणाम आँकलन गरिसकेका छन् र विगतलाई बिर्सेर मधेसप्रति सकारात्मक सोचको विकास हुन थालेको छ । अहिले उनीहरू दुई प्रदेश बाहेकको मागमा तयार देखिन्छन् र मधेस विकासका लागि विशेष कार्यक्रम पनि सञ्चालन गर्न चाहन्छन् । वास्तवमा मधेसी जनताको राज्यका संयन्त्रमा पहुँच छैन । उनीहरुलाई राज्य संयन्त्रको पहुँचमा ल्याउने पहिलो सर्त राज्यको नीति नै हो । त्यसपछि योग्य जनशक्ति उत्पादन । खासगरी उत्पादनका स्रोत–साधनमा तल्लो तहका जनताको पहुँच पुर्याउने कार्यक्रम ल्याएर राज्यले मधेसको सामाजिक, राजनीतिक, आर्थिक, शैक्षिक आदि सबै पक्षको विकासमा जोड दिनुपर्छ, जुन हिजो हुन सकेन । मधेसी जनता मात्रै पिछडिए भन्ने त होइन, पिछडिएको पहाड पनि छ । राज्य बन्ने संयन्त्रले हो । त्यो संयन्त्र भनेको प्रशासन नै हो । तर, सदियौँदेखि शासन–प्रशासनमा मधेसले खुट्टा राख्न पाएन । यसो हुनुमा त्यस्तै व्यवस्था थियो । अब अवस्था र व्यवस्था फेरिनैपर्छ । 

Read 493 times

Leave a comment

 

 

« April 2017 »
Mon Tue Wed Thu Fri Sat Sun
          1 2
3 4 5 6 7 8 9
10 11 12 13 14 15 16
17 18 19 20 21 22 23
24 25 26 27 28 29 30

                                                                                                                         yatradaily Pvt.Ltd        www.yatradaily.com,

                                                                                                      Birgunj, Ranighat 14  , This email address is being protected from spambots. You need JavaScript enabled to view it.   ,  This email address is being protected from spambots. You need JavaScript enabled to view it.

This website has been visited hit counter times from October 19, 2012